YouVersion लोगो
खोज आइकन

यर्मिया 23:18-29

यर्मिया 23:18-29 NNRV

तर तिनीहरूमध्‍ये को उहाँको वचन सुन्‍न र बुझ्‍न भनी परमप्रभुको सभामा बसेको छ र? कसले उहाँको वचन ध्‍यान दिएर सुनेको छ? हेर, क्रोधमा परमप्रभुको आँधी उठ्‌नेछ, दुष्‍टहरूका टाउकोमा भुमरीको झोक्‍का बजारिनेछ। आफ्‍नो मनका उद्देश्‍यहरू सिद्ध नहोउञ्‍जेल, परमप्रभुको रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो राम्ररी बुझ्‍नेछौ। यी अगमवक्ताहरूलाई मैले पठाइनँ, तापनि तिनीहरू आफ्‍ना सन्‍देश लिएर कुदेर गए। तिनीहरूसित म बोलिनँ, तापनि तिनीहरूले अगमवाणी कहे। तर तिनीहरू मेरो सभामा बसेका भए तिनीहरूले मेरा प्रजालाई मेरो वचन घोषणा गर्नेथिए, र तिनीहरूलाई आफ्‍ना खराब चाल र खराब कामहरूदेखि फर्काउनेथिए।” परमप्रभु भन्‍नुहुन्‍छ, “के म नजिक मात्र रहने परमेश्‍वर हुँ र, टाढ़ाको चाहिँ परमेश्‍वर होइनँ? के कोही मानिस गुप्‍त ठाउँहरूमा लुक्‍न सक्‍छ र म त्‍यसलाई देख्‍न सक्‍दिनँ?” परमप्रभु भन्‍नुहुन्‍छ। “के स्‍वर्ग र पृथ्‍वी दुवैलाई म ढाक्‍दिनँ र?” परमप्रभु भन्‍नुहुन्‍छ। “मैले सपना देखेको छु, ‘मैले सपना देखेको छु,’ भन्‍दै मेरो नाउँमा झूटा अगमवाणी कहने अगमवक्ताहरूका कुरा मैले सुनेको छु। यी झूटा अगमवक्ताहरू, जसले आफ्‍नै मनका भ्रमको अगमवाणी कहन्‍छन्, तिनीहरूको हृदयमा कहिलेसम्‍म यो कुरा रहला? तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पुजेका कारणले मेरो नाउँ बिर्सेझैँ, यी अगमवक्ताहरूले एक-अर्कालाई कहेका आफ्‍ना सपनाहरूद्वारा मेरो प्रजालाई मेरो नाउँ बिर्सन लाउने विचार गर्छन्‌। कुनै अगमवक्ताले सपना देखेको भए त्‍यसले सपना नै कहोस्‌। तर कसैसित मेरो वचन छ भने त्‍यसले विश्‍वाससित मेरो वचन बोलोस्‌। किनकि परालको गहूँसँग के सम्‍बन्‍ध?” परमप्रभु भन्‍नुहुन्‍छ। “के मेरो वचन आगोजस्‍तै छैन र? चट्टानलाई चूरचूर पार्ने के त्‍यो एउटा ठूलो घनझैँ छैन र?” परमप्रभु भन्‍नुहुन्‍छ।