अय्यूब 2
2
शैतानले दोस्रोपल्ट अय्यूबको परीक्षा गर्छ
1स्वर्गीय जनहरू फेरि परमप्रभुको अघि उपस्थित हुने दिनमा शैतान त्यहाँ हाजिर भयो। 2परमप्रभुले त्यसलाई सोध्नुभयो, “तँ कहाँ गएको थिइस्?”
शैतानले उत्तर दियो, “म पृथ्वीमा चारैतिर यताउता घुमफिर गर्दै थिएँ।”
3परमप्रभुले सोध्नुभयो, “के मेरो सेवक अय्यूबलाई देखिस्? पृथ्वीमा त्योजस्तो सोझो र असल मानिस कोही छैन। त्यसले मलाई पुज्दछ र खराब कामबाट होशियारसाथ जोगिएर बस्छ। बिनाकारण त्यसमाथि आक्रमण गर्न तैँले मसँग अनुमति मागिस्। तर अय्यूब अझसम्म विश्वासयोग्य रहेको छ।”
4शैतानले जवाफ दियो, “आफ्नो ज्यान बचाउनलाई मानिसले आफ्ना हातका सबै थोक दिन्छ। 5तर उसको शरीरमा चोट पुर्याउनुहोस्। उसले तपाईंको मुखकै सामुन्ने तपाईंलाई सराप्नेछ!”
6यसर्थ परमप्रभुले शैतानलाई यसो भन्नुभयो, “ठीक छ, त्यो तेरो हातमा छ। खालि त्यसको ज्यानचाहिँ तैँले नलिनू।”
7शैतान परमप्रभुको सामुबाट बिदा भयो। त्यसले अय्यूबको शरीरमा शिरदेखि पैतालासम्म घाउ-खटिरा उब्जाइदियो। 8अय्यूब गएर खरानीको रासमा बसे र घाउ कन्याउन एउटा माटोको भाँडोको फुटेको टुक्रा हातमा लिए। 9उनकी स्वास्नीले उनलाई भनिन्, “तपाईं अझै पहिलाजस्तै विश्वासयोग्य रहनुभएको छ, होइन? किन परमेश्वरलाई सराप दिएर मर्नुहुन्न?” 10अय्यूबले जवाफ दिए, “तिमी मूर्ख कुरा गर्दछ्यौ, के हामीले परमेश्वरबाट असल कुरा मात्र थाप्ने र दु:खको कुरा नथाप्ने?” जस्तै दु:ख पाए पनि अय्यूबले परमेश्वरको विरुद्धमा केही बोलेनन्।
अय्यूबका साथीहरू आउँछन्
11अय्यूबका तीन जना मित्रहरू थिए, तेमान सहरका एलीपज, शुही देशका बिल्दद र नामा देशका सोपर। अय्यूबलाई परेको विपत्तिहरूबारे सुनेपछि तिनीहरू गई उनलाई सान्त्वना दिने सल्लाह गरे। 12धेरै टाढाबाट नै तिनीहरूले अय्यूबलाई देखे तर चिन्न सकेनन्। अय्यूबलाई चिनेपछि तिनीहरू रुन र विलाप गर्न लागे र शोकले आफ्ना लुगा च्याते र टाउकोमाथि आकाशतिर धुलो छरे। 13अय्यूबले कति दु:ख पाएका थिए, सो तिनीहरूले देखे। त्यसकारण तिनीहरू अय्यूबसँगै भूइँमा बसे र एक शब्द नबोली सात दिन र सात रात बिताए।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 2: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.