भजनसंग्रह 49
49
धनमा भरोसा राख्ने मूर्खता
1हरेकले यो सुन,
सारा जगत्मा मानिसहरूले कान थाप!
2ठूला-साना, धनी-गरीब
र सबैले एकसाथ यो कुरा सुन।
3मेरा विचारहरू स्पष्ट हुनेछन्,
म बुद्धिका कुरा भन्नेछु।
4म उखानतिर मेरो ध्यान लगाउनेछु
र वीणा बजाएर म त्यसका अर्थ खोल्नेछु।
5शत्रुहरूले मलाई घेर्दा,
खतराका समयमा पनि म डराउनेछैनँ,
6आफ्ना ठूले धनको अहङ्कार गर्ने
र आफ्नो सम्पत्तिमाथि भरोसा गर्ने दुष्ट मानिसहरू देखि।
7मानिसले कहिल्यै आफ्नै उद्धार गर्न सक्दैन,
उसले परमेश्वरलाई आफ्नो प्राणको मूल्य तिर्न सक्दैन।
8किनकि मानिसको प्राण बहुमूल्य छ,
उसले जति तिर्न सक्छ, त्यो पुग्दो हुँदैन।
9त्यसले चिहानदेखि उसलाई बचाउँदैन
र सधैँभरि जिउँदो राख्न सक्दैन।
10सबैले देख्न सक्छन् कि जसरी मूर्ख र निर्बुद्धि मानिसहरू मर्छन्,
त्यसरी नै बुद्धिमान् मानिसहरू पनि मर्छन्,
तिनीहरू सबैले आफ्ना धन-सम्पत्ति छोरा-नातिलाई छोडिराख्छन्।
11कुनै समयमा तिनीहरूको आफ्नै जग्गा-जमिन भए पनि
आफ्ना चिहान मात्र तिनीहरूका सदाकालका घर हुन्
र त्यहीँ तिनीहरू सधैँभरि बास गर्छन्।
12मानिसको महान्ताले उसलाई मृत्युबाट बचाउन सक्दैन,
पशुजस्तै ऊ मर्नु नै पर्छ।
13आफैंमाथि भरोसा राख्नेहरूलाई के हुन्छ, हेर।
आफ्ना धन-सम्पत्ति अघाएर बस्नेहरूको के गति हुन्छ, हेर।
14तिनीहरू भेडाझैँ मरेर जानेछन्
र मृत्युले तिनीहरूलाई खानेछ।
धर्मीहरूले तिनीहरूमाथि विजय गर्नेछन्,
तिनीहरूका शरीरचाहिँ मृत्युलोकमा आफ्ना घरदेखि टाढामा चाँडै सडेर जानेछ।
15तर परमेश्वरले मेरो उद्धार गर्नुहुनेछ।
उहाँले मलाई मृत्युको शक्तिदेखि बचाउनुहुनेछ।
16कुनै मानिस धनी हुँदा, उसको धन
धेरै बढेर जाँदा व्याकुल नहोओ,
17ऊ मर्दा त्यो धन आफूसित लिएर जान सक्दैन,
त्यो धन उसले चिहानमा लैजानेछैन।
18मानिस आफ्नो जीवनसँग सन्तुष्ट छ भने पनि
र सफल भएर उसले मानिसको प्रशंसा पाएको भए पनि
19मृत्युमा ऊ आफ्ना पुर्खाहरूसँग मिल्न जानेछ
र त्यहाँ सदासर्वदा अन्धकार रहनेछ।
20मानिसको महान्ताले उसलाई मृत्युबाट बचाउन सक्दैन,
पशुजस्तै ऊ मर्नु नैपर्नेछ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 49: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.