YouVersion लोगो
खोज आइकन

अय्‍यूब 7

7
1के मानिसको जीवन कठोर सङ्‌ग्राम गर्ने वा दश नङ्‌ग्रा खियाउने कर्मीको जस्‍तो होइन र?
2यो जीवन शीतल छाया खोज्‍ने कमाराजस्‍तो छ
वा कामदारले आफ्‍नो ज्‍याला पाउन पर्खिरहेको जस्‍तो छ।
3हरेक महिना म व्‍यर्थमा जिउँछु,
हरेक रात मलाई दु:ख-कष्‍ट मात्र छ।
4सुत्‍न ढल्‍केपछि म उठ्‍ने समय गन्‍न थाल्‍छु,
म रातभरि लडीबडी गरिरहन्‍छु र बिहानको बाटो हेरिरहन्‍छु।
5मेरो शरीरमा किरा लागेको छ; लुतो आएको छ;
मेरा घाउहरूबाट पिप निस्‍कन्‍छ।
6मेरा दिनहरू बिनाआशा बितेरै जान्‍छन्।
तानको थुरीभन्दा छिटो बित्‍छन्।
7हे परमेश्‍वर, सम्‍झनुहोस् कि मेरो जीवन एक मुट्ठी सास मात्र हो;
मेरा खुसीका दिन पहिले नै बितिसके।
8तपाईंले मलाई अहिले देख्‍दै हुनुहुन्‍छ,
तर फेरि कहिले देख्‍नुहुनेछैन,
तपाईंले मलाई खोज्‍नुभयो भने
म गइसकेको हुनेछु।
9-10बादल फाटेर हराएझैँ मानिस मर्छ र फर्किआउँदैन।
त्‍यसलाई चिन्‍नेहरू सबैले पनि बिर्सन्‍छन्।
11अँहँ, म चुप लागिबस्‍न सक्‍दिनँ!
मेरो मनमा रिस र पीर छन्,
मैले मुख खोल्‍नै पर्छ।
12किन तपाईंले ममाथि पहरा राख्‍नुहुन्‍छ?
के म समुद्रको डरलाग्‍दो जल-जन्‍तु हुँ र?
13म ढल्‍कँदछु र विश्राम गर्ने चेष्‍टा गर्दछु,
मैले पीडाबाट छुटकारा पाउँछु कि भनी आशा गर्दछु।
14तर तपाईंले मलाई सपनामा तर्साउनुहुन्‍छ।
मलाई यस्‍ता खराब दर्शन र ऐठनहरू दिनुहुन्‍छ।
15यसकारण मलाई यस्‍तो दु:खको जीवन बिताउनुभन्दा त
बरु घोक्रो निचोरिएर मारिनु पो जाति हुनेथियो।
16म हारें, जीवनसित म थाकिसकें।
मलाई छोडिदिनुहोस्।
मेरो जीवनको कुनै अर्थ छैन।
17 # भजनसंग्रह 8:4; 144:3 मानिस के हो र? त्‍यसलाई किन तपाईं त्‍यति मुख्‍य ठान्‍नुहुन्‍छ?
किन त्‍यसको कामको ख्‍याल राख्‍नुहुन्‍छ?
18हरेक बिहान तपाईंले त्‍यसको जाँच गर्नुहुन्‍छ
र हरेक क्षण त्‍यसलाई खार्नुहुन्‍छ।
19के एक क्षण पनि तपाईंले मलाई हेर्न छोड्‍नुहुन्‍न?
के मलाई थुक पनि निल्‍न दिनुहुन्‍न?
20मैले पाप गरेको भए पनि तपाईंलाई के हानिभयो?
हे मानिसका रक्षक, किन मलाई तारो हान्‍ने निशाना बनाउनुभयो?
के म तपाईंको लागि यति ठूलो भार भएँ?
21किन तपाईं कहिल्‍यै मेरो पाप क्षमा गर्नुहुन्‍न?
मेरो दुष्‍कर्म माफ दिनुहुन्‍न?
अब चाँडै म मेरो चिहानमा पुग्‍नेछु
अनि तपाईंले खोज्‍नुहुँदा म गइसकेको हुनेछु।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 7: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्