YouVersion लोगो
खोज आइकन

यर्मिया 23:18-29

यर्मिया 23:18-29 सरल नेपाली

मैले भनें, “यी अगमवक्ताहरूमध्ये कसैले पनि परमप्रभुको फैसला सुन्‍न कहिल्‍यै उहाँकहाँ गएको छैन। तिनीहरूमध्‍ये कसैले उहाँका वचन कहिल्‍यै सुनेका वा बुझेका छैनन् अथवा तिनमा ध्‍यान दिएका छैनन्। उहाँको क्रोध एउटा आँधी नै हो, दुष्‍टहरूका टाउकामा बजारिने एउटा बतासको भुमरी हो अनि उहाँले इच्‍छा गरेका कुराहरू पूरा नभएसम्‍म त्‍यो थामिनेछैन। आउँदा दिनहरूमा उहाँका प्रजाले यो कुरा राम्ररी बुझ्‍नेछन्।” परमप्रभुले भन्‍नुभयो, “मैले यी अगमवक्ताहरूलाई पठाइनँ तर पनि तिनीहरू कुदेर गए। मैले तिनीहरूलाई केही वचन दिइनँ, तापनि तिनीहरूले मेरा नाममा भविष्‍यवाणी बोले। तर तिनीहरूले मेरा फैसला जानेका भए मेरा प्रजालाई मेरा वचन सुनाउनेथिए र तिनीहरूका दुष्‍ट चाल र खराब कामहरूबाट फर्काउनेथिए। “म एकै ठाउँमा मात्र होइन तर सर्वत्र उपस्‍थित हुने परमेश्‍वर हुँ। कोही मानिस मैले देख्‍न नसक्‍ने ठाउँमा लुक्‍न सक्‍दैन। के तिमीहरू जान्‍दैनौ, म स्‍वर्ग र पृथ्‍वीको हरेक ठाउँमा उपस्‍थित छु? मेरो नाममा झूट बोल्‍ने र मैले तिनीहरूलाई सपनामा मेरा वचन दिएको छु भनी दाबी गरी अगमवक्ताहरूले भनेका कुरा मैले सुनेको छु। अब कहिलेसम्‍म यी अगमवक्ताहरूले आफूले भनेका भ्रमका कुराहरूले मेरा प्रजालाई कुबाटोमा लैजाने हुन्? मेरा प्रजाका पिता-पुर्खाले बाल देवतापट्टि लागेर मलाई बिर्सेझैँ यी अगमवक्ताहरूले आपसमा गरेका आ-आफ्‍ना सपनाका कुराले गर्दा मेरो प्रजाले मलाई बिर्सनेछन् भनी ठानेका छन्। कुनै अगमवक्ताले सपना देखेको छ भने त्‍यो सपनाको कुरा मात्र हो भनोस् तर कुनै अगमवक्ताले मेरो वचन सुनेको छ भने त्‍यो वचन इमानदारीसाथ सुनाओस्। गहुँसित परालको के तुलना हुन सक्‍छ र? मेरा वचन आगोजस्‍तै छ, चट्टानलाई चुर-चुर पार्ने एउटा घनझैँ छ।

यर्मिया 23 पढ्नुहोस्