YouVersion लोगो
खोज आइकन

यर्मिया 3:6-18

यर्मिया 3:6-18 NNRV

योशियाह राजाका राजकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएलले के गर्‍यो, के तैंले देखेको छस्‌? त्‍यो गएर हरेक डाँड़ामा र हरेक झ्‍याम्‍म परेको रूखमुनि त्‍यसले व्‍यभिचार गरेकी छ। त्‍यसले यी सबै काम गरेपछि मकहाँ फर्कन्‍छे होला भनी मैले विचार गरेको थिएँ, र तर त्‍यो फर्किन, र त्‍यसकी विश्‍वासघाती बहिनीले त्‍यो देखी। त्‍यस अविश्‍वासी इस्राएलका सबै व्‍यभिचारको कारण मैले त्‍यसलाई त्‍यागपत्र दिएर निकालिदिएँ। तापनि मैले हेरें, त्‍यसकी विश्‍वासघाती बहिनी यहूदा डराइन, तर गएर त्‍यसले पनि वेश्‍यावृत्ति गरी। वेश्‍यावृत्ति इस्राएलको निम्‍ति यति सजिलो कुरा भयो, कि त्‍यसले ढुङ्गा र रूखसित व्‍यभिचार गरेर देशलाई बिटुलो पारी। यी सबै भए तापनि त्‍यसकी विश्‍वासघाती बहिनी यहूदा, पूर्ण हृदयले त होइन, तर बाहिरी रूपले मात्र मतिर फर्किइ,” परमप्रभु भन्‍नुहुन्‍छ। परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएल विश्‍वासघाती यहूदाभन्‍दा अझ धर्मी ठहरी। जा, उत्तरमा गएर यो सन्‍देश प्रचार गर्‌: “‘हे अविश्‍वासी इस्राएल, तँ फर्की,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘आँखा तरेर म अब तँलाई हेर्नेछैनँ, किनभने म कृपालु छु,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘म सधैँ रीस गरिरहनेछैनँ। केवल, तँ, परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा बागी भइस्, र हरेक झ्‍याम्‍म परेको रूखमुनि पराई देवताहरूलाई तेरो निगाह देखाइस्, र तैंले मेरो आज्ञापालन गरिनस्‌ भनी आफ्‍नो दोष स्‍वीकार गर्‌’,” परमप्रभु भन्‍नुहुन्‍छ। “फर्क, अविश्‍वासी प्रजा हो,” परमप्रभु भन्‍नुहुन्‍छ, “किनभने म तेरो पति हुँ। म सहरबाट एक जनालाई र वंशबाट दुई जनालाई छान्‍नेछु र तिमीहरूलाई सियोनमा ल्‍याउनेछु। अनि मेरो हृदयले रुचाएका गोठालाहरू म तिमीहरूलाई दिनेछु, जसले तिमीहरूलाई ज्ञान र बुद्धिसित डोर्‍याउनेछन्‌। ती दिनमा जब तिमीहरू देशमा खूब बढ़ेर फैलिनेछौ, तब मानिसहरूले फेरि कहिल्‍यै ‘परमप्रभुका करारको सन्‍दूक’ भनी भन्‍नेछैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “त्‍यसको विचार तिनीहरूका मनमा आउनेछैन, त्‍यसको सम्‍झना नै हुनेछैन, त्‍यसको अनुपस्‍थितिको केही ख्‍याल रहनेछैन। त्‍योजस्‍तै अर्को फेरि कहिल्‍यै बनाइनेछैन। त्‍यस बेला यरूशलेम ‘परमप्रभुको सिंहासन’ भनिनेछ, र सबै जातिहरू परमप्रभुको नाउँलाई महिमा दिन यरूशलेममा भेला हुनेछन्‌। हठी भएर आफ्‍ना मनका दुष्‍ट कुराहरूमा तिनीहरू फेरि कहिल्‍यै लाग्‍नेछैनन्‌। ती दिनमा यहूदाका घराना इस्राएलका घरानासित मिल्‍नेछ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई उत्तराधिकार स्‍वरूप दिएको देशमा तिनीहरू उत्तरको देशदेखि एकैसाथ आउनेछन्‌।