दर्शनको बेसीको सम्बन्धमा यो अगमवाणी छ: के भइरहेछ? किन सहरका सबै बासिन्दाहरूले घर-घरका कौसीहरूमाथि आनन्द मनाइरहेका छन्? सारा सहरमा होहल्ला भइरहेछ, मानिसका सोर र उत्तेजनाले सहर भरिएको छ। यस लडाइँमा मरेका तिम्रा मानिसहरू लडाइँ गरेर मरेनन्। तिम्रा सबै अगुवाहरू भागे र एउटा काँड नहानी कब्जामा परे। मरेका मेरा मानिसहरूका निम्ति रुँदै बिलौना गर्न मलाई एक्लै छोडिदेऊ। मलाई सान्त्वना दिने चेष्टा नगर। दर्शनको बेसीमा अहिले आतङ्क, हार र गडबडीको समय छ। सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले ती हामीमाथि पठाउनुभएको हो। हाम्रो सहरका पर्खालहरू भत्काइएका छन् र मद्दतको निम्ति उठेको पुकार डाँडा-डाँडामा ठोकिएर गुञ्जिरहेको छ। एलाम देशका सिपाहीहरू घोडामा सवार भई, धनु-काँड भिरेर आए। कीर देशका सिपाहीहरूले आफ्ना ढाल तयार राखे। यहूदाका मलिला बेसीहरू रथले भरिएका थिए। घोडचढी सिपाहीहरू यरूशलेमका मूलढोकामा खडा भए। यहूदाले आफ्नो बचाउको निम्ति बनाएका उपायहरू भताभुङ्ग भए। त्यसो हुँदा तिमीहरूले सिलखानाका हात-हतियारहरूमा भर पर्यौ। यरूशलेमका पर्खालका मरमत गर्नुपर्ने ठाउँ खोजी निकाल्यौ। यरूशलेममा भएका सबै घरहरूको जाँच गर्यौ र कुनै-कुनै घर भत्काएर त्यहाँका ढुङ्गा सहरका पर्खाल मरमत गर्नलाई लियौ। पानी जगेडा गर्न तिमीहरूले एउटा कुण्ड सहरभित्र बनायौ। पुरानो पोखरीबाट बगिआएको पानी त्यस कुण्डमा जम्मा हुन्थ्यो। तर यी सबै धेरै अघिबाटै प्रबन्ध गर्नुहुने र ती गराउने परमेश्वरलाई तिमीहरूले ध्यान दिएनौ। सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले तिमीहरूलाई रुने र विलाप गर्ने, टाउको खौरने र भाङ्ग्रा लगाउने आदेश दिँदै हुनुहुन्थ्यो। त्यसको सट्टामा तिमीहरूले हाँस्दै रमाहट गर्यौ। गोरु र भेडा खानलाई काट्यौ। मद्य पियौ। तिमीहरूले भन्यौ, “लौ खाऔं र पिऔं। भोलि त हामी मर्नेछौं।” सार्वभौम, सर्वशक्तिमान् परमप्रभु आफैं मसित बोल्नुभयो र भन्नुभयो, “यस दुष्ट्याइँको निम्ति तिनीहरू नमरेसम्म माफ पाउनेछैनन्। म सार्वभौम, सर्वशक्तिमान् परमप्रभु यी कुरा भन्दछु।”
यशैया 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 22:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू