YouVersion लोगो
खोज आइकन

अय्‍यूब 16:1-21

अय्‍यूब 16:1-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब अय्‍यूबले जवाफ दिए: मैले यस्‍ता कुरा धेरै सुनेको छु, तपाईंहरू त सबै व्‍यर्थका सान्‍त्‍वना दिनेहरू मात्र हुनुहुन्‍छ, के तपाईंहरूका वाहियात कुराको अन्‍त हुनेछैन? केले तपाईंलाई झिँझ्‍याउछ र तपाईं निरन्‍तर वहस गरिरहनुहुन्‍छ? यदि तपाईंहरू र मैले आफ्‍नो स्‍थान साटासाट गरेको भए त म तपाईंहरूजस्‍तै बोल्‍न सक्‍नेथिएँ, तपाईंहरूका विरुद्धमा राम्रा-राम्रा भाषण दिन सक्‍थें, म मेरो औँला तपाईंहरूलाई ठड्याउनेथिएँ! तर तपाईंहरूलाई उत्‍साह दिन म साहसको वचन बोल्‍नेथिएँ तब मेरो सहानुभूतिले तपाईंलाई शान्‍ति मिल्‍नेथियो। “तर पनि म बोलें भने मेरो पीड़ा कम हुँदैन, म चूप लागें भने पनि मेरो कष्‍टले मलाई छोड्‌नेछैन। हे परमेश्‍वर, तपाईंले मलाई व्‍याकुल पार्नुभएको छ, तपाईंले मेरो परिवारलाई सखाप पार्नुभएको छ। तपाईंले मलाई बाँध्‍नुभएको छ, र यो कुरा साक्षी भएको छ। म हड्डी र छाला भएको छु, यसैले मेरो विरुद्धमा साक्षी दिन्‍छ। क्रोधमा परमेश्‍वरले मलाई छिन्‍नभिन्‍न पार्नुहुन्‍छ, र मेरो विरुद्ध दारा किट्‌नुहुन्‍छ। मेरा शत्रुले मलाई तर्केर हेर्नुहुन्‍छ। मानिसहरू मेरो गिल्‍ला गर्छन्, तिनीहरू मलाई थप्‍पड़ लाउँछन्, तिनीहरू मेरा चारैतिर मेरो विरुद्धमा एक हुन्‍छन्‌। परमेश्‍वरले मलाई कुकर्मीहरूका हातमा छोड़िदिनुभएको छ, र दुष्‍ट मानिसहरूका हातमा फालिदिनुभएको छ। म ता आराममा बसिरहेको थिएँ, तर उहाँले ममाथि आक्रमण गरेर लुछ्‌नुभयो। उहाँले मलाई घिच्रोमा अँठ्याएर धुजा पार्नुभयो, उहाँले मलाई आफ्‍नो तारो बनाउनुभएको छ। उहाँका धनुर्धारीहरू मेरा चारैतिर छन्, निर्दयतापूर्वक उहाँले मेरो मिर्गौला छेड्‌नुभयो। उहाँले मेरो पित्त भूइँमा पोखाउनुभयो। बारम्‍बार उहाँ ममाथि आइलाग्‍नुहुन्‍छ एक लड़ाकू मानिसझैँ उहाँ ममाथि आइलाग्‍नुभयो। “मेरो शरीर ढाक्‍नलाई मैले भाङ्‌ग्रा सिएँ, मैले आफ्‍नो निधार धूलोमा गाड़ेँ। रुँदा-रुँदा मेरा गालाहरू राता भएका छन्, मेरा आँखाका चारैतिर कालो भएको छ। तापनि मेरा हात उपद्रवमा लागेका छैनन्, अनि मेरो प्रार्थना साँचो छ। “हे पृथ्‍वी, मेरो रगतलाई नढाक्‌, अनि मेरो पुकारा कहिल्‍यै नथामिओस्‌! किनभने अहिले, मेरा गवाही ता स्‍वर्गमा हुनुहुन्‍छ, मेरो निम्‍ति जवाफ दिनलाई उच्‍चमा एउटा वकील तयारी हुनुहुन्‍छ। मेरा मध्‍यस्‍थ मेरा साथी हुनुहुन्‍छ, जसै मेरा आँखाले परमेश्‍वरको अघि आँसु बगाउँछ, मानिसको निम्‍ति परमेश्‍वरसित तिनी बिन्‍ती गर्छन्, जसरी मानिसले आफ्‍नो साथीको निम्‍ति बिन्‍ती गर्दछ

शेयर गर्नुहोस्
अय्‍यूब 16 पढ्नुहोस्

अय्‍यूब 16:1-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब इयोबले जवाफ दिए: “मैले यस्ता धेरै कुराहरू सुनेको छु; तपाईंहरू सबै दुःखको सान्त्वना दिनेहरू हुनुहुन्छ! तपाईंहरूको वाहियात भाषणहरूको अन्त्य कहिल्यै हुँदैन? के कुराले गर्दा तपाईंहरू बहस गरिरहनुहुन्छ? यदि तपाईंहरू मेरो ठाउँमा हुनुभएको भए, म पनि तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ, म तपाईंहरूको विरुद्धमा असल भाषण दिन सक्नेथिएँ; र तपाईंहरूको विरुद्धमा आफ्नो टाउको हल्‍लाउँदै हाँसो उडाउने थिएँ। तर मेरो मुखले तपाईंहरूलाई हौसला दिन्थ्यो; मेरा ओठको सान्त्वनाले तपाईंहरूलाई आराम दिने थियो। “मैले बोले तापनि मेरो दुःख कम हुँदैन; र म नबोल्दा पनि मेरो पीडा घट्दैन। साँच्‍चै नै परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ; तपाईंले मेरो पूरै परिवारलाई उजाड पार्नुभएको छ। तपाईंले मलाई हाड र छाला मात्र बनाउनुभएको छ, र यो मेरो विरुद्ध एउटा साक्षी भएको छ; म दुब्लो र पातलो भएको कारणले, र यसले मेरो विरुद्ध साक्षी दिन्छ। परमेश्‍वरले आफ्नो क्रोधमा मलाई छिन्‍नभिन्‍न पार्नुहुन्छ र घृणा गर्नुहुन्छ; र उहाँले मेरो विरुद्धमा दाह्रा किट्नुहुन्छ; मेरो शत्रुले मलाई आँखा तरेर हेर्छ। मानिसहरूले मलाई जिस्काउन आफ्ना मुख खोल्छन्; तिनीहरूले मलाई खिसी गर्दै मेरो गालामा हिर्काउँछन्, र मेरो विरुद्धमा एकमत हुन्छन्। परमेश्‍वरले मलाई अधर्मीहरूका हातमा सुम्पिदिनुभएको छ, र मलाई दुष्‍टहरूका पासोमा फ्याँकिदिनुभएको छ। सबै कुरा मसँग ठिकठाक थियो, तर उहाँले मलाई चकनाचुर पार्नुभएको छ; उहाँले मलाई गर्दनमा पक्रनुभयो र चुर-चुर पार्नुभयो। उहाँले मलाई आफ्नो निशाना बनाउनुभएको छ; उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेरेका छन्। उहाँले दया नदेखाई मेरा मिर्गौलाहरू छेड्नुहुन्छ, र मेरो पित्त भुइँमा पोखाउनुहुन्छ। उहाँ पटक-पटक ममाथि आइलाग्नुहुन्छ; उहाँ एक योद्धाझैँ मलाई झम्टिनुहुन्छ। “मैले मेरो छालामाथि भाङ्ग्रा सिलाएको छु, र मैले मेरो सम्मान धुलोमा गाडेको छु। रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ, मेरो आँखाको वरिपरि कालो छायाले घेरेको छ; तापनि मेरा हातहरूले हिंसा गरेका छैनन्, र मेरो प्रार्थना शुद्ध छ। “हे पृथ्वी, मेरो रगतलाई नछोप्; मेरो रोदनले कहिल्यै विश्राम नपाओस्! अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ; मेरो अधिवक्ता उच्‍चमा हुनुहुन्छ। मेरा आँखाले परमेश्‍वरको सामु धरधरी आँसु झार्दा मेरो मध्यस्थ मेरा मित्र हुन्छन्; एक व्यक्तिले मित्रको पक्षमा बिन्ती गरेझैँ, उसले मानिसको पक्षबाट परमेश्‍वरसँग बिन्ती गर्दछ।

शेयर गर्नुहोस्
अय्‍यूब 16 पढ्नुहोस्

अय्‍यूब 16:1-21 पवित्र बाइबल (NERV)

तब अय्यूबले जवाफ दिए, “मैले पहिलाबाट यी कुराहरू सुनेको हुँ। तिमीहरू तीनजनाले मलाई दुःख दिइरहेकाछौ, सान्तवना होइन। तिमीहरूका लामा भाषणहरू कहिले सिद्धिने होइनन्। किन तिमीहरूको तर्कहरू तन्काई रहन्छौ? तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें यदि तिमीहरूसँग मेरो जस्तै सङ्कटहरू भए। म तिमीहरूलाई ज्ञानी कुराहरू सुनाउन सक्थें अनि मेरो टाउको तिमीहरूतिर हल्लाउथें। तर म तिमीलाई उत्साह दिउँला, अनि मैले भनेका कुराहरूसँग आशा जगाई दिउँला। “मैले जे भने पनि मेरो पीडा केहीबाट हरण हुने छैन, तर चुपचाप बसिरहनु पनि लाभ छैन। हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो। तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो। तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो, अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ। “परमेश्वर क्रोधित हुनुभयो, अनि मेरो शरीरलाई एउटा सिंहले झैं आक्रमण गर्नु भयो। मेरो शरीर टुक्रा-टुक्रा पारी च्यात्नु भयो। अनि मेरो शत्रुहरूले मलाई तिनीहरूको घृणित नजरले हेरे। मानिसहरूले मेरो वरिपरि थुप्रेर, तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए। परमेश्वरले मलाई दुष्ट मानिसहरूकहाँ दिनु भयो। मलाई दुःख दिओस् भनेर उहाँले कुकर्मीहरूलाई छोडी दिनुभयो। जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो। तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो र मलाई उहाँको तारोको रूपमा प्रयोग गर्नुभयो। परमेश्वरका धनुर्धारीहरू मेरो वरिपरि छन्। उहाँले मेरो मिर्गौलामा काँढले हान्नु भयो। उहाँले ममाथि दया देखाउनु भएन उहाँले मेरो पित्त भुईंमा फुटाउनु भयो। घरिघरि परमेश्वरले मलाई आक्रमण गर्नुहुन्छ। उहाँ एक सिपाही युद्धभूमिमा दौडे जस्तो दौड्नु हुन्छ। “म अत्यन्त उदास छु, यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु। म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु, अनि म पराजित भएको ठान्छु। रूँदा-रूँदा मेरो अनुहार रातो भइसक्यो। मेरो आँखा वरिपरि कालो गोलो रेखाहरू छन्। मैले कसैलाई नोक्सान गरेको छैन। तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो। मेरा प्रार्थनाहरू उचित र चोखा छन्। “पृथ्वी, गल्ती कुराहरू नलुकाऊ जुन ममाथि आइपर्यो। मेरो न्यायको पुकारलाई नरोक। अहिले पनि त्यहाँ स्वर्गमा कोही छ जो मसँग बोल्नु हुन्छ। त्यहाँ माथि कोही त छ जसले मेरो लागि साक्षी दिनेछ। मेरो साथीहरूले मलाई हप्काउँछ। मेरा आँखहरूबाट परमेश्वरका निम्ति आँशु बग्छ। तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि न्याय गरिदिने मानिसले झैं बोलिदिन्छ।

शेयर गर्नुहोस्
अय्‍यूब 16 पढ्नुहोस्

अय्‍यूब 16:1-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यस्‍ता कुरा त मैले अघि पनि सुनेको हुँ, तपाईंहरूले सान्‍त्‍वनाको बदलामा मलाई सहन नसक्‍ने पीडा दिनुहुन्‍छ। के यी हावाका कुराको अन्‍त छैन? के तपाईंहरूले आफ्‍नै कुरा मात्र माथि पार्ने? यदि तपाईंहरू र मैले ठाउँ साटासाट गर्न पाएदेखि तपाईंहरूले भनेका कुरा म पनि भन्‍न सक्‍थें। म पनि टाउको हल्‍लाई-हल्‍लाई शब्‍दको भेल तपाईंहरूमाथि छोडिदिनेथिएँ। तर त्‍यसो होइन, मैले त साहसको सल्‍लाह दिनेथिएँ, र चुपचाप सहानुभूति जगाउनेथिएँ। बोल्‍दा होस् वा चुप लाग्‍दा होस्, मेरो पीडा कहिल्‍यै पनि शान्‍त हुँदैन। हे परमेश्‍वर, तपाईंले मलाई थकाइ सक्‍नुभयो, मेरो घर-परिवार नाश गरिदिनुभयो। तपाईंले मलाई पक्रनुभयो; तपाईं मेरो शत्रु बन्‍नुभएको छ। म हाड र छाला मात्र भएको छु र यसैलाई मानिसहरू मेरो दोषको प्रमाण ठान्‍छन्। क्रोधमा परमेश्‍वरले मलाई च्‍यातचुत पार्नुहुन्‍छ, उहाँले मलाई घृणाको दृष्‍टिले हेर्नुहुन्‍छ। मानिसहरू मेरो गिल्‍ला गरेर हाँस्‍छन्। मेरो विरुद्धमा भीड लागेर तिनीहरूले मलाई थप्‍पड लाउँछन्। परमेश्‍वरले मलाई दुष्‍टहरूका हातमा छोडिदिनुभएको छ। म त आराममा बसेको थिएँ, तर उहाँले मेरो गला अँठ्याउनुभयो; मलाई पिट्‍नुभयो र धुलो-पिठो पार्नुभयो र मलाई निशाना बनाउनुभयो। चारैपट्टिबाट उहाँका काँडले मलाई रोपेर घाइते बनाउँछ। अनि मेरो भुँडी छेडिएर पित्त छरिए पनि उहाँले ममाथि केही दया देखाउनुहुन्‍न। बारम्‍बार उहाँले मलाई घाइते बनाउनुहुन्‍छ। घृणाले पागल भएको योद्धाले झैँ उहाँले मलाई हमला गर्नुहुन्‍छ। म अफसोस गर्दछु र भाङ्‌ग्रा ओढ्दछु, र हार मानेर धुलोमा बस्‍दछु। रुँदा-रुँदा मेरा गाला राता भएका छन्। मेरा आँखा सुनिएर चारैपट्टि कालो भएको छ। तरै पनि मैले हिँसा गरेको छैनँ र परमेश्‍वरकहाँ मेरो प्रार्थना निष्‍कपट छ। हे पृथ्‍वी, ममाथिको कुकर्मलाई नढाक! न्‍यायको लागि मेरो पुकार चुप नपारियोस्! मेरो गवाही स्‍वर्गमा हुनुहुन्‍छ, उहाँ मेरो पक्षमा बोल्‍नुहुनेछ। मेरा साथीहरूले मेरो गिल्‍ला गर्छन्, परमेश्‍वरको अघि मेरा आँखाबाट आँसु बग्‍छ। मानिसले आफ्‍नो साथीको पक्षमा बिन्‍ती गरेझैँ परमेश्‍वरसित मेरो पक्षमा बचाउको निम्‍ति कसैले बहस गरिदेओस् भनी म चाहन्‍छु।

शेयर गर्नुहोस्
अय्‍यूब 16 पढ्नुहोस्