परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “मेरो विरुद्धमा यस दुष्ट समुदायले कतिसम्म गनगनाउने? तिनीहरूले मेरो विरुद्धमा गनगनाएका मैले सुनेको छु। तिनीहरूलाई भनिदेओ, ‘जस्तो म जीवित छु, परमप्रभु घोषणा गर्नुहुन्छ, मैले सुन्ने गरी तिमीहरूले जे-जे भनेका थियौ, म त्यही नै गर्नेछु। तिमीहरूका लाश यही उजाड़-स्थानमा छोड़िनेछन्, अनि यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक गणना भएको र मेरो विरुद्धमा गनगनाउने बीस वर्षदेखि उँभोको कोही पनि वासको निम्ति दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा जान पाउनेछैन। लूट स्वरूप पक्रिनेछन् भनी तिमीहरूले भनेका तिमीहरूका छोराछोरीहरूलाई चाहिँ म त्यहाँ पुर्याउनेछु, र तिमीहरूले अवहेलना गरेको ठाउँ तिनीहरूले प्राप्त गर्नेछन्। तर तिमीहरूका लाशचाहिँ यही उजाड़-स्थानमा छोड़िनेछन्। तिमीहरूमध्येको अन्तिम मानिसको मृत्यु नभएसम्म तिमीहरूको अविश्वासको कारण आफ्ना छोराछोरीहरू चालीस वर्षसम्म गोठाला भएर उजाड़-स्थानमा डुल्नेछन्। तिमीहरूले त्यस देशको भेद लिन चालीस दिन बिताएका थियौ, यसकारण दिनको एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्नो अधर्मको फल भोग्दै रहनेछौ, र तिमीहरूप्रति म नाराज भएको तिमीहरूले थाहा पाउनेछौ’। यो बोल्ने म परमप्रभु हुँ, र मेरो विरुद्ध भेला हुने यस दुष्ट समुदायलाई म यसै गर्नेछु। यसै उजाड़-स्थानमा तिनीहरू मरेर मेटिजानेछन्।” मोशाले भेद लिन पठाउँदा आएर खराब समाचार दिने मानिसहरू परमप्रभुको सामुन्ने रूढ़ीले मरे, किनभने तिनीहरूले अशुभ खबर ल्याएर जम्मै समुदायलाई मोशाको विरुद्धमा बोल्न लाएका थिए। देशको भेद लिन जाने मानिसहरूमध्ये खालि नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेब मात्र जीवित रहे। जब मोशाले सबै इस्राएलीहरूलाई यी कुरा बताइदिए, तब मानिसहरूले ज्यादै बिलौना गर्न लागे। तिनीहरू बिहान सबेरै उठेर यसो भन्दै पहाड़ी क्षेत्रतिर उक्लन लागे, “हेर, हामीहरू यहाँबाट अब परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँमा उक्लिजाऔं, किनकि हामीले त पाप गरेछौं।” तर मोशाले भने, “तिमीहरू किन परमप्रभुको आज्ञा उल्लङ्घन गर्छौ? यो सफल हुनेछैन। नउक्ल, नत्रता शत्रुहरूले तिमीहरूलाई मार्नेछन्, किनभने परमप्रभु तिमीहरूका बीचमा हुनुहुन्न। त्यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूलाई सामना गर्नेछन्, र उनीहरूद्वारा तिमीहरू परास्त हुनेछौ। तिमीहरू परमप्रभुको पछि लाग्न छोड़्यौ। यसकारण परमप्रभु तिमीहरूका साथमा हुनुहुनेछैन, तर तिमीहरू तरवारद्वारा मर्नेछौ।” तापनि कुरै नसुनी तिनीहरू पहाड़ी क्षेत्रतिर अगि बढ़े। तर परमप्रभुका करारको सन्दूक र मोशाचाहिँ छाउनीबाट निस्केनन्। तब त्यस पहाड़मा बस्ने अमालेकी र कनानीहरू तल ओर्लेर तिनीहरूलाई होर्मासम्मै मार्दै र खेद्दै ल्याए।
गन्ती 14 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 14:26-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू