YouVersion लोगो
खोज आइकन

विलाप 2:11-19

विलाप 2:11-19 सरल नेपाली

रुँदा-रुँदा आँसुले मेरा आँखा टट्टाइसकेका छन्; मेरो प्राण खिन्‍न भएको छ। मेरा प्रजाको विनाशको कारणले गर्दा म शोकले थाकिसकेको छु। केटा-केटीहरू र दूधे-बालकहरू सहरका गल्‍लीहरूमा मुर्छा परेका छन्। भोक लाग्‍यो र तिर्खा लाग्‍यो भनी केटा-केटीहरू आ-आफ्‍ना आमालाई भन्‍छन्; तिनीहरू घाइते भएझैँ सडकहरूमा ढल्‍छन्। तिनीहरू आ-आफ्‍ना आमाको काखमा नै बिस्‍तारै मर्दछन्। हे यरूशलेम, प्‍यारो यरूशलेम, तेरो निम्‍ति म के भन्‍न सक्‍छु? कसरी म तँलाई सान्‍त्‍वना दिऊँ? कसैले कहिले पनि यस्‍तो किसिमको कष्‍ट भोगेको छैन। तेरो चोट समुद्रको गहिराइजस्‍तै छ; त्‍यसको निको हुने आशा छैन। तेरा अगमवक्ताहरूले देखेका दर्शनहरू झूटा र अनर्थ कुराहरू मात्र हुन्; तिनीहरूको उपदेशले तेरा पापलाई कहिल्‍यै प्रकट नगरेर तँलाई धोका दिएको छ। तिनीहरूले तँलाई आफ्‍नो पापको पश्‍चात्ताप गर्नु आवश्‍यक छैन भनी धोकामा पारेका छन्। सहरको छेउमा भएर जाने मानिसहरूले तँलाई घृणाले हेर्छन्। तिनीहरूले यरूशलेमको विनाश देखेर हाँस्‍दै आफ्‍नो टाउको हल्‍काउँछन्। “के यो त्‍यही सुन्‍दर सहर हो, जसलाई जगत्‌को गौरव भनिन्‍थ्‍यो?” तेरा सबै शत्रुहरूले तँलाई गिल्‍ला गर्छन् र घृणाले तँलाई एकटक लाएर हेर्छन्। तिनीहरूले तँलाई दाँत किटेर भन्‍छन्, “हामीले नै त्‍यसलाई नष्‍ट पार्‍यौं! हामीले त्‍यही दिन हेर्नलाई पर्खिरहेका थियौं!” परमप्रभुले जे गर्न ठान्‍नुभएको थियो, अन्‍तमा त्‍यही वचन पूरा गर्नुभयो; उहाँले हामीलाई दयाबिना नै नाश पार्नुभएको छ, जसरी उहाँले हामीलाई उहिले नै चेतावनी दिनुभएको थियो। उहाँले हाम्रा शत्रुहरूलाई विजय दिनुभयो र उहाँले तिनीहरूलाई हाम्रो पतन भएकोमा आनन्‍द मनाउन दिनुभयो। हे यरूशलेमका पर्खाल, तेरो हृदयले प्रभुलाई पुकार! तेरो आँसु नदीजस्‍तै रात-दिन बगा; रुवाइ र शोकले तँ आफैं थकित भइस्! रातभरि जागेर प्रभुलाई बारम्‍बार पुकार्‌; आफ्‍ना बालकहरूका लागि दया पाउन हृदय खोलेर उहाँसँग बिन्‍ती गर्‌; हरेक गल्‍लीको कुना-कुनामा बालकहरू भोकले मर्दै छन्!

विलाप 2 पढ्नुहोस्