YouVersion लोगो
खोज आइकन

अय्‍यूब 16:1-21

अय्‍यूब 16:1-21 सरल नेपाली

यस्‍ता कुरा त मैले अघि पनि सुनेको हुँ, तपाईंहरूले सान्‍त्‍वनाको बदलामा मलाई सहन नसक्‍ने पीडा दिनुहुन्‍छ। के यी हावाका कुराको अन्‍त छैन? के तपाईंहरूले आफ्‍नै कुरा मात्र माथि पार्ने? यदि तपाईंहरू र मैले ठाउँ साटासाट गर्न पाएदेखि तपाईंहरूले भनेका कुरा म पनि भन्‍न सक्‍थें। म पनि टाउको हल्‍लाई-हल्‍लाई शब्‍दको भेल तपाईंहरूमाथि छोडिदिनेथिएँ। तर त्‍यसो होइन, मैले त साहसको सल्‍लाह दिनेथिएँ, र चुपचाप सहानुभूति जगाउनेथिएँ। बोल्‍दा होस् वा चुप लाग्‍दा होस्, मेरो पीडा कहिल्‍यै पनि शान्‍त हुँदैन। हे परमेश्‍वर, तपाईंले मलाई थकाइ सक्‍नुभयो, मेरो घर-परिवार नाश गरिदिनुभयो। तपाईंले मलाई पक्रनुभयो; तपाईं मेरो शत्रु बन्‍नुभएको छ। म हाड र छाला मात्र भएको छु र यसैलाई मानिसहरू मेरो दोषको प्रमाण ठान्‍छन्। क्रोधमा परमेश्‍वरले मलाई च्‍यातचुत पार्नुहुन्‍छ, उहाँले मलाई घृणाको दृष्‍टिले हेर्नुहुन्‍छ। मानिसहरू मेरो गिल्‍ला गरेर हाँस्‍छन्। मेरो विरुद्धमा भीड लागेर तिनीहरूले मलाई थप्‍पड लाउँछन्। परमेश्‍वरले मलाई दुष्‍टहरूका हातमा छोडिदिनुभएको छ। म त आराममा बसेको थिएँ, तर उहाँले मेरो गला अँठ्याउनुभयो; मलाई पिट्‍नुभयो र धुलो-पिठो पार्नुभयो र मलाई निशाना बनाउनुभयो। चारैपट्टिबाट उहाँका काँडले मलाई रोपेर घाइते बनाउँछ। अनि मेरो भुँडी छेडिएर पित्त छरिए पनि उहाँले ममाथि केही दया देखाउनुहुन्‍न। बारम्‍बार उहाँले मलाई घाइते बनाउनुहुन्‍छ। घृणाले पागल भएको योद्धाले झैँ उहाँले मलाई हमला गर्नुहुन्‍छ। म अफसोस गर्दछु र भाङ्‌ग्रा ओढ्दछु, र हार मानेर धुलोमा बस्‍दछु। रुँदा-रुँदा मेरा गाला राता भएका छन्। मेरा आँखा सुनिएर चारैपट्टि कालो भएको छ। तरै पनि मैले हिँसा गरेको छैनँ र परमेश्‍वरकहाँ मेरो प्रार्थना निष्‍कपट छ। हे पृथ्‍वी, ममाथिको कुकर्मलाई नढाक! न्‍यायको लागि मेरो पुकार चुप नपारियोस्! मेरो गवाही स्‍वर्गमा हुनुहुन्‍छ, उहाँ मेरो पक्षमा बोल्‍नुहुनेछ। मेरा साथीहरूले मेरो गिल्‍ला गर्छन्, परमेश्‍वरको अघि मेरा आँखाबाट आँसु बग्‍छ। मानिसले आफ्‍नो साथीको पक्षमा बिन्‍ती गरेझैँ परमेश्‍वरसित मेरो पक्षमा बचाउको निम्‍ति कसैले बहस गरिदेओस् भनी म चाहन्‍छु।

अय्‍यूब 16 पढ्नुहोस्