“फेरि पनि परमेश्वरको राज्य त तालमा हानेको जालजस्तै हुन्छ। यसमा सबै किसिमका माछाहरू पर्दछन्। माछाले भरिएपछि जलाहारीहरूले त्यसलाई किनारमा ल्याउँछन् र माछाहरू छुट्ट्याउँछन्। राम्रा-राम्रा माछाचाहिँ तिनीहरूले आफ्ना टोकरीमा राख्छन् र काम नलाग्ने माछाहरूचाहिँ फ्याँकिदिन्छन्। यस संसारको आखिरी दिनमा पनि त्यस्तै नै हुनेछ। स्वर्गदूतहरू आएर परमेश्वरको अघि धर्मी ठहरिएका मानिसहरूबाट दुष्टहरूलाई छुट्ट्याएर आगोको भट्टीमा हालिदिनेछन्। त्यहाँ तिनीहरू दाह्रा किट्दै रुवाबासी गरिरहनेछन्।” येशूले चेलाहरूलाई सोध्नुभयो, “के तिमीहरूले यी कुराहरू बुझ्यौ?” उनीहरूले भने, “बुझ्यौं गुरुज्यू।” अनि येशूले फेरि भन्नुभयो, “अबदेखि परमेश्वरको राज्यबारे शिक्षा पाएका हरेक धर्म-गुरुचाहिँ घरको एउटा मालिकजस्तै हुन्छन्। घरका मालिकले आफ्ना ढुकुटीबाट नयाँ कुराहरू पनि निकाल्छन्, पुराना कुराहरू पनि निकाल्छन्।” यी दृष्टान्तहरू भनिसक्नुभएपछि येशू त्यो ठाउँ छोडेर आफू हुर्केको ठाउँमा जानुभयो। त्यहाँ उहाँले सभाघरमा शिक्षा दिन लाग्नुभयो। उहाँका शिक्षा सुन्नेहरूले छक्क परेर भने, “यस्तो बुद्धि यिनले कहाँबाट पाएका होलान्? यस्ता अचम्म अचम्मका कामहरू कसरी गर्छन्? यिनी तिनै सिकर्मीका छोरा होइनन्? यिनकी आमा पनि तिनै मरियम होइनन् र? याकूब, योसेफ, सिमोन र यहूदा यिनकै भाइहरू होइनन् र? यिनका बहिनीहरू पनि त यहीँ नै छन् नि। यिनले यी सबै कुराहरू कहाँबाट पाएका हुन्?” यसो भन्दै तिनीहरूले उहाँलाई पत्याएनन् अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्छ, तर आफ्ना गाउँ-घर र आफ्नैहरूले भने वास्तै गर्दैनन्।” तिनीहरूमा विश्वास नभएको हुनाले येशूले त्यस ठाउँमा धेरै अचम्मका कामहरू गर्नुभएन।
मत्ती 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 13:47-58
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू