अय्यूब 33
33
1अब, हे अय्यूब, मेरा सबै कुरा ध्यान दिएर सुन्नुहोस्।
2म मेरो मनको कुरा भन्न तयार छु।
3मेरा सबै शब्दहरू सत्य छन्।
म इमानदारसित बोल्दछु।
4परमेश्वरको आत्माले मलाई बनाउनुभयो,
उहाँको सासले मैले जीवन दान पाएँ।
5सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस्।
मेरो सामुन्ने आफ्नो तर्क पेश गर्नुहोस्।
6परमेश्वरको नजरमा तपाईं र म एउटै हौं।
हामी दुवै माटाले बनेका हौं।
7यसकारण तपाईं मसित डराउनुपर्दैन।
म तपाईंमाथि कुनै दबाब लाउनेछैनँ।
8तपाईंकै मुखले यसो भनेको मैले सुनें,
9“म दोषी छैनँ, मैले केही गल्ती गरेको छैनँ।
म निर्दोष छु, मैले केही पाप गरेको छैनँ।
10तर परमेश्वरले मलाई हमला गर्ने मौका निकाल्नुहुन्छ
र मलाई शत्रुसित झैँ व्यवहार गर्नुहुन्छ।
11 #
अय्यूब 13:27
उहाँले मेरा खुट्टाहरू ठिंगुरोमा ठोक्नुहुन्छ
र मेरो हरेक पाइलामा नजर राख्नुहुन्छ।”
12तर हेर्नुहोस्, अय्यूब, तपाईंले गल्ती गर्दै हुनुहुन्छ।
परमेश्वर कुनै पनि मानिसभन्दा महान् हुनुहुन्छ।
13परमेश्वरले मेरो उजुरको जवाफ दिनुहुन्न भनेर
किन तपाईंले उहाँलाई दोष दिनुहुन्छ?
14परमेश्वर अनेक प्रकारले बोल्नुहुन्छ,
तर मानिसले त्यो बुझ्न ध्यानै दिँदैन।
15 #
अय्यूब 4:13
राती मानिसहरू जब गहिरो निद्रामा परेका हुन्छन्,
परमेश्वर तिनीहरूसित सपना वा दर्शनद्वारा बोल्नुहुन्छ।
16परमेश्वरले तिनीहरूलाई आफ्ना वचन सुनाउनुहुन्छ,
उहाँका चेतावनीहरू पाएर तिनीहरू डराउँछन्।
17मानिसहरूलाई आफ्नो दुष्कर्म छोड्न लाउनलाई
र अहङ्कारी हुनदेखि रोक्नलाई परमेश्वर तिनीहरूसित बोल्नुहुन्छ।
18परमेश्वरले तिनीहरूलाई नाश भएर जान दिनुहुन्न
र मृत्युबाट जोगाउनुहुन्छ।
19रोग पठाएर र शरीरमा एकोहोरो पीडा दिएर
परमेश्वरले मानिसलाई शिक्षा दिनुहुन्छ।
20बिरामीको भोक हराउँछ
र मीठोभन्दा पनि मीठो भोजन उसलाई रुच्दैन।
21उसको शरीर दुब्लाएर सिट्ठा हुन्छ
र उसका सबै हाडहरू देखिन्छन्।
22ऊ मर्न लागेको हुन्छ,
चिहानको नजिक पुगिसकेको हुन्छ।
23सायद उसलाई बचाउने हजारौं स्वर्गदूतमध्ये एउटा होलान्।
उनैले मानिसलाई के ठीक छ, सो बुझाउलान्।
24अनुग्रह गरी उनले भन्छन्, “त्यसलाई छोडिदेऊ; त्यो मर्नुपर्दैन।
त्यसको छुटकाराको निम्ति तिर्नुपर्ने दाम यहाँ छ।”
25तब ऊ फेरि आफ्नो जवानीको दिनमा झैँ जवान र बलियो हुनेछ।
26तब उसले परमेश्वरलाई प्रार्थना गर्नेछ र उहाँले जवाफ दिनुहुन्छ।
आनन्दसाथ उसले परमेश्वरको आराधना गर्दछ
र उहाँले उसलाई फेरि सिद्ध गराउनुहुन्छ।
27सबैका अघि गएर उसले भन्छ,
“मैले पाप गरेको छु, ठीक काम गरेको छैनँ,
तर परमेश्वरले मसित बदला लिनुभएन।
28उहाँले मलाई मृत्युबाट बचाउनुभयो
र म अझै जिउँदो छु।”
29परमेश्वरले यी सबै थोक बारम्बार गर्नुहुन्छ।
30उहाँले मानिसको प्राण बचाउनुहुन्छ,
उसलाई जीवनको पूरा आनन्द दिनुहुन्छ।
31अब अय्यूब, मैले के भन्दै छु, सुन्नुहोस्,
तपाईं चुप लाग्नुहोस् र मलाई बोल्न दिनुहोस्।
32यदि तपाईंले केही भन्नु छ भने सुनाउनुहोस्,
यदि तपाईं ठीक हुनुहुन्छ भने म स्वीकार गर्नेछु।
33नत्र तपाईं चुप लाग्नुहोस् र मेरो कुरा सुन्नुहोस्,
म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 33: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.