YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 49:1-20

भजनसंग्रह 49:1-20 NNRV

हे सबै मानिसहरू हो, सुन, संसारका सबै निवासीहरू हो, सुन, उच्‍च र नीच, धनी र गरीब सबै ध्‍यान देओ: मेरो मुखले बुद्धिका कुरा बोल्‍नेछ, मेरो मनले बोलेका कुराले समझदारी प्रदान गर्नेछ। म एउटा हितोपदेशमा ध्‍यान दिनेछु, वीणा बजाएर म आफ्‍नो अड्‌को फुकाउनेछु। दु:खका दिन आउँदा, अनि खेदो गर्नेहरूको दुष्‍टताले मलाई घेर्दा म किन डराउने? तिनीहरू आफ्‍नो सम्‍पत्तिमाथि भरोसा राख्‍छन्‌, र आफ्‍नो ठूलो धनराशिको अहङ्कार गर्छन्‌, कुनै मानिसले मोल तिरेर अर्कालाई कदापि छुटाउन सक्‍दैन, वा परमेश्‍वरलाई उसको जीवनको मोल त्‍यसले दिन सक्‍दैन। जीवनको मोल बहुमूल्‍य हुन्‍छ, कुनै भुक्तानी कहिल्‍यै यथेष्‍ट हुँदैन। यस्‍तो कोही छैन जो सधैँ बाँचिरहन्‍छ, र कहिल्‍यै कुहुनुपर्दैन। किनकि सबैले देख्‍न सक्‍छन्‌ कि बुद्धिमान्‌ मानिस पनि मर्दारहेछन्‌, मूर्ख र विवेकहीन मानिसहरू पनि नष्‍ट हुन्‍छन्‌, र तिनीहरूले आफ्‍ना धन-सम्‍पत्ति अरूहरूका लागि छोड्‌छन्‌। तिनीहरूका चिहान सदाकाल तिनीहरूका घर हुन्‍छन्‌, पुस्‍तौँसम्‍म ती तिनीहरूका वासस्‍थान हुनेछन्‌, यद्यपि तिनीहरूले आफ्‍नै नाउँमा जमिनको नाउँ राखेका थिए। तर मानिस आफूसँग धन-सम्‍पत्ति भए पनि टिकिरहन सक्‍दैन, त्‍यो त नष्‍ट हुने पशुतुल्‍य छ। आफूमाथि भर पर्नेहरूको गति यस्‍तै हुन्‍छ, र तिनीहरूका कुरालाई समर्थन गरेर तिनीहरूका पछि लाग्‍नेहरूको गति पनि यस्‍तै हुन्‍छ। सेला तिनीहरूको अन्‍त्‍य भेड़ाको जस्‍तै चिहानमा हुन्‍छ, मृत्‍युले तिनीहरूलाई निल्‍नेछ। बिहानै सोझाहरूले तिनीहरूमाथि शासन गर्नेछन्‌, तिनीहरूका राजकीय महलदेखि टाढ़ामा तिनीहरूका देह चिहानमा कुहेर जानेछन्‌। तर परमेश्‍वरले मोल तिरेर मेरो प्राणलाई चिहानबाट छुटाउनुहुनेछ, उहाँले मलाई निश्‍चय नै ग्रहण गर्नुहुनेछ। सेला कोही धनी भयो र त्‍यसको घरको गौरव बढ़्यो भने तिमीहरू नडराओ। किनकि त्‍यो मर्दा त्‍यसले आफूसँग केही पनि लैजानेछैन, त्‍यसको गौरव त्‍यसको पछिपछि जानेछैन। त्‍यो बाँचुञ्‍जेल आफूलाई त्‍यसले धन्‍यको ठान्‍यो— कारण मानिसहरूले कोही मानिसको उन्‍नति हुँदा त्‍यसको प्रशंसा गर्छन्‌— तापनि त्‍यो आफ्‍नो पिता-पुर्खाको पुस्‍तामा मिल्‍न जानेछ, जसले फेरि कहिल्‍यै जीवनको ज्‍योति देख्‍नेछैनन्‌। समझशक्ति नभएको धनी मानिस नष्‍ट हुने पशुतुल्‍य हो।