न्यायकर्ता 7
7
मिद्यानीहरूमाथि गिदोनको विजय
1एक दिन बिहानै गिदोन र उनका मानिसहरू उठे र हरोद खोलाका किनारमा छाउनी हाले। त्यसको उत्तरपट्टि मोरे डाँडाको छेउको बेसीमा मिद्यानीहरूको छाउनी थियो।
2परमप्रभुले गिदोनलाई भन्नुभयो, “तँसँग अति धेरै मानिसहरू छन्, म तिमीहरूलाई मिद्यानीहरूमाथि विजय हुन दिन चाहन्नँ। हामी आफैंले जितेका हौं भनी तिनीहरूले सोच्लान् र मलाई केही आदर नदेलान्। 3#व्यवस्था 20:8र मानिसहरूलाई यसो भन् ‘ज-जसलाई डर लागेको छ, ऊ घर फर्के हुन्छ, हामीहरूचाहिँ यहाँ गिलाद डाँडामा बस्नेछौं।” त्यसरी बाईस हजार मानिसहरू फर्कि गए; तर दश हजार त्यहाँ बसे।
4तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “अझै तेरा मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा र म त्यहाँ तिनीहरूलाई अलग गर्नेछु। जुन मानिसलाई ‘तँसँग जानेछ’ भन्छु, ऊ तँसँग जानेछ तर जसलाई ‘जानेछैन’ भन्छु, ऊ तँसँग जानेछैन।” 5गिदोनले मानिसहरूलाई खोलामा लगे। परमप्रभुले भन्नुभयो, “ज-जसले कुकुरले जस्तो जिब्रोले पानी चाटेर पिउँछन्, तिनीहरूलाई एकातिर राख् र अर्कोतिर चाहिँ ज-जसले घुँडा टेकेर पानी पिउँछन्, तिनीहरूलाई राख्।” 6तीन सय मानिसहरूले पानी चाटेर पिए, बाँकी सबैले घुँडा टेकेर पानी पिए। 7परमप्रभुले गिदोनलाई भन्नुभयो, “तर कुकुरजस्ता चाटेर पानी पिउने तीन सय मानिसद्वारा म तँलाई मिद्यानीहरूमाथि विजय दिनेछु र तिमीहरूलाई बचाउनेछु। अरू जम्मैलाई घर जानू भन्।” 8गिदोनले ती तीन सय जना छोडी बाँकी सबैलाई घर जान दिए। ती तीन सय जनाले सारा खानेकुरा र तुरहीहरू राखे। मिद्यानीहरूको छाउनी तल बेसीमा थियो।
9त्यस रात परमप्रभुले गिदोनलाई आज्ञा गर्नुभयो, “उठ् र मिद्यानीहरूको छाउनीमाथि आक्रमण गर्। म तँलाई विजय दिनेछु। 10तर आक्रमण गर्न डर लाग्छ भने आफ्नो चाकर पूराहसँग तिनीहरूको छाउनीमा जा। 11तिनीहरूले के भन्दै छन्, तैँले सुन्नेछस् र तँलाई तिनीहरूमाथि आक्रमण गर्न साहस हुनेछ।” र गिदोन र उनको चाकर पूराह तल शत्रुहरूको छाउनीछेउ गए। 12बेसीका चारैतिर मिद्यानी, अमालेकी र पूर्वका अरू जातिहरू सलहका बथानसरि बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवासरि थिए।
13गिदोन त्यहाँ आइपुग्दा एक जना मानिसले साथीलाई एउटा सपना भन्दैगरेको सुन्यो। उसले भन्दै थियो, “मैले सपनामा देखें कि जौको एउटा रोटी लड्दै आएर हाम्रो पालमा लाग्यो र पाल भत्केर भूइँमा ढल्यो।”
14साथीचाहिँले भन्यो, “यो त त्यो इस्राएली योआशको छोरा गिदोनको तरवार हो। यसको अर्को अर्थ हुनै सक्दैन। परमेश्वरले मिद्यानीहरू र हाम्रा सारा सेनालाई उसको हातमा पारिदिनुभएको छ।”
15त्यस मानिसको सपना र त्यसको अर्थ सुनेपछि गिदोनले घुँडा टेकी परमेश्वरलाई दण्डवत् गरे। त्यसपछि इस्राएलीहरूको छाउनीमा फर्की आएर उनले भने, “उठ, परमेश्वरले तिमीहरूलाई मिद्यानीहरूका सेनामाथि विजय दिनुभएको छ!” 16उनले आफ्ना तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। हरेक मानिसलाई उनले एउटा तुरही र एउटा भित्रपट्टि राँको बलेको गाग्रो दिए, 17र भने, “जब म शत्रुको छाउनीछेउमा पुग्छु, मलाई हेर्नू र म जसो गर्छु, त्यसै गर्नू। 18मेरा दल र मैले तुरही फुक्दा तिमीहरूले पनि छाउनीको चारैतिर आफ्ना तुरही फुक्नू र कराएर यसो भन्नू ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति!”
19गिदोन र उनीसँग भएका एक सय मानिसहरू मध्यरात हुनभन्दा केही अघि छाउनीको छेउ आइपुगे। शत्रुका पहराहरू भर्खरै मात्र साटिएका थिए। तिनीहरूले तुरही फुके र आफूले बोकेको गाग्रो फुटाए। 20अनि अरू दुई दलले पनि त्यसै गरे। सबैले आफ्ना देब्रे हातमा राँको समाते, दायाँ हातमा तुरही लिए र कराएर भने, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” 21प्रत्येक मानिस आफ्नो ठाउँमा छाउनीको चारैतिर उभिरह्यो अनि शत्रुका सारा सेना चिच्च्याउँदै भागे। 22गिदोनका मानिसहरूले तुरही फुकेको बेलामा परमप्रभुले शत्रुलाई आपसमा एक-अर्कालाई तरवारले हानाहान गर्न लाउनुभयो। तिनीहरू सरेरातर्फ भागे र बेथ-शित्ता र तब्बातछेउको हाबिल-महोला सहरसम्म पुगे।
23तब नप्ताली, आशेर कुल र मनश्शे कुलका दुवैपट्टिका मानिसहरूलाई बोलाउन पठाइयो। तिनीहरू आएर मिद्यानीहरूलाई खेदे। 24एफ्राइम पहाडी देशभरि गिदोनले मानिसहरू पठाएर खबर गरे, “तल आएर मिद्यानीहरूसँग लडाइँ गर। यर्दन नदी र बेथ-बरासम्म खोलाहरू हातमा लेओ र मिद्यानीहरू पार गरी भाग्न नसकून्।” एफ्राइमहरू एकसाथ आए र यर्दन नदी र बेथ-बरासम्म खोलाहरू हात पारे। 25तिनीहरूले ओरेब र जएब नाम गरेका मिद्यानी अगुवाहरूलाई पक्रे र ओरेबलाई ओरेबको चट्टानमा र जएबलाई जएबको दाखको कोलमा मारे। तिनीहरूले मिद्यानीहरूलाई खेदि नै रहे अनि ओरेब र जएबका शिर गिदोनकहाँ ल्याए। गिदोन त्यस बेला यर्दनको पूर्वपट्टि थिए।
अहिले सेलेक्ट गरिएको:
न्यायकर्ता 7: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.