त्यही दिन पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ एउटा प्रश्न लिएर आए। तिनीहरूले भने, “हे गुरु, मोशाले हामीलाई भनेका थिए, यदि कुनै मानिस बालबच्चा नभईकन मर्यो भने उसको भाइले त्यस विधवालाई विवाह गरेर उसका लागि बालबच्चा जन्माउनुपर्छ। अब हाम्रो बीचमा सात भाइहरू थिए। पहिलोले विवाह गर्यो, तर ऊ मर्यो; अनि उसका बालबच्चा नभएकोले उसले आफ्नी पत्नीलाई भाइका निम्ति छोड्नुपर्यो। त्यही घटना दोस्रो भाइसित, तेस्रो भाइसित र सातौँसम्म नै घट्यो। अन्त्यमा त्यो स्त्री पनि मरी। अब पुनरुत्थानमा त्यो स्त्री सात जनामध्ये कसकी पत्नी हुनेछे? किनकि त्यसको विवाह ती सबैसँग भएको थियो।” येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्वरको शक्तिलाई नजानेकाले भ्रममा परेका छौ। पुनरुत्थानमा मानिसहरू न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्। तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, के तिमीहरूले पढेका छैनौ? ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, र याकोबका परमेश्वर हुँ।’ उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।” जब भीडहरूले यो सुने, तिनीहरू उहाँका शिक्षामा छक्क परे। येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने सुनेर फरिसीहरू एकसाथ भेला भए। तीमध्ये एक जना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गरे: “हे गुरु, व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुनचाहिँ हो?” येशूले जवाफ दिनुभयो: “ ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’ यही नै पहिलो र सबैभन्दा महान् आज्ञा हो। अनि दोस्रो पनि उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूले आफ्ना छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’ सबै व्यवस्था र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।” फरिसीहरू एकसाथ भेला भएका बेलामा येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू ख्रीष्टको विषयमा के विचार गर्छौ? उनी कसका पुत्र हुन्?” तिनीहरूले जवाफ दिए, “दावीदका पुत्र।” उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए दावीदले आत्माद्वारा बोल्दैगर्दा उहाँलाई कसरी ‘प्रभु’ भने? किनकि तिनी भन्छन्, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’ यदि दावीदले उहाँलाई ‘प्रभु’ भन्छन् भने कसरी उहाँ तिनका पुत्र हुन सक्छन्?” यसको जवाफमा कसैले एक शब्द पनि भन्न सकेन। त्यस दिनदेखि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।
मत्ती 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 22:23-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू