YouVersion लोगो
खोज आइकन

मत्ती 22:23-46

मत्ती 22:23-46 सरल नेपाली

त्‍यही दिन कति जना सदुकीहरू येशूकहाँ आए। (सदुकीहरूले भन्‍ने धार्मिक समूहका मानिसहरूले चाहिँ मानिस मरेपछि फेरि बिउँतनेछ भन्‍ने कुरामा विश्‍वास गर्दैनथे।) अनि तिनीहरूले येशूलाई सोधे, “हे गुरु, मोशाले त यसो भनेका थिए, कसैको दाजु सन्‍तान नभईकन मर्‍यो भने दाजुको लागि सन्‍तान होस् भनेर भाइले दाजुको विधवालाई बिहे गर्नुपर्छ। अब हाम्रो बीचमा सात दाजुभाइहरू थिए। जेठो दाजुले बिहे गर्‍यो, तर छोरा-छोरी नभईकन मर्‍यो। त्‍यसो हुँदा माहिलो भाइले भाउजूलाई बिहे गर्‍यो। तर ऊ पनि सन्‍तान नभई मर्‍यो। साहिँलो भाइलाई पनि यस्‍तै भयो र त्‍यसरी नै सातै भाइले बिहे गरे, तर बिनासन्‍तान मरे। आखिरमा त्‍यो स्‍वास्‍नी मानिस पनि मरी। अब सबै जना मरेकोबाट बिउँते भने त्‍यो कसकी स्‍वास्‍नी हुन्‍छे? उसलाई त सातै भाइले बिहे गरेका थिए!” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू भुलमा परेछौ। तिमीहरूले न धर्मशास्‍त्र नता परमेश्‍वरको शक्तिको बारेमा नै बुझेका रहेछौ। मरेका मानिसहरू बिउँतेपछि त तिनीहरूको बिहे गर्ने र गराउने कुरै हुनेछैन। तिनीहरू त स्‍वर्गमा रहने स्‍वर्गदूतहरूजस्‍तै हुन्‍छन्। मरेकोबाट बिउँतने बारेमा अझै भन्‍ने हो भने ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्‍वर हुँ’ भनेर परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएको कुरा के तिमीहरूले पढेका छैनौ? परमेश्‍वर त मरेकाहरूको होइन, तर जिउँदाहरूको पो परमेश्‍वर हुनुहुन्‍छ।” यसरी उहाँको शिक्षा सुनेर सबै मानिसहरू छक्‍क परे। येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने कुरा सुनेर फरिसीहरू एक गुट बाँधेर येशूकहाँ आए। तिनीहरूमध्‍ये एक जना धर्म-गुरुले येशूलाई फसाउने विचारले सोधे, “हे गुरु, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञाचाहिँ कुन हो?” येशूले जवाफ दिनुभयो, “तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो पूरा हृदय, पूरा प्राण र पूरा मनले प्रेम गर। सबैभन्दा मुख्‍य र ठूलो आज्ञा यही हो। अनि यस्‍तै अर्को मुख्‍य र ठूलो आज्ञाचाहिँ, ‘आफ्‍नो छिमेकीलाई आफैंलाई जस्‍तै प्रेम गर।’ मोशाका सबै व्यवस्था र अगमवक्ताका शिक्षाहरूको आधार यी दुई आज्ञा हुन्।” त्‍यस बेला येशूले गुट बाँधेर आएका फरिसीहरूलाई सोध्‍नुभयो, “मुक्ति दिने राजा ख्रीष्‍टको बारेमा तिमीहरूको के विचार छ त? उनी कसका सन्‍तान हुन्?” तिनीहरूले जवाफ दिए, “उनी त दाऊदका सन्‍तान हुन्।” येशूले सोध्‍नुभयो, “त्‍यसो भए किन दाऊदलाई परमेश्‍वरको आत्‍माले उहाँलाई ‘प्रभु’ भन्‍न लाउनुभयो? किनभने दाऊद आफैंले त यसरी भनेका छन्– परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतालामुनि नपारुञ्‍जेल तिमी मेरो दाहिनेपट्टि नै बस।’ यसरी दाऊद आफैंले ख्रीष्‍टलाई प्रभु भनेपछि कसरी ख्रीष्‍टलाई दाऊदको सन्‍तान भन्‍ने?” तर कसैले पनि कुनै जवाफ दिन सकेनन्। अनि त्‍यस दिनदेखि कसैले पनि येशूलाई कुनै कुरा सोध्‍ने आँटसमेत गरेनन्।

मत्ती 22 पढ्नुहोस्