YouVersion लोगो
खोज आइकन

लेवी 10:1-11

लेवी 10:1-11 सरल नेपाली

हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्‍नो आगो राख्‍ने ताप्‍के बल्‍दो फिलिङ्गो लिए र त्‍यसमा धूप बालेर परमप्रभुलाई चढाए। तर, त्‍यो आगो पवित्र थिएन किनभने परमप्रभुले त्‍यो चढाउन आज्ञा गर्नुभएको थिएन। अचानक परमप्रभुले आगो पठाउनुभयो र तिनीहरूलाई आगोले परमप्रभुको सामुन्‍ने त्‍यहीँ भस्‍म पार्‍यो। तब मोशाले हारूनलाई भने, “परमप्रभुले ‘मेरो सेवा गर्ने सबैले मेरो पवित्रताको आदर गर्नुपर्छ, म आफ्‍नो महिमा आफ्‍ना प्रजालाई देखाउनेछु’ भन्‍नुभएको कुराको अर्थ यही हो।” तर हारून चुप भएर बसे। हारूनका काका उज्‍जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर मोशाले भने, “यहाँ आएर तिम्रा भाइहरूका लाश पवित्र पालबाट उठाओ र छाउनीको बाहिर लैजाओ।” तिनीहरू आए र उनीहरूका वस्‍त्र समाती मोशाले दिएको आज्ञाअनुसार लाश छाउनीको बाहिर लगे। तब मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “हामी शोकमा छौं भनी देखाएर तिमीहरूले आफ्‍ना केश कोर्न नछोड, कपडा नच्‍यात। त्‍यसो गर्‍यौ भने तिमीहरू मर्नेछौ र परमप्रभु सारा इस्राएली समूहसित रिसाउनुहुनेछ। तर तिम्रा अरू इस्राएली साथीहरूले परमप्रभुले पठाउनुभएको आगोले गराएको यस मृत्‍युमा शोक गर्न पाउनेछन्। तिमीहरूले पवित्र पालको ढोका नछोड्‍नू नत्र मर्नेछौ किनभने तिमीहरू परमप्रभुको अभिषेक गर्ने तेलद्वारा पवित्र गरिएका छौ।” यसकारण तिनीहरूले मोशाले भनेझैँ गरे। परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ र तेरा छोराहरू दाखमद्य वा कडा मद्य पिएर मेरो पवित्र पालमा नपस्‍नू त्‍यसो गर्‍यौ भने तिमीहरू मर्नेछौ। तेरा सम्‍पूर्ण सन्‍तानले यो नियम मान्‍नुपर्नेछ। के कुरा परमेश्‍वरको हो र के कुरा साधारण काममा चलाउन सकिन्‍छ, विधिअनुसार कुन कुरा शुद्ध वा अशुद्ध छ, त्‍यो तैँले छुट्ट्याउनुपर्छ। मैले मोशाद्वारा तँलाई दिइएका सबै धार्मिक नियमहरू इस्राएलका सबै मानिसहरूलाई सिकाउनुपर्छ।

लेवी 10 पढ्नुहोस्