भजनसंग्रह 49:1-20
भजनसंग्रह 49:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे सबै मानिसहरू हो, सुन, संसारका सबै निवासीहरू हो, सुन, उच्च र नीच, धनी र गरीब सबै ध्यान देओ: मेरो मुखले बुद्धिका कुरा बोल्नेछ, मेरो मनले बोलेका कुराले समझदारी प्रदान गर्नेछ। म एउटा हितोपदेशमा ध्यान दिनेछु, वीणा बजाएर म आफ्नो अड्को फुकाउनेछु। दु:खका दिन आउँदा, अनि खेदो गर्नेहरूको दुष्टताले मलाई घेर्दा म किन डराउने? तिनीहरू आफ्नो सम्पत्तिमाथि भरोसा राख्छन्, र आफ्नो ठूलो धनराशिको अहङ्कार गर्छन्, कुनै मानिसले मोल तिरेर अर्कालाई कदापि छुटाउन सक्दैन, वा परमेश्वरलाई उसको जीवनको मोल त्यसले दिन सक्दैन। जीवनको मोल बहुमूल्य हुन्छ, कुनै भुक्तानी कहिल्यै यथेष्ट हुँदैन। यस्तो कोही छैन जो सधैँ बाँचिरहन्छ, र कहिल्यै कुहुनुपर्दैन। किनकि सबैले देख्न सक्छन् कि बुद्धिमान् मानिस पनि मर्दारहेछन्, मूर्ख र विवेकहीन मानिसहरू पनि नष्ट हुन्छन्, र तिनीहरूले आफ्ना धन-सम्पत्ति अरूहरूका लागि छोड्छन्। तिनीहरूका चिहान सदाकाल तिनीहरूका घर हुन्छन्, पुस्तौँसम्म ती तिनीहरूका वासस्थान हुनेछन्, यद्यपि तिनीहरूले आफ्नै नाउँमा जमिनको नाउँ राखेका थिए। तर मानिस आफूसँग धन-सम्पत्ति भए पनि टिकिरहन सक्दैन, त्यो त नष्ट हुने पशुतुल्य छ। आफूमाथि भर पर्नेहरूको गति यस्तै हुन्छ, र तिनीहरूका कुरालाई समर्थन गरेर तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ। सेला तिनीहरूको अन्त्य भेड़ाको जस्तै चिहानमा हुन्छ, मृत्युले तिनीहरूलाई निल्नेछ। बिहानै सोझाहरूले तिनीहरूमाथि शासन गर्नेछन्, तिनीहरूका राजकीय महलदेखि टाढ़ामा तिनीहरूका देह चिहानमा कुहेर जानेछन्। तर परमेश्वरले मोल तिरेर मेरो प्राणलाई चिहानबाट छुटाउनुहुनेछ, उहाँले मलाई निश्चय नै ग्रहण गर्नुहुनेछ। सेला कोही धनी भयो र त्यसको घरको गौरव बढ़्यो भने तिमीहरू नडराओ। किनकि त्यो मर्दा त्यसले आफूसँग केही पनि लैजानेछैन, त्यसको गौरव त्यसको पछिपछि जानेछैन। त्यो बाँचुञ्जेल आफूलाई त्यसले धन्यको ठान्यो— कारण मानिसहरूले कोही मानिसको उन्नति हुँदा त्यसको प्रशंसा गर्छन्— तापनि त्यो आफ्नो पिता-पुर्खाको पुस्तामा मिल्न जानेछ, जसले फेरि कहिल्यै जीवनको ज्योति देख्नेछैनन्। समझशक्ति नभएको धनी मानिस नष्ट हुने पशुतुल्य हो।
भजनसंग्रह 49:1-20 पवित्र बाइबल (NERV)
तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन। पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन। प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ। म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु। मेरो विचारले तिमीहरूलाई बुझ्न सहायता गर्नेछ। मैले स्वयंले ती कथाहरू सुनें अनि अब मेरो वीणासँग गाउने छु अनि त्यो संदेश तपाईंलाई प्रकट गर्ने छु। कष्ट आउँछ भनेर म किन डराउनु? यदि दुष्ट-मानिसहरूले वरिपरि घेरेर मलाई पासोमा पार्ने कोशिश गर्छन् भने पनि म डराउने आवश्यकता छैन। कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ। तर ती मानिसहरू मूर्खहरू हुन्। कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन, अनि तिमीले परमेश्वरलाई घूस दिन सक्तैनौ। कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्। कुनै मानिसँग त्यस्तो प्रशस्त धन हुनेछैन जसद्वारा उसले अनन्त बाँच्ने अधिकार किन्न सकोस्, अनि आफ्नो जीवन चिहानमा सड्न देखि बचाउन सकोस्। हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरी मर्छन्। तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्। चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ। तिनीहरू जत्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन! मानिसहरू सम्पन्न हुन सक्लान, तर तिनीहरू यहाँ सधैँका लागि बाँच्न सक्तैनन्। तिनीहरू पशुहरू जस्तै मरेर जानेछन्। ती मूर्खहरूसँग त्यही घटना हुनेछ जो आफ्ना सम्पत्तिसँग खुशी हुन्छन्। ती मानिसहरू खाली भेंडा जस्तै हुन्। चिहान नै तिनीहरूको खोर हो। मृत्यु तिनीहरूको गोठाला हुनेछन। त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्। जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन। तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ, उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ! तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ। तिनीहरूका सुन्दर घरहरू छन् भनी नडराऊ। ती मानिसहरू मरेर गएपछि आफूसँग केही पनि लाँदैनन्। तिनीहरूले ती कुनै पनि सुन्दर चीजहरू लगेर जाने होइनन्। एकजना धनी मानिसले आफ्नो जीवनमा कति राम्रो काम गरें भनेर आफूलाई नै बधाइ दिन सक्छ। अनि हो, अरू मानिसहरूले पनि उसले राम्रो काम गर्यो भनेर उसको प्रशंसा गर्न सक्छन्। तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ, अनि उसले कहिल्यै पनि दिनको उज्यालो देख्ने छैन। मानिसहरू सम्पन्न हुन सक्लान अनि अझै बुझ्दैनन् तिनीहरू पशुहरू जस्तै मर्ने छन्।
भजनसंग्रह 49:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हरेकले यो सुन, सारा जगत्मा मानिसहरूले कान थाप! ठूला-साना, धनी-गरीब र सबैले एकसाथ यो कुरा सुन। मेरा विचारहरू स्पष्ट हुनेछन्, म बुद्धिका कुरा भन्नेछु। म उखानतिर मेरो ध्यान लगाउनेछु र वीणा बजाएर म त्यसका अर्थ खोल्नेछु। शत्रुहरूले मलाई घेर्दा, खतराका समयमा पनि म डराउनेछैनँ, आफ्ना ठूले धनको अहङ्कार गर्ने र आफ्नो सम्पत्तिमाथि भरोसा गर्ने दुष्ट मानिसहरू देखि। मानिसले कहिल्यै आफ्नै उद्धार गर्न सक्दैन, उसले परमेश्वरलाई आफ्नो प्राणको मूल्य तिर्न सक्दैन। किनकि मानिसको प्राण बहुमूल्य छ, उसले जति तिर्न सक्छ, त्यो पुग्दो हुँदैन। त्यसले चिहानदेखि उसलाई बचाउँदैन र सधैँभरि जिउँदो राख्न सक्दैन। सबैले देख्न सक्छन् कि जसरी मूर्ख र निर्बुद्धि मानिसहरू मर्छन्, त्यसरी नै बुद्धिमान् मानिसहरू पनि मर्छन्, तिनीहरू सबैले आफ्ना धन-सम्पत्ति छोरा-नातिलाई छोडिराख्छन्। कुनै समयमा तिनीहरूको आफ्नै जग्गा-जमिन भए पनि आफ्ना चिहान मात्र तिनीहरूका सदाकालका घर हुन् र त्यहीँ तिनीहरू सधैँभरि बास गर्छन्। मानिसको महान्ताले उसलाई मृत्युबाट बचाउन सक्दैन, पशुजस्तै ऊ मर्नु नै पर्छ। आफैंमाथि भरोसा राख्नेहरूलाई के हुन्छ, हेर। आफ्ना धन-सम्पत्ति अघाएर बस्नेहरूको के गति हुन्छ, हेर। तिनीहरू भेडाझैँ मरेर जानेछन् र मृत्युले तिनीहरूलाई खानेछ। धर्मीहरूले तिनीहरूमाथि विजय गर्नेछन्, तिनीहरूका शरीरचाहिँ मृत्युलोकमा आफ्ना घरदेखि टाढामा चाँडै सडेर जानेछ। तर परमेश्वरले मेरो उद्धार गर्नुहुनेछ। उहाँले मलाई मृत्युको शक्तिदेखि बचाउनुहुनेछ। कुनै मानिस धनी हुँदा, उसको धन धेरै बढेर जाँदा व्याकुल नहोओ, ऊ मर्दा त्यो धन आफूसित लिएर जान सक्दैन, त्यो धन उसले चिहानमा लैजानेछैन। मानिस आफ्नो जीवनसँग सन्तुष्ट छ भने पनि र सफल भएर उसले मानिसको प्रशंसा पाएको भए पनि मृत्युमा ऊ आफ्ना पुर्खाहरूसँग मिल्न जानेछ र त्यहाँ सदासर्वदा अन्धकार रहनेछ। मानिसको महान्ताले उसलाई मृत्युबाट बचाउन सक्दैन, पशुजस्तै ऊ मर्नु नैपर्नेछ।