अय्यूब 1
1
शैतानले अय्यूबको परीक्षा गर्छ
1ऊज देशमा अय्यूब नाम गरेका एक जना मानिस थिए। उनले परमेश्वरलाई पुज्दथे र उहाँप्रति विश्वासयोग्य थिए। उनी असल मानिस थिए र खराब काम गर्नबाट जोगिन्थे। 2उनका सात छोराहरू र तीन छोरीहरू थिए। 3उनका सात हजार भेडा र तीन हजार ऊँट, एक हजार गाई-वस्तु, पाँच सय गधाहरू थिए। उनका धेरै नोकर-चाकरहरू थिए। पूर्वका मानिसहरूमध्ये उनी सबैभन्दा धनी थिए।
4अय्यूबका छोराहरू मिलेर पालैपालो भोज दिने गरेका थिए। ती भोजमा सबै जना आउँथे। तिनीहरूले आफ्ना तीन बहिनीहरूलाई पनि भोजमा बोलाउँथे। 5भोज भएको भोलिपल्ट अय्यूब बिहानै उठ्थे र आफ्ना प्रत्येक छोरा-छोरीका नाउँमा होमबलि चढाउँथे। उनले त्यसरी आफ्ना सन्तानलाई चोख्याउने गर्थे। सायद कोही छोरा वा छोरीले अनजानमा परमेश्वरको अपमान गरेर पाप पो गरिहाल्यो कि भनी उनले त्यसो गर्ने गर्थे।
6 #
उत्पत्ति 6:2
स्वर्गीय जनहरू परमप्रभुको सामु उपस्थित हुने दिनमा शैतान पनि त्यहाँ पुग्यो। 7परमप्रभुले त्यसलाई सोध्नुभयो, “तँ के गर्दै थिइस्?”
शैतानले उत्तर दियो, “पृथ्वीमा चारैतिर यताउति घुमफिर गर्दै थिएँ।”
8परमेश्वरले सोध्नुभयो, “के तैँले मेरो सेवक अय्यूबलाई देखिस्? पृथ्वीमा त्योजस्तो सोझो र असल मानिस कोही छैन। त्यसले मलाई पुज्दछ र खराब कामबाट होशियारसाथ जोगिएर बस्दछ।”
9 #
प्रकाश 12:10
शैतानले जवाफ दियो, “के त्यसलाई खास लाभ नभए अय्यूबले तपाईंलाई पुज्दथ्यो र? 10सधैँ तपाईंले त्यसका जहान परिवार र धन-सम्पत्तिको रक्षा गर्नुभएको छ। त्यसका सबै काममा तपाईंले आशीर्वाद दिनुहुन्छ र सारा देश भरिने गरी त्यसलाई गाई-वस्तु दिनुभएको छ। 11तर त्यसका सबै चीज खोस्नुहोस् त, त्यसले तपाईंको मुखकै सामुन्ने सराप्नेछ!”
12परमप्रभुले त्यसलाई भन्नुभयो, “ठीक छ। त्यसका सबै थोक तेरो अधिकारमा दिएँ। खालि त्यसको जिउलाई चाहिँ तैँले हात नलगाउनू।” शैतान त्यहाँबाट निस्क्यो।
अय्यूबका छोरा-छोरी र धन-सम्पत्ति नाश हुन्छन्
13एक दिन अय्यूबका छोरा-छोरीहरू आफ्नो जेठा दाइको घरमा भोजमा बसेका थिए। 14एक जना मानिस यस्तो खबर लिएर अय्यूबकहाँ दगुरेर आयो, “हामी गोरुहरू जोतिरहेका थियौं, छेउमा गधाहरू पनि चरिरहेका थिए। 15अचानक शबीहरूले हमला गरे र ती पशुहरू लगे। अरू सबै तपाईंका नोकरहरूलाई मारे। म मात्र भागेर तपाईंलाई खबर दिन आइपुगें।”
16त्यसले बोल्दाबोल्दै अर्को नोकर आएर भन्यो, “भेडा र गोठालाहरूलाई चट्याङ्गले मार्यो। तपाईंलाई खबर दिन म मात्र बाँचेर आएँ।”
17त्यसले भनिनसक्दै अर्को नोकर आएर भन्यो, “तीन दल कल्दी छापामारहरूले हामीमाथि हमला गरे र ऊँटहरू लुटेर लगे। मबाहेक अरू सबै तपाईंका नोकरहरूलाई तिनीहरूले मारे। तपाईंलाई खबर दिन बाँचेर आउने म मात्र भएँ।”
18त्यो पनि बोल्दै नै थियो, अर्को नोकर आएर भन्न लाग्यो, “तपाईंका छोरा-छोरीहरूले जेठा दाजुको घरमा खानपान गर्दै थिए। 19त्यस बेला मरुभूमिबाट आँधी-बेहरी आयो र घरै भत्काइदियो र तपाईंका छोरा-छोरीहरू सबै मरे। तपाईंलाई खबर दिन म मात्र बाँचें।”
20ती सबै सुनेपछि अय्यूब उभिए र शोकले आफ्नो वस्त्र च्याते। तिनले आफ्ना कपाल खौरे र भूइँमा घोप्टो परे। 21उनले भने, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो र परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्!” 22यी सबै भए पनि अय्यूबले परमेश्वरलाई दोष दिएर पाप गरेनन्।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 1: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.