YouVersion लोगो
खोज आइकन

यशैया 6:1-8

यशैया 6:1-8 सरल नेपाली

उज्‍जियाह राजा मरेको वर्षमा मैले परमप्रभुको दर्शन पाएँ। उहाँ सर्वोच्‍च सिंहासनमा विराजमान् हुनुहुन्‍थ्‍यो र उहाँको वस्‍त्रले सारा मन्‍दिर ढाकिएको थियो। उहाँका मास्‍तिर आगोको ज्‍वालाझैँ चहकिला स्‍वर्गदूतहरू थिए र तिनीहरू प्रत्‍येकका छ-छ वटा पखेटाहरू थिए। दुई वटा पखेटाले आफ्‍नो मुख, दुईटा पखेटाले आफ्‍नो खुट्टा ढाकेका थिए र अर्को दुईटा पखेटाले तिनीहरू उड्दथे। तिनीहरू आपसमा यसो भन्‍दै पुकार्दै थिए: “पवित्र, पवित्र, पवित्र! सर्वशक्तिमान् परमप्रभु पवित्र हुनुहुन्‍छ! उहाँको महिमाले सारा संसार भरिपूर्ण छ।” तिनीहरूको सोरले मन्‍दिरका सँघारहरू हल्‍लँदै थिए र मन्‍दिरचाहिँ धुवाँले भरिएको थियो। मैले भनें, “हाय! म नाश हुनेछु। म नाश हुनेछु किनभने मेरा ओठबाट निस्‍केको हरेक शब्‍द पापमय छ र म अपवित्र ओठ भएका मानिसहरूका बीचमा बास गर्दछु। तर पनि सर्वशक्तिमान् परमप्रभु महाराजालाई मैले आफ्‍ना आँखाले देखेको छु!” तब आगोको ज्‍वालाझैँ चहकिलो एउटा स्‍वर्गदूत वेदीबाट आगोको भुङ्ग्रो चिम्‍टाले च्‍यापेर मकहाँ उडेर आए। तिनले मेरो ओठ त्‍यस भुङ्ग्राले छोएर यसो भने, “यसले तिम्रो ओठ छोएको छ र तिम्रा दोषहरू अब मेटिए र पाप क्षमा भए।” तब परमप्रभुले यसो भन्‍नुभएको मैले सुनें, “म कसलाई पठाऊँ? हाम्रो सन्‍देशवाहक को हुने हो?” मैले जवाफ दिएँ, “म जानेछु! मलाई पठाउनुहोस्।”

यशैया 6 पढ्नुहोस्