हरेकले यो सुन, सारा जगत्मा मानिसहरूले कान थाप! ठूला-साना, धनी-गरीब र सबैले एकसाथ यो कुरा सुन। मेरा विचारहरू स्पष्ट हुनेछन्, म बुद्धिका कुरा भन्नेछु। म उखानतिर मेरो ध्यान लगाउनेछु र वीणा बजाएर म त्यसका अर्थ खोल्नेछु। शत्रुहरूले मलाई घेर्दा, खतराका समयमा पनि म डराउनेछैनँ, आफ्ना ठूले धनको अहङ्कार गर्ने र आफ्नो सम्पत्तिमाथि भरोसा गर्ने दुष्ट मानिसहरू देखि। मानिसले कहिल्यै आफ्नै उद्धार गर्न सक्दैन, उसले परमेश्वरलाई आफ्नो प्राणको मूल्य तिर्न सक्दैन। किनकि मानिसको प्राण बहुमूल्य छ, उसले जति तिर्न सक्छ, त्यो पुग्दो हुँदैन। त्यसले चिहानदेखि उसलाई बचाउँदैन र सधैँभरि जिउँदो राख्न सक्दैन। सबैले देख्न सक्छन् कि जसरी मूर्ख र निर्बुद्धि मानिसहरू मर्छन्, त्यसरी नै बुद्धिमान् मानिसहरू पनि मर्छन्, तिनीहरू सबैले आफ्ना धन-सम्पत्ति छोरा-नातिलाई छोडिराख्छन्। कुनै समयमा तिनीहरूको आफ्नै जग्गा-जमिन भए पनि आफ्ना चिहान मात्र तिनीहरूका सदाकालका घर हुन् र त्यहीँ तिनीहरू सधैँभरि बास गर्छन्। मानिसको महान्ताले उसलाई मृत्युबाट बचाउन सक्दैन, पशुजस्तै ऊ मर्नु नै पर्छ। आफैंमाथि भरोसा राख्नेहरूलाई के हुन्छ, हेर। आफ्ना धन-सम्पत्ति अघाएर बस्नेहरूको के गति हुन्छ, हेर। तिनीहरू भेडाझैँ मरेर जानेछन् र मृत्युले तिनीहरूलाई खानेछ। धर्मीहरूले तिनीहरूमाथि विजय गर्नेछन्, तिनीहरूका शरीरचाहिँ मृत्युलोकमा आफ्ना घरदेखि टाढामा चाँडै सडेर जानेछ। तर परमेश्वरले मेरो उद्धार गर्नुहुनेछ। उहाँले मलाई मृत्युको शक्तिदेखि बचाउनुहुनेछ। कुनै मानिस धनी हुँदा, उसको धन धेरै बढेर जाँदा व्याकुल नहोओ, ऊ मर्दा त्यो धन आफूसित लिएर जान सक्दैन, त्यो धन उसले चिहानमा लैजानेछैन। मानिस आफ्नो जीवनसँग सन्तुष्ट छ भने पनि र सफल भएर उसले मानिसको प्रशंसा पाएको भए पनि मृत्युमा ऊ आफ्ना पुर्खाहरूसँग मिल्न जानेछ र त्यहाँ सदासर्वदा अन्धकार रहनेछ। मानिसको महान्ताले उसलाई मृत्युबाट बचाउन सक्दैन, पशुजस्तै ऊ मर्नु नैपर्नेछ।
भजनसंग्रह 49 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 49:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू