लेवीहरू 10:1-11
लेवीहरू 10:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्नो धुपौरो लिएर त्यसमा आगो भरे, र त्यस आगोमा धूप हालेर परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर उहाँको सामु चढ़ाए। यसकारण त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पार्यो, र उनीहरू परमप्रभुको सामु मरे। तब मोशाले हारूनलाई भने, “परमप्रभुले भन्नुभएको कुरा यही हो: ‘मेरो नजिक आउनेहरूमा म पवित्र बन्नेछु, अनि सारा मानिसहरूका सामु म महिमित हुनेछु’।” हारून चूप बसे। मोशाले हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर भने, “आएर तिमीहरूका भाइहरूलाई पवित्रस्थानको अघिबाट बोकेर छाउनीबाट लैजाओ।” यसैले तिनीहरू आएर उनीहरूले लाएकै लबेदामा मोशाले भनेबमोजिम छाउनीबाहिर उनीहरूलाई बोकेर लगे। तब मोशाले हारून र उनका छोराहरू, एलाजार र ईतामारलाई भने, “तिमीहरूका शिरका केश नफुकाओ, आफ्ना लुगा नच्यात, नत्रता तिमीहरू मर्नेछौ र सबै समुदायमाथि परमप्रभुको क्रोध पर्ला। तर परमप्रभुले पठाउनुभएको अग्निले नष्ट भई मरेकाहरूका लागि तिमीहरूका नातेदारहरू, इस्राएलका सारा घरानाले विलाप गरे हुन्छ। तिमीहरूचाहिँ भेट हुने पालको ढोकाबाट बाहिर नजानू, नत्रता तिमीहरू मरौला, किनभने परमप्रभुका अभिषेकको तेल तिमीहरूमाथि छ।” यसर्थ उनीहरूले मोशाको वचनअनुसार गरे। त्यसपछि परमप्रभुले हारूनलाई भन्नुभयो, “तिमीहरू भेट हुने पालमा जाँदा तिमी र तिम्रा छोराहरूले दाखमद्य अथवा अरू मद्य नपिउनू, नत्रता तिमीहरू मरौला।” यो तिमीहरूका आउँदा पुस्ताहरूमा अन्नबलिको विधि होस्। पवित्र र साधारण, अनि शुद्ध र अशुद्धमा तिमीहरूले भेद राख्नुपर्छ। परमप्रभुले मोशाद्वारा दिनुभएको विधि सबै इस्राएलीहरूलाई तिमीहरूले सिकाउनुपर्छ।”
लेवीहरू 10:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हारूनका छोराहरू नादाब र अबीहूले धुपौरो लिएर त्यसमा आगो हाले, र त्यसमाथि धूप थपे। यसरी तिनीहरूले याहवेहको आज्ञा विपरीत अनाधिकृत आगो याहवेहको सामु चढाए। यसकारण याहवेहको उपस्थितिबाट आगो निस्केर आयो र तिनीहरूलाई भस्म पार्यो। अनि तिनीहरू याहवेहको सामु मरे। तब मोशाले हारूनलाई भने, “याहवेहले भन्नुभएको कुरा यही हो: “ ‘मेरो नजिक आउनेहरूमा म आफूलाई पवित्र देखाउनेछु; अनि सबै मानिसहरूका सामु म सम्मानित हुनेछु।’ ” हारून चुपचाप बसे। मोशाले हारूनका काका उज्जीएलका छोराहरू मिशाएल र एलसाफानलाई बोलाइपठाए, र तिनीहरूलाई भने, “यहाँ आओ! तिमीहरूका भाइहरूलाई बोकेर छाउनीबाहिर पवित्रस्थानको सामुबाट टाढा लैजाओ।” यसकारण तिनीहरू आए। तिनीहरूलाई लबेदा लगाएकै अवस्थामा मोशाले हुकुम गरेझैँ छाउनीबाहिर बोकेर लगे। त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “तिमीहरूका केश खुल्ला नछोड्नू र आफ्ना लुगा नच्यात्नू; नत्रता तिमीहरू मर्नेछौ। अनि याहवेह सारा समुदायमाथि रिसाउनुहुनेछ। तर तिमीहरूका आफन्तहरू, इस्राएलका सारा घरानाले याहवेहले आगोद्वारा नष्ट गर्नुभएकाहरूका निम्ति विलाप गरून्। समागम पालको प्रवेशद्वारबाट कतै नजानू, नत्रता तिमीहरू मर्नेछौ। किनकि याहवेहको अभिषेकको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूले मोशाले आदेश गरेझैँ गरे। त्यसपछि याहवेहले हारूनलाई भन्नुभयो, “तँ र तेरा छोराहरूले समागम पालभित्र पस्दा मद्य अथवा मातिने चीज मिसाएको कुरा नपिउनू; नत्रता तिमीहरू मर्नेछौ। यो भावी पुस्तासम्मका लागि सदा रहिरहने विधि हो। तिमीहरूले पवित्र र अपवित्र, अशुद्ध र शुद्धको बीचमा भिन्नता राख्न सक। अनि याहवेहले मोशाद्वारा दिनुभएका सबै आदेशहरू तैँले इस्राएलीहरूलाई सिकाउनुपर्छ।”
लेवीहरू 10:1-11 पवित्र बाइबल (NERV)
त्यसपछि हारूनका छोराहरू नादाब र अबीहूले परमप्रभुअघि धूप जलाउनको लागी आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन। यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुन्ने जलायो। त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे। मोशाले हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसापानलाई बोलाए अनि भने। उनले तिनीहरूलाई भने, “आऊ अनि आफ्ना काकाको छोराहरूलाई पवित्र स्थानबाट बाहिर पालसम्म लैजाऊ।” यसैले तिनीहरूले उनीहरूलाई पहिरेकै पोषाकमा मोशाको आदेश अनुसार पाल बाहिर उनीहरूलाई उठाएर लगे। तब मोशाले हारून र तिनका छोरा एलाजार र ईतामारलाई भने, “तिनीहरूको शिरको कपाल नखौर शोक देखाउनलाई आफ्ना लुगाहरू नच्यात, तब तिमीहरू मर्ने छैनौ, अनि परमप्रभु सबै मानिसहरूको विरूद्धमा क्रोधित हुनुहुने छैन। तर नादाब र अबीहूका लागि जो परमप्रभुद्वारा उत्पन्न गरेको आगोले गर्दा मरे, इस्राएलका सारा बासिन्दाहरू जो तिमीहरूका आफन्त छन् विलाप गर्न सक्छन्। भेट हुने पालको प्रवेशद्वार, बाहिर तिमीहरू नजानु नत्र तिमीहरू मर्ने छौ। किनभने परमप्रभुले अभिषेक गरेको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूलाई मोशाले जे भनेका थिए त्यही गरे। त्यसपछि परमप्रभुले हारूनलाई भन्नुभयो, “जब तिमी र तिम्रा छोराहरू भेट हुने पालभित्र पस्छौ तिमीहरूले दाखरस अथवा मादक वस्तु पिउनु हुँदैन नत्र तिमीहरू मर्नेछौ। यो नियम भविष्यका तिम्रा सन्तानहरूको निम्ति सधैँ रहोस्। किनभने तिमीहरूले कुन पवित्र अनि कुन अपवित्र र कुन शुद्ध अनि कुन अशुद्धमा भेद राख्नुपर्छ। अनि परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएको नियमहरू तिनीहरूलाई सिकाउनुपर्छ।”
लेवीहरू 10:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्नो आगो राख्ने ताप्के बल्दो फिलिङ्गो लिए र त्यसमा धूप बालेर परमप्रभुलाई चढाए। तर, त्यो आगो पवित्र थिएन किनभने परमप्रभुले त्यो चढाउन आज्ञा गर्नुभएको थिएन। अचानक परमप्रभुले आगो पठाउनुभयो र तिनीहरूलाई आगोले परमप्रभुको सामुन्ने त्यहीँ भस्म पार्यो। तब मोशाले हारूनलाई भने, “परमप्रभुले ‘मेरो सेवा गर्ने सबैले मेरो पवित्रताको आदर गर्नुपर्छ, म आफ्नो महिमा आफ्ना प्रजालाई देखाउनेछु’ भन्नुभएको कुराको अर्थ यही हो।” तर हारून चुप भएर बसे। हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर मोशाले भने, “यहाँ आएर तिम्रा भाइहरूका लाश पवित्र पालबाट उठाओ र छाउनीको बाहिर लैजाओ।” तिनीहरू आए र उनीहरूका वस्त्र समाती मोशाले दिएको आज्ञाअनुसार लाश छाउनीको बाहिर लगे। तब मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “हामी शोकमा छौं भनी देखाएर तिमीहरूले आफ्ना केश कोर्न नछोड, कपडा नच्यात। त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ र परमप्रभु सारा इस्राएली समूहसित रिसाउनुहुनेछ। तर तिम्रा अरू इस्राएली साथीहरूले परमप्रभुले पठाउनुभएको आगोले गराएको यस मृत्युमा शोक गर्न पाउनेछन्। तिमीहरूले पवित्र पालको ढोका नछोड्नू नत्र मर्नेछौ किनभने तिमीहरू परमप्रभुको अभिषेक गर्ने तेलद्वारा पवित्र गरिएका छौ।” यसकारण तिनीहरूले मोशाले भनेझैँ गरे। परमप्रभुले हारूनलाई भन्नुभयो, “तँ र तेरा छोराहरू दाखमद्य वा कडा मद्य पिएर मेरो पवित्र पालमा नपस्नू त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ। तेरा सम्पूर्ण सन्तानले यो नियम मान्नुपर्नेछ। के कुरा परमेश्वरको हो र के कुरा साधारण काममा चलाउन सकिन्छ, विधिअनुसार कुन कुरा शुद्ध वा अशुद्ध छ, त्यो तैँले छुट्ट्याउनुपर्छ। मैले मोशाद्वारा तँलाई दिइएका सबै धार्मिक नियमहरू इस्राएलका सबै मानिसहरूलाई सिकाउनुपर्छ।