YouVersion लोगो
खोज आइकन

इजकिएल 3

3
1 # प्रकाश 10:9,10 परमेश्‍वरले भन्‍नुभयो, “ए मरणशील मानिस, यो कागजको मुट्ठो खा। त्‍यसपछि गएर इस्राएलका मानिसहरूसित कुरा गर्‌।”
2यसकारण मैले आफ्‍नो मुख खोलें र उहाँले मलाई त्‍यो कागजको मुट्ठो खान दिनुभयो। 3उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, मैले दिएको यो कागजको मुट्ठो खा। त्‍यसले तेरो पेट भर्‌।” मैले कागजको मुट्ठो खाएँ र त्‍यो मेरो मुखमा महझैँ मीठो भयो।
4तब परमेश्‍वरले भन्‍नुभयो, “ए मरणशील मानिस, इस्राएलका मानिसहरूकहाँ जा र जे म भन्‍दछु, त्‍यही तिनीहरूलाई सुना। 5म तँलाई कुनै कठिन विदेशी भाषा बोल्‍ने जातिकहाँ पठाउँदिनँ तर इस्राएलीहरूकहाँ नै पठाउँदै छु। 6तैँले बुझ्‍न नसक्‍ने कठिन भाषा बोल्‍ने धेरै जातिहरूकहाँ मैले तँलाई पठाएको भए तिनीहरूले तेरो कुरा सुन्‍नेथिए। 7तर इस्राएलका मानिसहरू कोही पनि सुन्‍न राजी हुनेछैनन्, तिनीहरू त मेरा कुरा पनि सुन्‍दैनन्। सारा जाति नै हठी र ढीट भएका छन्। 8म तँलाई तिनीहरूजस्‍तै हठी र जिद्दीवाल बनाउनेछु, 9म तँलाई चट्टानजस्‍तो अटल र हीराजस्‍तो कडा बनाउनेछु। ती बागीहरूसित तँ नडरा।” 10परमेश्‍वरले अझै भन्‍नुभयो, “ए मरणशील मानिस, मैले भनेका सबै कुरा ध्‍यानसित सुन् र मनमा राख्। 11अनि देशनिकाला भएका तेरा देशवासीहरूकहाँ जा र तिनीहरूले तेरा कुरामा ध्‍यान दिए पनि वा नदिए पनि म सार्वभौम परमप्रभु तिनीहरूलाई जे भन्‍दछु, सो तिनीहरूलाई सुना।” 12त्‍यसपछि परमेश्‍वरको आत्‍माले मलाई मास्‍तिर उठाउनुभयो र पछिल्‍तिरबाट एउटा चर्को सोरले यसो भनेको आवाज सुनें, “स्‍वर्गमा परमप्रभुको महिमाको प्रशंसा गर!” 13मैले ती जीवित प्राणीहरूका पखेटा चलेको र पाङ्ग्राहरू घुमेको आवाज सुनें, त्‍यो आवाज भूइँचालो गएजस्‍तै थियो। 14ममाथि परमप्रभुको प्रबल हात आइपर्दा उहाँका आत्‍माले मलाई उचालेर लैजानुभयो र मलाई मनमा तीतो लाग्‍यो र रिस उठ्यो। 15यसकारण म कबार नदीको छेउ तेल-अबीब भन्‍ने स्‍थानमा आएँ, जहाँ देशनिकाला भएका ती यहूदीहरू बसोबास गर्दथे। मैले जे देखें र सुनें, तीबाट व्‍याकुल भई सात दिनसम्‍म म त्‍यहाँ बसें।
इजकिएललाई पहरेदारमा नियुक्ति
(इजकिएल ३३:१-९)
16सात दिन बितेपछि परमप्रभुले मलाई भन्‍नुभयो, 17“ए मरणशील मानिस, तँलाई म इस्राएल जातिको पहरेदार खटाउँछु। मैले भनेका कुराहरू सुन् र तैँले तिनीहरूलाई मेरो चेतावनी सुनाउनेछस्। 18यदि मैले कुनै दुष्‍ट मानिसलाई ‘तँ निश्‍चय मर्नेछस्’ भनी बताएँ; तर तैँले चाहिँ त्‍यसले आफ्‍नो प्राण बचाउन त्‍यसको चाला बदल्‍नुपर्छ भनी त्‍यसलाई चेतावनी दिइनस् भने त्‍यो मानिस त आफ्‍नो पापमा मर्नेछ तर म त्‍यसको मृत्‍युको निम्‍ति तँलाई जिम्‍मेवार ठहराउनेछु। 19यदि तैँले दुष्‍ट मानिसलाई चेतावनी दिइस् र पनि त्‍यसले आफ्‍नो दुष्‍ट कर्म छोडेन भने त्‍यो दुष्‍ट त आफ्‍नै पापमा मर्नेछ तर तैँले चाहिँ आफ्‍नो प्राण बचाउनेछस्।
20“तर कुनै साँच्‍चै असल मानिसले दुष्‍ट्याइँ गर्न थाल्‍दछ र म त्‍यसलाई खतरामा हाल्‍नेछु, यदि तैँले त्‍यसलाई कुनै चेतावनी दिइनस् भने त्‍यो मर्नेछ। त्‍यो आफ्‍नो पापको कारणले मर्नेछ, म त्‍यसका असल कामहरू सम्‍झना गर्नेछैनँ; तर त्‍यसको मृत्‍युको निम्‍ति म तँलाई जिम्‍मेवार ठहराउनेछु। 21यदि तैँले त्‍यो असल मानिसलाई पाप नगर्न चेतावनी दिइस् र त्‍यसले तेरो कुरा सुनेर पाप गर्न छोड्यो भने त्‍यो मानिस बाँच्‍नेछ र तेरो पनि प्राण बाँच्‍नेछ।”
इजकिएल बोल्‍न नसक्‍ने भएका
22मैले परमप्रभुको प्रबल हात ममाथि भएको थाहा गरें र उहाँले यसो भन्‍नुभएको सुनें, “उठ् र बेसीमा जा। म त्‍यहाँ तँसित कुरा गर्नेछु।”
23यसकारण म बेँसीमा गएँ र त्‍यहाँ अघि कबार नदीको छेउमा देखेझैँ परमप्रभुको महिमा देखें। म भूइँमा घोप्‍टो परें, 24तर परमप्रभुको आत्‍मा मभित्र पस्‍नुभयो र मलाई मेरा खुट्टामा उभ्‍याउनुभयो। परमप्रभुले मलाई भन्‍नुभयो, “घर जा र ढोका थुनेर घरभित्र बस्। 25ए मरणशील मानिस, तँ डोरीले बाँधिनेछस् र मानिसहरूका अघि हिंड्‍न पाउनेछैनस्। 26म तेरो जिब्रो चल्‍न नसक्‍ने बनाउनेछु र तैँले यी बागी मानिसहरूलाई चेतावनी दिन सक्‍नेछैनस्। 27त्‍यसपछि म तँसित बोल्‍नेछु र तेरो मुख खोलिदिनेछु, तब तैँले तिनीहरूलाई म सार्वभौम परमप्रभुले जे कुरा भन्‍नेछु, ती सुनाउनेछस्। तेरो कुरा सुन्‍नेले सुनोस् र नसुन्‍नेले नसुनोस् किनभने त्‍यो जाति नै बागी भएको छ।”

अहिले सेलेक्ट गरिएको:

इजकिएल 3: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्