मत्ती 13:47-58
मत्ती 13:47-58 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्। अनि जाल भरिएपछि मानिसहरूले त्यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्मा गरे, र खराब जतिलाई बाहिर फाले। युगको अन्त्यमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्, र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।” येशूले सोध्नुभयो, “के तिमीहरूले यी सबै कुरा बुझ्यौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “बुझ्यौं।” अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण स्वर्गका राज्यको शिक्षा पाएको हरेक शास्त्री एक जना घरको मालिकजस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना मूल्यवान् सामानहरू बाहिर झिक्तछ।” यी दृष्टान्तहरू बताइसक्नुभएपछि येशू त्यहाँबाट जानुभयो। अनि आफ्नो सहरमा आउनु भएर उहाँले तिनीहरूको सभाघरमा तिनीहरूलाई यस्तो शिक्षा दिनुभयो, कि छक्क परेर तिनीहरूले भने, “यिनलाई यो बुद्धि र अचम्मको काम गर्ने शक्तिहरू कहाँबाट प्राप्त भयो? के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाउँ मरियम, र यिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा होइनन्? के यिनका बहिनीहरू सबै हामीहरूसँगसँगै छैनन् र? त यिनलाई यी सबै कुरा कहाँबाट प्राप्त भयो?” अनि तिनीहरू उहाँसँग चिढ़िए। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्तालाई आफ्नै निज मुलुक र आफ्नै निज घरमा बाहेक अन्यत्र सबै ठाउँमा आदर हुन्छ।” अनि तिनीहरूको अविश्वासले गर्दा उहाँले त्यहाँ शक्तिका धेरै कामहरू गर्नुभएन।
मत्ती 13:47-58 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे। जब जाल भरियो, तब मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबजतिलाई बाहिर फ्याँकिदिए। युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्, अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।” येशूले तिनीहरूलाई “के यी कुराहरू बुझ्यौ?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “ज्यू, बुझ्यौँ।” उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण स्वर्गको राज्यको विषयमा शिक्षा पाएको हरेक व्यवस्थाको शिक्षक, घरको एक जना मालिकजस्तै हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुरानो मूल्यवान् वस्तुहरू झिक्दछ।” जब येशूले यी दृष्टान्तहरू भनिसक्नुभयो, उहाँ त्यहाँबाट अगि बढ्नुभयो। आफ्नो घर भएको सहरमा आएर उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरमा सिकाउन थाल्नुभयो; अनि तिनीहरूले छक्क परेर सोधे, “यी मानिसले यस्तो बुद्धि र शक्तिशाली कामहरू गर्ने शक्ति कहाँबाट प्राप्त गरे? के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाम मरियम होइन? अनि यिनका भाइहरू याकोब, योसेफ, सिमोन र यहूदा होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र? त्यसो भए यिनलाई यी सबै कुराहरू कहाँबाट प्राप्त भयो?” अनि तिनीहरू उहाँसित चिढिए। तर येशूले तिनीहरूलाई भन्नुभयो, “आफ्नै सहरमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन।” उहाँले तिनीहरूका विश्वासको कमीले गर्दा त्यहाँ धेरै शक्तिशाली कामहरू गर्नुभएन।
मत्ती 13:47-58 पवित्र बाइबल (NERV)
“स्वर्गको राज्य समुद्रमा हानेको एउटा महा-जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे। त्यो जालभरि माछा थिए। तब जालहारीले त्यो जाललाई किनारमा ताने, भुईंमा बसेर तिनीहरूले राम्रो किसिमका माछाहरू छुट्याउन र आफ्नो टोकरीमा हाल्न थाले। अनि तिनीहरूले नराम्रा किसिमका माछाहरू फ्याँकिदिए। जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्। स्वर्गदूतहरूले तिनीहरूलाई जल्दो भट्टीमा फालिदिनेछन्। ती मानिसहरू पीडाले रूनेछन् दाँत किट्नेछन्।” तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, “के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?” तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु, हामीले बुझ्यौं।” तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “प्रत्येक शास्त्री जसले स्वर्गको राज्यको विषयमा सिकेको एउटा घरको मालिक जस्तै हुन्। उसले आफ्नो घरमा पुराना र नयाँ चीजहरू जोगाई राखेको हुन्छ। अनि उसले ती पुराना र नयाँ चीजहरू बाहिर झिक्दछ।” यसरी उखानहरूमा शिक्षा दिइसकेपछि येशूले त्यो स्थान छाड्नु भयो। येशू आफू हुर्किएको ठाउँमा पुग्नुभयो। येशूले सभा घरमा तिनीहरूलाई शिक्षा दिनुभयो। मानिसहरू उहाँ देखि अचम्मित भए। यसकारण तिनले आपसमा कुरा गरे, “चमत्कारहरू गर्ने यस्तो बुद्धि र शक्ति यिनले कहाँबाट पाए? यिनी उही सिकर्मीका पुत्र हुन्। अनि उनकी आमा मरियम हुन्। याकूब, यूसुफ, शिमोन र यहूदा उनका भाइहरू हुन्। अनि उनका सबै बहिनीहरू अहिले हामीसँग छन्। यसर्थ, उनले यी कुराहरू गर्ने यत्रो बुद्धि र शक्ति कहाँबाट पाए?” यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।” त्यस ठाउँका मानिसहरूले येशूलाई विश्वास नगरेका हुनाले उहाँले त्यहाँ त्यति धेरै आश्चर्यकर्महरू देखाउनु भएन।
मत्ती 13:47-58 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“फेरि पनि परमेश्वरको राज्य त तालमा हानेको जालजस्तै हुन्छ। यसमा सबै किसिमका माछाहरू पर्दछन्। माछाले भरिएपछि जलाहारीहरूले त्यसलाई किनारमा ल्याउँछन् र माछाहरू छुट्ट्याउँछन्। राम्रा-राम्रा माछाचाहिँ तिनीहरूले आफ्ना टोकरीमा राख्छन् र काम नलाग्ने माछाहरूचाहिँ फ्याँकिदिन्छन्। यस संसारको आखिरी दिनमा पनि त्यस्तै नै हुनेछ। स्वर्गदूतहरू आएर परमेश्वरको अघि धर्मी ठहरिएका मानिसहरूबाट दुष्टहरूलाई छुट्ट्याएर आगोको भट्टीमा हालिदिनेछन्। त्यहाँ तिनीहरू दाह्रा किट्दै रुवाबासी गरिरहनेछन्।” येशूले चेलाहरूलाई सोध्नुभयो, “के तिमीहरूले यी कुराहरू बुझ्यौ?” उनीहरूले भने, “बुझ्यौं गुरुज्यू।” अनि येशूले फेरि भन्नुभयो, “अबदेखि परमेश्वरको राज्यबारे शिक्षा पाएका हरेक धर्म-गुरुचाहिँ घरको एउटा मालिकजस्तै हुन्छन्। घरका मालिकले आफ्ना ढुकुटीबाट नयाँ कुराहरू पनि निकाल्छन्, पुराना कुराहरू पनि निकाल्छन्।” यी दृष्टान्तहरू भनिसक्नुभएपछि येशू त्यो ठाउँ छोडेर आफू हुर्केको ठाउँमा जानुभयो। त्यहाँ उहाँले सभाघरमा शिक्षा दिन लाग्नुभयो। उहाँका शिक्षा सुन्नेहरूले छक्क परेर भने, “यस्तो बुद्धि यिनले कहाँबाट पाएका होलान्? यस्ता अचम्म अचम्मका कामहरू कसरी गर्छन्? यिनी तिनै सिकर्मीका छोरा होइनन्? यिनकी आमा पनि तिनै मरियम होइनन् र? याकूब, योसेफ, सिमोन र यहूदा यिनकै भाइहरू होइनन् र? यिनका बहिनीहरू पनि त यहीँ नै छन् नि। यिनले यी सबै कुराहरू कहाँबाट पाएका हुन्?” यसो भन्दै तिनीहरूले उहाँलाई पत्याएनन् अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्छ, तर आफ्ना गाउँ-घर र आफ्नैहरूले भने वास्तै गर्दैनन्।” तिनीहरूमा विश्वास नभएको हुनाले येशूले त्यस ठाउँमा धेरै अचम्मका कामहरू गर्नुभएन।