इस्राएलीहरूका सारा समुदाय पहिलो महिनामा जीनको उजाड़-स्थानमा आइपुगे, र कादेशमा वास बसे। अनि मिरियम त्यहीँ मरिन्, र तिनीहरूले तिनलाई त्यहीँ नै गाड़े। समुदायको निम्ति त्यहाँ पानी थिएन, अनि मानिसहरू मोशा र हारूनका विरुद्धमा जम्मा भए। तिनीहरूले मोशासित झगड़ा गरेर यसो भने, “हाम्रा दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेको भए असल हुनेथियो, किनभने अब हाम्रा गाईबस्तुसमेत हामी सब यहाँ मर्नेछौं। किन परमप्रभुको समुदायलाई तपाईंले यस उजाड़-स्थानमा ल्याउनुभयो? मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्याउनुभयो? यस ठाउँमा अन्न, अथवा नेभारा वा दाख वा अनारहरू केही छैनन्। यहाँ पिउने पानी पनि छैन।” तब मोशा र हारून समुदायको सामुबाट भेट हुने पालको ढोकामा गएर घोप्टो परे, र परमप्रभुको महिमा तिनीहरूकहाँ देखा पर्यो। परमप्रभुले मोशालाई भन्नुभयो, “यो लहुरो लिएर तँ र तेरो दाजु हारून गएर समुदायलाई जम्मा गर। तिनीहरूका आँखाकै सामुन्ने यस चट्टानलाई हुकुम गर् र चट्टानबाट पानी निस्कनेछ, र तैंले यस चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्नेछस्। यसरी तैंले समुदाय र तिनका गाईबस्तुहरूलाई पानी दिनेछस्।” तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा लहुरो लिएर उहाँको सामुन्नेबाट गए, अनि मोशा र हारूनले चट्टानको सामुन्ने समुदायलाई जम्मा गरे। तब मोशाले तिनीहरूलाई भने, “सुन, ए विद्रोही मानिस हो! के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदिऔँ?” अनि मोशाले आफ्नो हात उठाएर दुई पल्ट आफ्नो लहुरोले चट्टान हिर्काए। तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो, अनि समुदाय र तिनीहरूका गाईबस्तुले पिए। तर परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “मलाई इस्राएलीहरूका सामु पवित्र तुल्याउनलाई तिमीहरूले ममाथि विश्वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्याउन पाउनेछैनौ।” यसैलाई मेरीबाका पानी भनिन्छ। यहीँ नै इस्राएलीहरूले परमप्रभुसँग झगड़ा गरे, र तिनीहरूका बीचमा उहाँ पवित्र प्रकट हुनुभयो।
गन्ती 20 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 20:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू