न्यायकर्ता 6
6
गिदोन
1फेरि पनि इस्राएलका मानिसहरूले परमप्रभुका विरुद्ध पाप गरे र उहाँले सात वर्षसम्म तिनीहरूलाई मिद्यानका अधीनमा सुम्पिदिनुभयो। 2मिद्यानीहरू इस्राएलीहरूभन्दा बलिया थिए र इस्राएलीहरू पहाडका ओडार र अरू सुरक्षाका ठाउँमा तिनीहरूदेखि लुकेर बस्थे। 3जहिले पनि इस्राएलीहरूले अन्न रोपेका बेलामा अमालेकी र मरुभूमिका अरू जातिहरूसँग मिद्यानीहरू आउँथे र तिनीहरूमाथि आक्रमण गर्थे। 4तिनीहरू सो ठाउँमा पाल हालेर बस्थे र दक्षिणपट्टि गाजासम्म अन्न नाश गरिदिन्थे। तिनीहरूका सबै भेडा-बाख्रा, गाईवस्तु र गधाहरू लैजान्थे। इस्राएलीहरूलाई जीविकाको निम्ति केही कुरा पनि छोडिदिँदैनथे। 5तिनीहरू आफ्ना गाई-गोरु र पालहरू लिई सलहका हुलसरि आउँथे। तिनीहरू र तिनका ऊँटहरू असङ्ख्य हुन्थे। तिनीहरू आएर देश ध्वंस पार्थे। 6र इस्राएलीहरू तिनीहरूका अघि असहाय थिए।
7तब इस्राएलीहरूले मिद्यानीहरूका विरुद्ध मद्दतको लागि परमप्रभुलाई पुकारे। 8परमेश्वरले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाउनुभयो, जसले इस्राएलका परमप्रभु परमेश्वरबाट यस्तो समाचार ल्यायो, “मिश्रको दासत्वदेखि मैले तिमीहरूलाई निकालेर ल्याएँ। 9मिश्रीहरू र यस देशमा तिमीहरूसँग लडाइँ गर्नेहरूदेखि मैले तिमीहरूको रक्षा गरें। तिमीहरू अघि बढ्दै जाँदा मैले तिनीहरूलाई यस देशदेखि बाहिर धपाएँ र तिनका देश तिमीहरूलाई दिएँ। 10मैले तिमीहरूलाई भनें कि म तिमीहरूका परमप्रभु परमेश्वर हुँ र तिमीहरूले एमोरीहरू, जसका देशमा तिमीहरू बास गर्दछौ, तिनीहरूका देवताहरू नपुज्नू। तर तिमीहरूले मेरा कुरा सुनेनौ।”
11तब ओप्राका गाउँमा आएर एउटा फलाँटको रूखमुनि परमप्रभुका दूत बसे। त्यो फलाँटको रूख अबीएजेरीका कुलका योआश नाम गरेको मानिसको थियो। मिद्यानीहरूले थाहा नपाऊन् भनी एउटा दाखको कोलमा लुकेर उनको छोरो गिदोन गहुँ कुट्दै थिए। 12परमप्रभुका दूत त्यहाँ देखा परेर उनलाई भने, “ए साहसी र वीर पुरुष! परमप्रभु तँसँग हुनुहुन्छ।”
13गिदोनले भने, “हजुर, यदि परमप्रभु हामीसँग हुनुहुन्छ भने यी सब कुरा किन हामीमाथि आइलागे? के यो सोध्न सक्छु? ती सबै उदेकका कुराहरू, जुन परमप्रभुले गर्नुभएको थियो भनी हाम्रा पिता-पुर्खाहरूले भन्थे– कसरी उहाँले हामीलाई मिश्रबाट निकाली ल्याउनुभएको थियो– ती सबै के भए? परमप्रभुले हामीलाई त्याग्नुभएको छ र हामीलाई मिद्यानीहरूका कृपामा छोडिदिनुभएको छ।”
14तब परमप्रभुले उसलाई आज्ञा गर्नुभयो, “आफ्ना पूरा शक्तिका साथ गएर मिद्यानीहरूबाट इस्राएलीहरूलाई छुटाउने काम गर्। म आफैं तँलाई यस काममा पठाउँदै छु।”
15गिदोनले उत्तर दिए, “परमप्रभु तर कसरी म इस्राएलीहरूलाई छुटाउन सक्छु? मनश्शे कुलमा सबैभन्दा कमजोर मेरो गोत्र छ अनि हाम्रा परिवारमा म सबैभन्दा सानो छु।”
16परमप्रभुले जवाफ दिनुभयो, “म तँलाई मद्दत गर्नेछु र तैँले यो काम गर्न सक्नेछस्। एक जना मानिसलाई जस्तै तैँले सबै मिद्यानीहरूलाई सजिलै नाश पार्नेछस्।”
17गिदोनले भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने तपाईं साँच्चै परमप्रभु हुनुहुन्छ भनी मलाई केही प्रमाण दिनुहोस्। 18तपाईंलाई केही भोजन टक्र्याउनलाई लिएर आउनेछु, त्यतिञ्जेल तपाईं यहाँबाट नजानुहोला।”
उहाँले भन्नुभयो, “तँ नफर्कुञ्जेल म पर्खनेछु।”
19तब गिदोनले घर गएर एउटा पाठोको मासु र दश किलो पीठोको खमिरबिनाको रोटी बनाए। त्यसपछि मासु टोकरीमा राखे र झोल एउटा बटुकामा हाले। ती सबै खानेकुरा उनले फलाँटको रूखमुनि लिई आए र परमप्रभुको दूतलाई टक्र्याए। 20ती दूतले भने, “रोटी र मासु यहाँ चट्टानमाथि राख् र झोल त्यसमाथि खन्याइदे।” गिदोनले त्यसै गरे। 21तब दूतले हात अघि बढाएर हातमा भएको लौराको टुप्पाले रोटी र मासु छोए। चट्टानबाट आगोको ज्वाला निस्केर रोटी र मासु भस्म पार्यो। तब ती दूत लोप भए।
22मैले देखेका परमप्रभुका दूत नै हुनुहुँदोरहेछ भनी थाहा पाएर गिदोनले डराएर भने, “सार्वभौम परमप्रभु, मैले तपाईंको दूतलाई पो मुखामुख देखेछु।”
23तर परमप्रभुले भन्नुभयो, “शान्ति! नडरा, तँ मर्नेछैनस्।” 24परमेश्वरको निम्ति गिदोनले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाम यहवे-शालोम राखे। (त्यो वेदी आजसम्म अबीएजेर कुलको ओप्रा गाउँमा छँदैछ।)
25त्यस रात परमप्रभुले गिदोनलाई भन्नुभयो, “तेरा बुबाको साँढे र अर्को सात-वर्षे साँढे ले। तेरा बुबाले बाल-देवतालाई बनाएको वेदी भत्काइदे र त्यसका छेउमा भएको अशेरा-देवीको मूर्ति ढालिदे। 26त्यस डाँडामाथि तेरा परमप्रभु परमेश्वरको निम्ति एउटा वेदी ठीकसँग बना। त्यसपछि अशेरादेवीका मूर्तिका काठले आगो बालेर दोस्रो साँढे सबै होमबलि चढा।” 27तब गिदोनले दश जना चाकरहरू लिएर परमप्रभुले भन्नुभएअनुसार गरे। दिउँसो आफ्ना परिवार र सहरका मानिसहरूअघि त्यसो गर्न उनले डर माने र सो काम उनले राती नै गरे।
28भोलिपल्ट बिहानै सहरका मानिसहरू उठे। तिनीहरूले बालदेवताको वेदी र अशेरा-देवीको मूर्ति काटी ढालेका र त्यहाँ बनेका वेदीमा दोस्रो साँढे होमबलि भएको देखे। 29तिनीहरूले आपसमा सोधपुछ गरे, “यो कसले गरेको हो?” तिनीहरूले पत्ता लगाए र त्यो काम योआशको छोरो गिदोनले गरेको रहेछन् भनी चाल पाए। 30तब तिनीहरूले योआशलाई भने, “तिम्रा छोरालाई यहाँ बाहिर ल्याऊ। हामी त्यसलाई मार्नेछौं। त्यसले बाल-देवताको वेदी भत्काई, छेउका अशेरा-देवीको मूर्ति ढालिदिएछ।”
31तर आफ्ना सामुन्ने आएका सबैलाई योआशले भने, “के तिमीहरू बाल-देवताका पक्षमा बोलिरहेका छौ? के तिमीहरू उसको बचाउ गर्दछौ? उसको पक्षमा बोल्नेहरू आज बिहानसम्म मारिनेछन्। यदि बाल-देवता परमेश्वर हुन् भने आफ्नो रक्षा ऊ आफैंले गरून्। यो भत्काई फ्याँकिएको वेदी उनैको हो।” 32त्यस दिनदेखि गिदोनको नाम यरूब-बाल भयो, कारण योआशले भनेका थिए, “बालले आफ्नो रक्षा आफैं गरून्, भत्काई फ्याँकिएको वेदी उनैको हो।”
33त्यसपछि सबै मिद्यानी, अमालेकी र पूर्वका जातिहरू भेला भई यर्दन नदी पार गरे र यिजरेलको बेसीमा छाउनी हालेर बसे। 34परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो। तुरही बजाएर अबीएजेरी कुलका मानिसहरूलाई आफ्नो पछि आउनलाई गिदोनले बोलाए 35मनश्शे मुलुकका दुवै भागमा समाचार दिने मानिसहरू पठाएर त्यहाँका मानिसहरूलाई बोलाउन पठाए। मानिस पठाएर आशेर, जबूलून र नप्ताली कुलका मानिसहरूलाई उनले बोलाउन पठाए। तिनीहरू पनि आएर उनीसँग समावेश भए।
36तब गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभएको छ कि तपाईंले इस्राएलीहरूलाई मद्वारा बचाउनुहुनेछ। 37अब गहुँ कुट्ने ठाउँमा म केही भेडाका ऊन भूइँमा राख्नेछु। भोलि बिहान ऊनमाथि मात्रै शीत परेको छ र जमिन सुक्खै रहेछ भने म यो बुझ्नेछु कि तपाईंले इस्राएलीहरूलाई बचाउनका लागि मलाई काममा लगाउनुहुनेछ।” 38अनि ठीक त्यसै भयो। भोलि बिहानै उठेर गिदोनले ऊन निचोरे अनि एक बटुको जति शीतको पानी ऊनबाट झर्यो। 39तब गिदोनले परमेश्वरलाई भने, “मसँग नरिसाउनुहोला, एकचोटि फेरि म बोल्न पाऊँ। एकपल्ट फेरि मलाई ऊनको परीक्षा लिन दिनुहोस्। यसपालिचाहिँ ऊन सुक्खा रहोस् अनि शीत जमिनमा परोस्।” 40त्यो रात परमेश्वरले त्यसै गर्नुभयो। भोलिपल्ट बिहान ऊन सुक्खै थियो तर चारैपट्टिको जमिन शीतले भिजेको थियो।
अहिले सेलेक्ट गरिएको:
न्यायकर्ता 6: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.