YouVersion लोगो
खोज आइकन

अय्‍यूब 32

32
एलीहूको भाषण
(३२:१—३७:२४)
1म निर्दोष छु भन्‍ने कुरामा अय्‍यूब अटल थिए त्‍यसकारण ती तीन व्‍यक्तिहरूले उनलाई जवाफ दिन छोडे। 2तर छेउमा नै उभिरहेका एलीहूले अरू रिस थाम्‍न सकेनन् किनभने अय्‍यूबले परमेश्‍वरलाई भन्दा आफूलाई सत्‍य छु भनेर प्रमाण दिन खोज्‍थे। (एलीहू राम गोत्रका बुजका सन्‍तान बारकेलका छोरा थिए।) 3उनी अय्‍यूबका तीन मित्रहरूसित पनि रिसाए। तिनीहरूले अय्‍यूबलाई दोषी ठहराए पनि उनलाई जवाफ दिन केही कुरो पाउँदैनथे। 4एलीहू सबैभन्दा कान्‍छो थिए। त्‍यसैले ती तीन भाइहरू बोलिनसकेसम्‍म उनी चुप थिए। 5ती तीन जनाले अय्‍यूबलाई केही उत्तर दिन नसकेका देखेर एलीहू रिसाए। 6अनि भन्‍न लागे;
एलीहू:
म उमेरमा सानो छु, तपाईंहरू पाको हुनुहुन्‍छ,
त्‍यसैले तपाईंको अघि मेरो विचार प्रकट गर्न अप्‍ठ्यारो लागेको छ।
7मैले विचार गरें कि तपाईं बुढापाकाहरू नै कुरा गर्नुहोस्
र ज्ञानका कुरा प्रकट गर्नुहोस्।
8तर वास्‍तवमा सर्वशक्तिमान् परमेश्‍वरको आत्‍मा मानिसमा आउनुहुन्‍छ,
र उसलाई बुद्धि दिनुहुन्‍छ।
9उमेर छिप्‍पियो भन्‍दैमा मानिसको बुद्धि छिपिंदैन,
ठीक कुरा बुझ्‍ने बुढाहरू मात्र हुँदैनन्
10र अब तपाईंहरू सुन्‍नुहोस्।
म आफ्‍नो विचार तपाईंहरूलाई सुनाउँछु।
11मैले चुप लागेर तपाईंहरूका कुरा सुनिरहें,
तपाईंहरूले ज्ञानका शब्‍द खोज्‍नुहुँदा म पर्खिरहें।
12मैले खुब ध्‍यान दिएर सुनें।
तपाईंहरूको जवाफ काम लागेन।
अय्‍यूबका कुरा तपाईंहरू कसैले काट्‍न सक्‍नुभएन।
13हामीले बुद्धि पाएका छौं भनेर नभन्‍नुहोस्।
परमेश्‍वरले नै अय्‍यूबलाई जवाफ दिनुहुनेछ किनभने तपाईंहरूले जवाफ दिन सक्‍नुभएन।
14अय्‍यूब तपाईंहरूसित कुरा गर्दै थिए, मसित होइन,
तर म उनलाई तपाईंहरूले जस्‍तो जवाफ दिनेथिइनँ।
15अय्‍यूब हेर्नुहोस्, यिनीहरूले अब शब्‍द पाएनन्,
तपाईंलाई यिनीहरूले केही जवाफ दिन सक्‍दैनन्।
16के म त्‍यसै पर्खिबसूँ?
अब उहाँहरू चुप हुनुहुन्‍छ, बिनाउत्तर खडा हुनुहुन्‍छ।
17होइन, अब म मेरो आफ्‍नै जवाफ दिनेछु,
मेरो विचार तपाईंहरूलाई भन्‍नेछु।
18म अब नबोलिरहन सक्‍दिनँ,
मेरो ओठमा जवाफ आइसकेको छ।
19म बोलिनँ भने
नयाँ मद्यले भरेको छालाको थैला फुटेझैँ म फुट्‍नेछु।
20अब म थाम्‍न सक्‍दिनँ,
मनलाई शान्‍ति पाउनलाई म बोल्‍नैपर्छ।
21यसमा म कसैको पक्ष लिनेछैनँ,
म कसैको चाप्‍लुसी लाउन जान्‍दिनँ।
22म चाप्‍लुसी लाउन जान्‍दिनँ,
त्‍यसो गरेमा परमेश्‍वरले मलाई चाँडै दण्‍ड दिनुहुनेछ।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 32: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्