YouVersion लोगो
खोज आइकन

गन्‍ती 20:1-13

गन्‍ती 20:1-13 सरल नेपाली

पहिलो महिना इस्राएलका सारा जन-समुदाय सीनैको उजाड मरुस्‍थलमा आइपुगे र कादेशमा छाउनी हाली बसे। मिरियम मरिन् र तिनलाई त्‍यहीँ गाडियो। तिनीहरू बास बसेको ठाउँमा पानी थिएन। यसकारण मानिसहरूले मोशा र हारूनलाई घेरेर दोष लगाउन थाले, “हाम्रा इस्राएली सङ्गीहरूसित हामी पनि परमप्रभुको पवित्र पालअघि मर्न पाएका भए असल हुनेथियो। किन तिमीहरूले हामीलाई यो मरुस्‍थलमा ल्‍यायौ? यहाँ हामी हाम्रा जन्‍तुहरूसहित मरौं भनेर ल्‍याएका हौ? किन हामीलाई मिश्रदेखि निकाली यो आत्तेसलाग्‍दो ठाउँमा ल्‍यायौ, जहाँ केही उम्रँदैन? यहाँ अन्‍न, नेभारा, अङ्‌गुर, अनार केही छैन। पिउने पानी पनि छैन!” मोशा र हारून मानिसहरूदेखि हटेर गई पवित्र पालको ढोकामा उभिए। तिनीहरू जमिनसम्‍मै घोप्‍टे र परमप्रभुको उपस्‍थितिको तिरीमिरी पार्ने ज्‍योति त्‍यहाँ देखा पर्‍यो। परमप्रभुले मोशालाई भन्‍नुभयो, “करारका सन्‍दुकको अघि भएको लौरो हातमा ली। हारून र तैँले सबै इस्राएलीहरूलाई भेला गर्नू र तिनीहरूको सामु त्‍यो चट्टानसित कुरा गर्नू। चट्टानबाट पानी जोडले बही निस्‍कनेछ। यस प्रकारले चट्टानबाट तिमीहरूले मानिसहरूको लागि पानी निकाल्‍नेछौ र तिनीहरू र तिनीहरूका पशुहरूले पानी पिउनेछन्।” मोशाले गएर परमप्रभुले आज्ञा गरेअनुसार लौरो लिए। मोशा र हारूनले सबै मानिसहरूलाई चट्टानको अघि भेला गरे र मोशाले भने, “सुन, ए विद्रोही मानिसहरू हो! के यो चट्टानबाट तिमीहरूलाई पानी निकालिदिऊँ?” तब मोशाले लौरो उठाएर चट्टानलाई दुईचोटि हिर्काए। त्‍यहाँबाट पानीको एउटा ठूलो मूल फुटेर निस्‍क्‍यो र सबै मानिस र पशुहरूले पानी पिए। तर परमप्रभुले मोशा र हारूनलाई हप्‍काउनुभयो। उहाँले भन्‍नुभयो, “मेरो पवित्र शक्ति इस्राएलका मानिसहरूको अघि स्‍वीकार गर्ने पूरा विश्‍वास तिमीहरूसित नभएको कारणले मैले दिउँला भनी प्रतिज्ञा गरेको देशमा तिमीहरूले अब तिनीहरूलाई पुर्‍याउन पाउनेछैनौ।” यो घटना मेरीबामा भएको हो। मेरीबामा मानिसहरूले परमप्रभुका विरुद्धमा गनगन गरे र उहाँले म पवित्र छु भनी तिनीहरूलाई देखाउनुभयो।

गन्‍ती 20 पढ्नुहोस्