इजकिएल 4
4
यरूशलेम घेरामा पर्नेबारे इजकिएलको प्रदर्शन
1परमेश्वरले भन्नुभयो, “ए मरणशील मानिस, एउटा पाटा लिएर आफ्नो सामुन्ने राख् र त्यसमा यरूशलेम सहरको एउटा रेखा-चित्र कोर्। 2त्यसपछि त्यस सहरलाई घेरा हालेको बुझाउन त्यहाँ खाल्डो, बाँध, छाउनी र पर्खाल भत्काउने मुढाहरू राख। 3एउटा फलामको ताप्के लिएर त्यसलाई पर्खालका रूपमा तँ र सहरको बीचमा खडा गर। तेरो मुख सहरतिर फर्का। त्यो घेरामा परेको छ र घेरा हाल्नेचाहिँ तँ नै होस्। यो इस्राएल जातिको निम्ति एउटा चिनो हुनेछ।
4-5“त्यसपछि बायाँपट्टि कोल्टे परेर सुत् र म तँमाथि सबै इस्राएल जातिको दोष बोकाइदिनेछु। त्यसरी ३९० दिनसम्म तँ लडिरहनेछस् र तिनीहरूको अपराधको दण्ड भोग्नेछस्। तिनीहरूले पाउने दण्डको प्रत्येक वर्षको निम्ति एक दिनको हिसाबले मैले तँलाई दण्ड दिएको छु। 6ती दण्डका दिनहरू पूरा भइसकेपछि दायाँपट्टि कोल्टे परेर सुत् र यहूदाको अपराधको निम्ति चालीस दिनसम्म दण्ड भोग्। यसपाली पनि प्रत्येक वर्षको निम्ति एक दिन गरेर दण्ड भोग्नुपर्नेछ।
7“तेरो नजर यरूशलेमको घेरामा राख्। सहरपट्टि आफ्नो खाली हात हल्लाउँदै त्यसको विरुद्धमा अगमवाणी भन्। 8त्यसको घेराको दिन नसकिएसम्म तँ यताउता फर्कन नसक्ने गरी म तँलाई डोरीले बाँधिराख्नेछु।
9“अब केही गहुँ, जौ, सिमी, केराउ, कोदो र फापर एक साथ मिसाएर एउटा भाँडामा राख् र त्यसबाट तेरो लागि रोटी बना। जब ३९० दिनसम्म बायाँपट्टि कोल्टे परेर तँ लडिरहनेछस्, तब त्यो रोटी तैँले खानुपर्नेछ। 10तैँले मिसाएको त्यो अन्नबाट दिनमा २३० ग्राम तौलेर निकाल् र त्यो प्रत्येक दिन एकपल्ट खानुपर्नेछ। 11तैँले एक दिनमा दुई कचौरा पिउने पानी पाउनेछस्। 12मानिसको दिशामा आगो सल्काई त्यसमाथि रोटी पकाएर सबैका आँखाको सामुन्ने तैँले त्यो रोटी खानेछस्।”
13परमप्रभुले भन्नुभयो, “इस्राएलीहरूलाई मैले परदेशमा धपाई पठाउँदा अशुद्ध भोजन कसरी तिनीहरूले खानुपर्नेछ, त्यो यस कुराले देखाउँछ।”
14तर मैले जवाफ दिएँ, “होइन, सार्वभौम परमप्रभु! मैले आफैंलाई कहिल्यै पनि अपवित्र पारेको छैनँ। मैले बालककालदेखि नै आफैं मरेको वा जङ्गली जनावरले मारेको कुनै पनि पशुको मासु कहिल्यै खाएको छैनँ। अशुद्ध मासु वा भोजन मेरो मुखमा कहिल्यै पनि परेको छैन।”
15तब परमेश्वरले भन्नुभयो, “ठीक छ! मानिसको दिशाको सट्टामा म तँलाई गाईको गोबर दिनेछु, त्यसैमा तैँले आफ्नो रोटी पकाउन सक्छस्।”
16उहाँले अझै भन्नुभयो, “ए मरणशील मानिस, यरूशलेमले पाउने अन्न म रोकिदिनेछु। त्यहाँका मानिसहरूले खाने भोजन र पिउने पानी तौलको हिसाबले लिनुपर्दा तिनीहरूका मनमा कष्ट र चिन्ता पर्नेछ। 17तिनीहरूलाई रोटी र पानीको कमी हुनेछ। तिनीहरू एउटाले अर्कोलाई देखेर तर्सनेछन् र आफ्ना पापले गर्दा सुक्दै नाश हुनेछन्।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 4: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.