YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 21:22-36

प्रस्‍थान 21:22-36 NNRV

“यदि मानिसहरू आपसमा लड़न्‍त गर्दा कुनै गर्भवती स्‍त्रीलाई चोट लाग्‍यो, र महिना नपुगीकनै त्‍यसले बच्‍चा जन्‍माई तर स्‍त्रीलाई चाहिँ केही नोक्‍सानी भएन भने स्‍त्रीको पतिले भनेबमोजिम र अदालतले तोकेअनुसारको दण्‍ड चोट लगाउने मानिसले देओस्‌। तर स्‍त्रीको केही नोक्‍सानी भयो भने, प्राणको सट्टा प्राण, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा, डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाइ त्‍यस मानिसलाई मिलोस्‌।” “यदि कुनै मानिसले आफ्‍नो कमारो अथवा कमारीको आँखामा हिर्काएर त्‍यो बिगारिदियो भने, त्‍यसको आँखाको कारण त्‍यसलाई स्‍वतन्‍त्र गरिदेओस्‌। यदि त्‍यसले कमारो अथवा कमारीको दाँत झारिदियो भने, त्‍यसलाई त्‍यसको दाँतको कारण स्‍वतन्‍त्र गरिदेओस्‌। “यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ। तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू। तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल देओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू। यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का देओस्, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। “यदि कुनै मानिसले कूवा उदाङ्गै राख्‍यो वा कूवा खनेर त्‍यो छोपेन र त्‍यसमा गोरु कि गधा खस्‍यो भने, त्‍यो कूवाको मालिकले त्‍यसको क्षतिपूर्ति गरोस्‌। त्‍यसले गोरु कि गधाको मालिकलाई रुपियाँ दिओस्, र त्‍यो मरेको पशुचाहिँ त्‍यसकै होस्‌। “यदि कसैको गोरुले अर्काको गोरुलाई हानेर मार्‍यो भने, तिनीहरूले जिउँदो गोरुलाई बेचेर त्‍यसको दाम र त्‍यो मरेको गोरु पनि बराबर बाँड़ेर लैजाऊन्‌। तर त्‍यस गोरुको अघिदेखि नै हान्‍ने बानी छ भनेर थाहा भएर पनि त्‍यसको मालिकले त्‍यसलाई बाँधेर राखेको थिएन भने, त्‍यसले गोरुको सट्टामा गोरु देओस्, र त्‍यो मरेको पशुचाहिँ त्‍यसको नै होस्‌।”