YouVersion लोगो
खोज आइकन

मर्कूस 5:37-43

मर्कूस 5:37-43 सरल नेपाली

उहाँले पत्रुस, याकूब र तिनका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि आफ्‍नो साथमा जान दिनुभएन। उहाँहरू सभाघरको अगुवाको घरमा आइपुग्‍दा त रुवाबासी र विलापको खैलाबैला मच्‍चिरहेको थियो। येशूले भित्र पसेर तिनीहरूलाई भन्‍नुभयो, “किन यस्‍तो रुवाबासी र खैलाबैला गरेको? यो नानी त निदाएकी मात्र छ, मरेकी छैन।” यो कुरा सुनेर तिनीहरूले उहाँको हाँसो गरे। तर उहाँले सबैलाई बाहिर पठाउनुभयो अनि केटीको बुबा, आमा र आफ्‍ना तीन जना चेलाहरूलाई लिएर भित्र केटी भएको कोठामा जानुभयो। उहाँले केटीको हात समातेर भन्‍नुभयो, “तालिता कूमी!” यसको अर्थ हो “ए नानी, म भन्‍छु, उठ!” तब केटी जुरुक्‍क उठी अनि यताउता हिंड्डुल गर्न थाली। यो देखेर तिनीहरू छक्‍कै परे। ऊ बाह्र वर्षकी थिई। त्‍यसपछि येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्‍नू’ भनेर कडा आज्ञा दिनुभयो अनि ‘नानीलाई केही खानेकुरा दिनू’ भनी अह्राउनुभयो।

मर्कूस 5 पढ्नुहोस्