YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 21:22-36

प्रस्‍थान 21:22-36 सरल नेपाली

“मानिसहरू आपसमा झगडा गर्दा कुनै गर्भवती स्‍त्रीलाई चोट लाग्‍यो र त्‍यसको गर्भ तुहियो तर स्‍त्री आफैंलाई चाहिँ अरू कुनै हानि भएन भने चोट लगाउने मानिसले त्‍यस स्‍त्रीको लोग्‍नेले दाबी गर्दा न्‍यायाधीशले तोकेको जरिवाना तिर्नुपर्नेछ। तर त्‍यस स्‍त्रीलाई चोट लाग्‍यो भने त्‍यस मानिसले प्राणको साटो प्राण, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात, खुट्टाको साटो खुट्टा, जलेको घाउको साटो जलेकै घाउ, चोटको साटो चोट र घाउको साटो घाउ नै दण्‍ड भोग्‍नुपर्नेछ। “कुनै मानिसले आफ्‍नो कमारो वा कमारीलाई आँखामा हिर्कायो र आँखा फुट्‍यो भने त्‍यसले आँखाको साटोमा त्‍यस कमारो वा कमारीलाई सित्तैमा छोडिदिनुपर्नेछ। यदि त्‍यसले कमारा वा कमारीको दाँत झारिदियो भने दाँतको सट्टामा त्‍यसलाई सित्तैमा छोडिदेओस्। “यदि साँढेले कसैलाई सिङले हानेर मार्‍यो भने त्‍यसलाई ढुङ्गाले हिर्काएर मार्नू। त्‍यसको मासु नखानू अनि त्‍यसको मालिकलाई केही दण्‍ड नदिनू। तर साँढेको हान्‍ने बानी थियो अनि मालिकलाई त्‍यसबारे सावधान गराउँदा पनि साँढेलाई बाँधिराखेन र त्‍यो साँढेले कसैलाई सिङले हानेर मार्‍यो भने त्‍यसलाई ढुङ्गाले हानेर मार्नू र त्‍यसको मालिकलाई पनि मार्नू। तर कतै त्‍यस मालिकलाई आफ्‍नो प्राणको सट्टामा जरिवाना तिर्न दिइयो भने त्‍यसले तोकिएको पूरा दाम तिरोस्। त्‍यस साँढेले केटा वा केटीलाई मार्‍यो भने यही नियमअनुसार दण्‍ड दिनू। साँढेले कमारो वा कमारीलाई मार्‍यो भने त्‍यसको मालिकले त्‍यस कमारा वा कमारीको मालिकलाई चाँदीका तीस वटा टुक्राहरू दिनुपर्नेछ र साँढेलाई ढुङ्गाले हिर्काएर मार्नू। “यदि कुनै मानिसले खाडलको ढकनी खोलिदियो वा खाडल खनेर त्‍यसलाई ढाकेन र साँढे वा गधा खाडलमा पर्‍यो भने त्‍यस मानिसले त्‍यो साँढे वा गधाको दाम दिनुपर्छ। पशुको मालिकलाई दाम दिएर मरेको पशु त्‍यसले राखोस्। एउटा मालिकको साँढेले अर्कोको साँढेलाई मार्‍यो भने ती दुई मालिकहरू मिलेर त्‍यो जिउँदो साँढेलाई बेचून् र पाएको दाम आपसमा बाँडून्। मरेको पशुको मासु पनि तिनीहरूले आपसमा बाँडून्। तर साँढेको हान्‍ने बानी मालिकलाई याद थियो र पनि त्‍यसलाई बाँधिराखेको थिएन भने त्‍यस मालिकले मरेको साँढेको मालिकलाई जिउँदो साँढे दिनुपर्नेछ र मरेको साँढेचाहिँ त्‍यसले लैजान सक्‍छ।

प्रस्‍थान 21 पढ्नुहोस्