YouVersion लोगो
खोज आइकन

अय्‍यूब 6

6
अय्‍यूब भन्‍दछन्‌:
1-2मेरा दु:ख र कष्‍टहरू तराजुमा जोख्‍न पाए,
3समुद्रका बालुवाभन्दा पनि ती गह्रौं हुनेथिए।
यसैले मेरो रूखो बोलीमा अचम्‍म नमान्‍नुहोला।
4सर्वशक्तिमान् परमेश्‍वरले आफ्‍नो काँड ममा रोप्‍नुभएको छ।
त्‍यसको विष मभित्र छरिएको छ,
मलाई भयभीत पार्ने परमेश्‍वरका डरलाग्‍दा कुराहरू मेरा विरुद्धमा लहरै खडा छन्।
5घाँस खान पाए गधा सन्‍तुष्‍ट हुन्‍छ, पराल खान पाए गोरु चुप लाग्‍छ।
6तर कसले खल्‍लो, अलिनो खाना खान सक्‍छ?
फुलको सेतो भागमा के स्‍वाद हुन्‍छ र?
7त्‍यस्‍तो खाना खाने मलाई रुचि छैन।
यस्‍तो कुराले मलाई बिरामी बनाउँछ।
8मैले मागेका कुरा मलाई परमेश्‍वरले किन दिनुहुन्‍न?
किन मेरा प्रार्थनाको उत्तर उहाँले मलाई दिनुहुन्‍न?
9उहाँले अघि बढेर मलाई मार्नुभए त हुनेथियो!
10त्‍यसो हुँदो हो त जति कष्‍ट भए पनि म आनन्‍दले उफ्रने थिएँ। म जान्‍दछु परमेश्‍वर पवित्र हुनुहुन्‍छ;
मैले कहिल्‍यै परमेश्‍वरको आज्ञाको विरोध गरेको छैनँ।
11ममा अब केही बल छैन, म किन बाँचिरहूँ?
मलाई केहीको आशा छैन, म किन धैर्य धारण गरूँ?
12के म ढुङ्गाले बनेको हुँ?
के मेरो शरीर काँसाको हो?
13आफैंलाई बचाउने बल ममा छैन;
सहायता पाउने उपाय कतै पनि छैन।
14मैले परमेश्‍वरलाई त्‍यागेको पनि वा नत्‍यागे पनि
यस्‍तो दु:खको समयमा मलाई साथ दिने साथी चाहिन्‍छ।
15तर हे मेरा मित्र हो, वर्षा नभएर खहरे खोलाहरू सुकेझैँ
तपाईंहरू मलाई धोका दिनुहुन्‍छ।
16ती खोलाहरूमा हिँउ पग्‍लेर भल आउँछ।
17तर गरमका दिनमा ती खोलाहरू सुकेर हराउँछन्।
अनि खोला बगेका ठाउँ खुल्‍ला र उजाड हुन्‍छन्।
18यात्रीका दलहरू पानी खोज्‍दाखोज्‍दै हराउँछन्।
तिनीहरू उजाड-स्‍थानमा यताउति हिँड्दा-हिँड्दै मरिजान्‍छन्।
19शेबा र तेमाका यात्रीहरूले पानी खोज्‍दछन्।
20तर तिनीहरूका आशा सुख्‍खा खहरे खोलामा पुगेर मर्छ।
21तपाईंहरू मेरो निम्‍ति ती खहरे खोलाझैँ हुनुहुन्‍छ,
मेरो दूर्गति देखेर तपाईंहरू डरले भाग्‍नुहुन्‍छ।
22के मैले तपाईंहरूसँग केही कुरा मागें?
वा मेरो निम्‍ति कसैलाई “घुस दिनुहोस्” भनें?
23वा त कुनै शत्रु वा अत्‍याचारीका हातबाट मलाई बचाउनुहोस् भनें?
24ठीक छ? लौ त मलाई शिक्षा दिनुहोस्;
मलाई मेरो दोष देखाइदिनुहोस्। म चुप लाग्‍नेछु र सुन्‍नेछु।
25सत्‍य कुरा विश्‍वास गर्न सकिन्‍छ।
तर तपाईंहरूका कुराको केही अर्थ नै छैन।
26मेरा कुरा हावा मात्र हुन् भनी तपाईंहरू ठान्‍नुहुन्‍छ भने
किन मेरा ती निराशाका कुराको जवाफ तपाईंहरू दिनुहुन्‍छ?
27टुहुरा कमारा-कमारीको बाजी राखेर तपाईंहरू जुवा खेल्‍नुहुन्‍छ।
नजिकका साथीहरूबाट पनि नाफा खोज्‍नुहुन्‍छ!
28त अब मेरो मुखमा हेर्नुहोस्।
म झूट बोल्‍दिनँ।
29तपाईंहरूले धेरै भन्‍नुभयो।
साह्रै अन्‍याय भयो।
मलाई नदोष्‍याउनुहोस्।
यहाँ मेरो इमानदारीताको पनि प्रश्‍न छ।
30म झूट बोल्‍दैछु भनी तपाईंहरू सोच्‍नुहुन्‍छ।
के मैले साँचो र झूटो ठम्‍याउन सक्‍दिनँ र?

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 6: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्