YouVersion लोगो
खोज आइकन

गन्‍ती 14:26-45

गन्‍ती 14:26-45 सरल नेपाली

परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “अब कहिलेसम्‍म यी दुष्‍ट मानिसहरूले मेरो विरुद्धमा गनगन गर्ने हुन्? मैले यिनीहरूको गनगन धेरै सुनिसकेको छु! अब तिनीहरूलाई यो जवाफ दे, ‘म यो शपथ खाँदछु कि म जीवित छु भन्‍ने स्‍वयम् साक्षी राखी म भन्‍दछु, त्‍यसरी नै म तिमीहरूले मागेअनुसार गर्नेछु। तिमीहरू मर्नेछौ र तिम्रा लाश यस बनभरि छरिनेछन्। तिमीहरूले मेरो विरुद्धमा गनगन गरेका छौ। त्‍यसकारण तिमीहरूमध्‍ये बीस वर्षभन्दा बढ्ता उमेर हुनेहरू कोही पनि त्‍यस देशमा पस्‍न पाउनेछैनन्। मैले तिमीहरूलाई त्‍यहाँ बस्‍न दिने प्रतिज्ञा गरेको थिएँ तर अब कालेब र यहोशूबाहेक अरू कोही त्‍यहाँ बस्‍न पाउनेछैनन्‌। तिमीहरूले हाम्रा छोरा-छोरीहरू कैदमा पर्नेछन् भनी भन्‍यौ तर म तिनीहरूलाई तिमीहरूले इन्‍कार गरेको यस देशमा ल्‍याउनेछु र त्‍यो तिनीहरूको बासस्‍थान हुनेछ। तिमीहरू यही जङ्गलमा मर्नेछौ। तिम्रा सन्‍तानहरू यस जङ्गलमा चालीस वर्षसम्‍म घुमफिर गरिबस्‍नेछन् र तिमीहरूका पापको निम्‍ति तिमीहरू सबै नमरुञ्‍जेल तिनीहरूले कष्‍ट भोग्‍नेछन्। त्‍यस देशको भेद बुझ्‍न चालीस दिन लागेको थियो र हरेक दिनको लागि एक वर्षको हिसाबले चालीस वर्षसम्‍म तिमीहरूले आफ्‍ना पापको फल भोग्‍नुपर्नेछ। मेरो आफ्‍ना विरुद्धमा खडा भएको खण्‍डमा के हुन्‍छ, त्यो तिमीहरूले बुझ्‍नेछौ। मेरा विरुद्धमा भेला भएका तिमीहरू दुष्‍ट मानिसहरूलाई म यसो गर्नेछु भनी कसम खाँदछु। यहाँ, यस जङ्गलमा तिमीहरू एक-एक गरी मर्नेछौ। म परमप्रभुले यी कुरा भनेको छु’।” जुन मानिसहरूलाई मोशाले त्‍यस देशको भेद लिन पठाएका थिए, तिनीहरूले एउटा झूटो खबर ल्‍याए। त्‍यसले गर्दा मानिसहरूले परमप्रभुको विरुद्धमा गनगन गरे। यसकारण परमप्रभुले तिनीहरूमाथि विपत्ति ल्‍याउनुभयो र तिनीहरू मरे। ती बाह्र जना जासूसहरूमध्‍ये यहोशू र कालेब मात्र बाँचे। परमप्रभुका कुरा मोशाले इस्राएलीहरूलाई सुनाए। तिनीहरूले दु:ख मानी विलाप गरे। भोलिपल्‍ट बिहान सबेरै पहाडपट्टि हमला गर्न तिनीहरू यसो भन्‍दै बढे, “अब परमप्रभुले हामीलाई भन्‍नुभएको ठाउँमा जानलाई हामी तयार छौं। हामीले पाप गरेका छौं भनी हामी मानिलिन्‍छौं।” तर मोशाले भने, “त्‍यसो भए, किन अहिले परमप्रभुको आज्ञा तिमीहरूले मान्‍दैनौ त? तिमीहरू असफल हुनेछौ! तिमीहरू अघि नबढ। तिमीहरूसित परमप्रभु हुनुहुन्‍न। तिम्रा बैरीहरूले तिमीहरूलाई जित्‍नेछन्। अमालेकी र कनानीहरूको सामना गर्दा तिमीहरू लडाइँमा मर्नेछौ। परमप्रभु तिमीहरूसित रहनुहुनेछैन किनभने तिमीहरूले उहाँलाई पछ्याउन चाहेनौ।” तरै पनि तिनीहरूले पहाडपट्टि जाने साहस गरे। परमप्रभुको करारको सन्‍दुक र मोशा छाउनीबाट निस्‍केनन्। तब पहाडमा बास गर्ने अमालेकी र कनानीहरूले तिनीहरूमाथि आक्रमण गरे र तिनीहरूलाई जितेर होर्मासम्‍म खेदेर लगे।

गन्‍ती 14 पढ्नुहोस्