YouVersion लोगो
खोज आइकन

यर्मिया 3:6-18

यर्मिया 3:6-18 सरल नेपाली

योशियाह राजा छँदा परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासयोग्‍य स्‍त्रीले जस्‍तै इस्राएलले के-के गर्‍यो, के तैँले देखिस्? त्‍यसले मतिर आफ्‍नो पिठिउँ फर्काई र हरेक डाँडामा र हरेक हरियो रूखमुनि व्‍यभिचार गरी। मैले सोचेको थिएँ कि त्‍यसले ती सबै काम गरिसकेपछि मतिर निश्‍चय फर्कनेछे तर त्‍यो फर्किन। त्‍यसकी अविश्‍वासी बहिनी यहूदाले पनि त्‍यो देखी। मलाई त्‍यागेर वेश्‍या बनेकी हुनाले मैले इस्राएललाई त्‍यागेर घरबाट धपाइदिएको देखेर पनि त्‍यसकी अविश्‍वासी बहिनी यहूदाले केही डर मानिन। उल्‍टो त्‍यो पनि लाज नमानी वेश्‍या भई। त्‍यसले देश अपवित्र पारी, रूख र ढुङ्गाहरू पुजेर व्‍यभिचार गरी। त्‍यसपछि इस्राएलकी अविश्‍वासयोग्‍य बहिनी यहूदाले मतिर फर्केजस्‍तो गरिटोपली तर त्‍यसको हृदय भने मतिर फर्केन। म परमप्रभु बोलेको छु।” तब परमप्रभुले मलाई भन्‍नुभयो, “इस्राएलले मलाई त्‍यागेको भए तापनि त्‍यसले विश्‍वासघाती यहूदाले भन्दा कम विश्‍वासघात गरी।” उहाँले मलाई उत्तर दिशामा गएर इस्राएललाई यसो भन्‍ने आदेश दिनुभयो, “ए अविश्‍वासी इस्राएल, मतिर फर्की। म कृपालु छु र क्रोध गर्दिनँ, म सधैँ तँसित रिसाउनेछैनँ। तैँले म, परमप्रभु परमेश्‍वरको विरुद्धमा उठेको र मेरा आज्ञा नमानी हरेक हरियो रूखमुनि पराई देवी-देवताहरूसित व्‍यभिचार गरेको दोष मानिली। म, परमप्रभु बोलेको छु। “हे अविश्‍वासी मानिसहरू हो, मतिर फर्क, म तिमीहरूको स्‍वामी हुँ। म तिमीहरूलाई हरेक सहरबाट एक जना र हरेक गोत्रबाट दुई जना गरी लिएर सियोन डाँडामा फर्काई ल्‍याउनेछु। म आफ्‍नो हृदयअनुसारका गोठालाहरू तिमीहरूलाई दिनेछु र तिनीहरूले तिमीहरूलाई बुद्धि र समझसाथ डोर्‍याउनेछन्। तब यस देशमा तिमीहरूको सङ्‍ख्‍या बढेर अनगिन्‍ती भएपछि मानिसहरूले मेरा करारको सन्‍दुकबारे कुरा गर्ने खाँचो पर्नेछैन। तिनीहरूलाई त्‍यसको खाँचो पर्नेछैन। नत त्‍यो फेरि बनाइनेछ। त्‍यो समय आएपछि यरूशलेम ‘परमप्रभुको सिंहासन’ कहलाइनेछ र त्‍यहाँ मेरो आराधना गर्नलाई सबै जातिहरू भेला हुनेछन्। तिनीहरू आफ्‍ना हठी र दुष्‍ट हृदयका कुराहरूपछि फेरि कहिल्‍यै लाग्‍नेछैनन्। त्‍यस बेला इस्राएल यहूदासित मिल्‍नेछ र तिनीहरू एकसाथ उत्तरमा कैदमा रहेका देशबाट फर्केर मैले तिनीहरूका पिता-पुर्खालाई सदाकालको निम्‍ति दिएको देशमा आउनेछन्।”

यर्मिया 3 पढ्नुहोस्