यर्मिया 42:1-12

यर्मिया 42:1-12 सरल नेपाली

तब सबै फौजका कप्‍तानहरू, कारेहका छोरा योहानान र होशयाहका छोरा अजर्याहसमेत सबै दर्जाका मानिसहरूका साथमा मकहाँ आएर भने, “कृपा गरी हाम्रो बिन्‍तीअनुसार गर्नुहोस्। हाम्रा निम्‍ति परमप्रभु हाम्रा परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्। हामी बाँचेकाहरूका निम्‍ति प्रार्थना गरिदिनुहोस्। एक समयमा हामी धेरै थियौं तर अब थोरै मात्र बाँकी रहेका छौं, त्‍यो तपाईंले देख्‍दै हुनुहुन्‍छ। हामी कुन बाटो जानुपर्छ र के गर्नुपर्छ, सो हामीलाई परमप्रभु हाम्रा परमेश्‍वरले देखाइदिऊन् भनी प्रार्थना गरिदिनुहोस्।” मैले उत्तर दिएँ, “हुन्‍छ, तपाईंहरूले भनेअनुसार म परमप्रभु हाम्रा परमेश्‍वरसित प्रार्थना गर्नेछु र उहाँले जे उत्तर दिनुहुन्‍छ, त्‍यो तपाईंहरूलाई बताउनेछु। म तपाईंहरूबाट केही लुकाउनेछैनँ।” तब तिनीहरूले मलाई भने, “परमप्रभु हाम्रा परमेश्‍वरले हाम्रा निम्‍ति जुन आज्ञाहरू तपाईंद्वारा दिनुहुनेछ, ती हामीले पालन गरेनौं भने उहाँ नै हाम्रा विरुद्धमा साँचो र विश्‍वासयोग्‍य साक्षी होऊन्। हामीहरूलाई खुसी लागोस् वा नलागोस्, हामी परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञा मान्‍नेछौं। उहाँसित प्रार्थना गरिदिनुहोस् भनी हामी तपाईंलाई बिन्‍ती गर्दै छौं। उहाँको आज्ञापालन गर्नमा नै हाम्रो भलाइ छ।” दश दिनपछि परमप्रभु मसित बोल्‍नुभयो र मैले योहानान, उनीसित रहेका फौजका कप्‍तानहरू र अरू मानिसहरूलाई बोलाएर एकसाथ जम्‍मा गरें। मैले तिनीहरूलाई भनें, “तपाईंहरूले मलाई परमप्रभु इस्राएलका परमेश्‍वरकहाँ बिन्‍ती चढाइदिन भन्‍नुभएको थियो। अब उहाँले यसो भन्‍नुभएको छ, ‘तिमीहरू यसै देशमा बसोबास गर्न राजी छौ भने म तिमीहरूलाई बनाउनेछु तर भत्‍काउनेछैनँ। म तिमीहरूलाई रोपिराख्‍नेछु तर उखेल्‍नेछैनँ। तिमीहरूमाथि मैले ल्‍याएको विनाशले मलाई ठूलो कष्‍ट दिएको छ। बेबिलोनका राजाको डर मान्‍न छोड। म तिमीहरूका साथमा छु र तिमीहरूलाई त्‍यसका शक्तिबाट उद्धार गर्नेछु। म कृपालु छु, यसकारण म त्‍यसलाई तिमीहरूमाथि कृपा गर्न लाउनेछु। तिमीहरूलाई स्‍वदेश फर्की जान दिन लाउनेछु। म परमप्रभु बोलेको छु।’

यर्मिया 42 पढ्नुहोस्