YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 39:1-12

उत्‍पत्ति 39:1-12 सरल नेपाली

इश्‍माएलीहरूले योसेफलाई मिश्रमा लगेर पोतीफरको हातमा बेचिदिएका थिए। तिनी राजाका अधिकृत अनि राजमहलको पहरेदारहरूका कप्‍तान थिए। परमप्रभु योसेफसँग हुनुहुन्‍थ्‍यो र त्‍यहाँ उनलाई फलिफाप भयो। उनी आफ्‍ना मिश्री मालिकको घरमा बस्‍थे। परमप्रभु योसेफसित हुनुहुन्‍छ र तिनले हात हालेको काममा सफल हुन्‍छन् भनी पोतीफरले देखे। पोतीफर योसेफसित प्रसन्‍न थिए र उनलाई आफ्‍नो निज चाकर बनाए। आफ्‍नो घर र त्‍यहाँ भएका सबै कुराहरू तिनले योसेफको जिम्‍मामा दिए। त्‍यस समयदेखि योसेफको कारण परमप्रभुले त्‍यस मिश्रीको घरमा आशिष् दिनुभयो। तिनको घरबार, खेतबारी र त्‍यहाँ भएका सबै कुरामाथि परमेश्‍वरले आशिष् दिनुभयो। आफूसँग भएका सबै थोक पोतीफरले योसेफलाई जिम्‍मा लाइदिए र आफूले खाने भोजनबाहेक अरू कुनै कुराको वास्‍ता राख्‍दैनथे। योसेफ लायकको र हेर्नमा सुन्‍दर थिए। केही समयपछि मालिककी स्‍वास्‍नीले उनलाई मन पराउन लागिन् र आफूसित सुत्‍न बोलाइन्। उनी मानेनन् र भने, “हेर्नुहोस्, म यहाँ भएकोले मालिकले घरको केही कुराको फिक्री गर्नुहुन्‍न। आफ्‍नो सबै थोक उहाँले मेरै जिम्‍मामा दिनुभएको छ। यस घरमा मालिकको बराबर मेरो अधिकार छ। तपाईंबाहेक अरू सबै थोक उहाँले मलाई दिनुभएको छ। यस्‍तो दुष्‍ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्‍छु?” तिनले दिनदिनै योसेफलाई बोलाउँथिन् तर योसेफ तिनीसित सुत्‍न मान्‍दैनथे। तर एक दिन योसेफ आफ्‍नो काम गर्न घरभित्र पसेको बेलामा त्‍यहाँ घरको अरू चाकर कोही थिएन। तिनले योसेफको लुगा समातेर भनिन्, “मसँग सुत्‍न आऊ।” तर उनी फुत्‍केर घरबाट भागे। उनको लुगा मालिक्‍नीकै हातमा थियो।

उत्‍पत्ति 39 पढ्नुहोस्