YouVersion लोगो
खोज आइकन

गन्‍ती 7:12-89

गन्‍ती 7:12-89 सरल नेपाली

तिनीहरूले आफ्‍ना भेटीहरू यस प्रकारले चढाए: पहिलो यहूदा अम्‍मीनादाबको छोरो नहशोन दोस्रो इस्‍साखार सूआरको छोरो नतनेल तेस्रो जबूलून हेलोनको छोरो एलीआब चौथो रूबेन शदेऊरको छोरो एलीसूर पाँचौँ शिमियोन सूरीशद्दैको छोरो शलूमीएल छैटौँ गाद दूएलको छोरो एल्‍यासाप सातौँ एफ्राइम अम्‍मीहूदको छोरो एलीशामा आठौँ मनश्‍शे पदासूरको छोरो गमलिएल नवौँ बेन्‍यामीन गिदेओनीको छोरो अबीदान दशौँ दान अम्‍मीशद्दैको छोरो अहीएजेर एघारौँ आशेर ओक्रानको छोरो पगीएल बाह्रौँ नप्‍ताली एनानको छोरो अहीरा। हरेक मुखियाले ल्‍याएका भेटीहरू एकनासका र यस प्रकारका थिए– अन्‍नबलिको निम्‍ति तेलसित मुछेको पिठोले भरिएका दुईवटा चाँदीका पात्रहरू– एउटा अधिकारीहरूले तोकेको ओजनअनुसार डेढ किलोग्रामको बटुको र अर्को आठ सय किलोग्रामको भाँडो, धूपले भरिएको एउटा एक सय दश ग्रामका सुनको थाल, होमबलिको निम्‍ति एउटा साँढे, एउटा साँढ-भेडा र एउटा एकवर्षे थुमा, पापबलिको निम्‍ति एउटा बाख्रा र मेलबलिको निम्‍ति दुईवटा साँढे, पाँचवटा भेडा, पाँचवटा बाख्रा र पाँचवटा भेडाका एकवर्षे थुमाहरू। वेदी अर्पण गर्नलाई ती बाह्र जना मुखियाहरूले ल्‍याएका जम्‍मा भेटी यस प्रकारका थिए: बाह्रवटा चाँदीका बटुको र बाह्रवटा चाँदीका भाँडाहरू, जसको जम्‍मा ओजन सत्ताईस किलो अनि ६ सय ग्राम थियो, धूपले भरिएका बाह्रवटा सुनका धुपौरा, जसको पूरा ओजन एक किलो तीन सय बीस ग्राम थियो, होमबलिको निम्‍ति बाह्रवटा साँढे, बाह्रवटा भेडा र बाह्रवटा एकवर्षे भेडाका थुमाहरू र तीसित चढाइने अन्‍नबलिका सामान, पापबलिको निम्‍ति बाह्रवटा बाख्राहरू, मेलबलिको निम्‍ति चौबीसवटा साँढे, साठीवटा भेडा र साठीवटा बाख्राहरू र साठीवटा एकवर्षे भेडाका थुमाहरू। जब मोशा पवित्र पालमा परमप्रभुसित कुरा गर्नलाई गए, तिनले करारको सन्‍दुकको प्रायश्‍चितको ढकनामाथि भएका दुईवटा करूबहरूका बीचबाट परमप्रभु बोल्‍दै गर्नुभएको सुने।

गन्‍ती 7 पढ्नुहोस्