YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 28:23-47

व्‍यवस्‍था 28:23-47 सरल नेपाली

वर्षा हुनेछैन र तिम्रा जमिन फलामजस्‍तै कडा हुनेछ। वर्षाको सट्टामा परमप्रभुले तिमीहरू नाश नभइञ्‍जेल धुलो र बालुवाका आँधी-बेहरी पठाउनुहुनेछ। “परमप्रभुले तिम्रा शत्रुहरूलाई तिमीहरूमाथि विजय दिनुहुनेछ। तिमीहरू तिनीहरूमाथि एक बाटो भएर हमला गर्नेछौ तर सात बाटो भएर भाग्‍नेछौ र पृथ्‍वीका सबै मानिसहरूले तिम्रा दशा देखेर डर मान्‍नेछन्। तिमीहरू मरेपछि आकाशका चरा र जङ्गली जनावरहरू आएर तिम्रा लाश खानेछन् र तिनीहरूलाई धपाउने कोही पनि हुनेछैन। मिश्रीहरूलाई गरेझैँ परमप्रभुले तिमीहरूलाई पिलोले पीडित पार्नुहुनेछ। उहाँले तिम्रा शरीरहरू घाउ-खटिराले भरिदिनुहुनेछ। तिम्रा शरीर लुतोले भरिनेछन् र चिलाउनेछन् तर तिमीहरूले निको हुने कुनै औषधी पाउनेछैनौ। परमप्रभुले तिमीहरूलाई अन्‍धा तथा बौलाहा बनाउनुहुनेछ अनि मनमा गड्बडी पार्नुहुनेछ। दिउँसो उज्‍यालोमै तिमीहरू अन्‍धाजस्‍ता छामछाम-छुमछुम गरी हिँड्‍नेछौ र तिमीहरूले आफ्‍नो बाटो देख्‍नेछैनौ। तिमीहरूले गरेका कुनै काममा फलिफाप हुनेछैन। सतावट र डकैती तिमीहरूमाथि एकहोरो आइपर्नेछन् र तिम्रा मद्दत गर्ने कोही पनि हुनेछैन। “विवाह गर्न भनी तिमीले मगनी गरेकी केटीलाई अर्को मानिसले विवाह गर्नेछ। घर बनाउँनेछौ तर त्‍यसमा कहिल्‍यै बास गर्न पाउनेछैनौ। दाखबारी लाउनेछौ तर त्‍यसका फल कहिल्‍यै खान पाउनेछैनौ। तिम्रा पशुहरू तिम्रै अघि मारिनेछन् तर त्‍यसका मासु खान पाउनेछैनौ। तिमीले हेर्दाहेर्दै तिम्रा गधाहरू घिसारेर लगिनेछन् तर फर्काइनेछैनन्। तिम्रा भेडा शत्रुका हातमापर्नेछ र तिमीलाई मद्दत गर्ने कोही हुनेछैन। तिम्रै आँखा सामुन्‍ने तिम्रा छोरा-छोरीहरूलाई कमारा-कमारी बनाई विदेशीहरूलाई दिइनेछन्। तिम्रा छोरा-छोरीहरू फर्की आउँछन् कि भनी प्रत्‍येक दिन व्‍यर्थमा तिमीहरू आँखा दुखुन्‍जेल बाटो हेर्नेछौ। तिमीहरूले कठिन परिश्रम गरेर उब्‍जाएका अन्‍नबाली विदेशी जातिले लैजानेछ र तिमीहरूले चाहिँ लगातार सतावट र निष्‍ठुर व्‍यवहारबाहेक अरू केही पाउनेछैनौ। दु:ख-कष्‍टले गर्दा तिमीहरू बौलाहा हुनेछौ। परमप्रभुले तिम्रा घुँडा र खुट्टामा निको पार्न नसकिने र पीडा हुने घाउहरू पठाइदिनुहुनेछ। शिरदेखि पैतालासम्‍म तिमीहरूलाई पिलोले सताउनेछ। “परमप्रभुले तिमीहरू र तिम्रा राजालाई तिमी वा तिम्रा पुर्खाहरू अघि कहिल्‍यै नबसेका परदेशमा पुर्‍याउनुहुनेछ, जहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देव-देवताको सेवा गर्नेछौ। जुन देशहरूमा परमप्रभुले तिमीहरूलाई छरपष्‍ट पारी पठाउनुहुनेछ, त्‍यहाँका मानिसहरू तिम्रा हालत देखेर छक्‍क पर्नेछन्। तिनीहरूले तिम्रा हाँसो र गिल्‍ला गर्नेछन्। “तिमीहरूले धेरै बिउ छर्नेछौ तर थोरै अन्‍न बटुल्‍नेछौ किनभने सलहले तिम्रो बाली खानेछ। तिमीहरूले दाखबारी लाएर खुब जतन गर्नेछौ तर तिनका दाख टिप्‍न वा दाखमद्य पिउन पाउनेछैनौ किनभने दाखको बोटमा किरा लाग्‍नेछ। देशमा जहीँ-तहीँ जैतुनका बोट उम्रनेछन् तर जैतुनको तेल तिमीहरू पाउनेछैनौ किनभने फलहरू झरिजानेछन्। तिम्रा छोरा-छोरीहरू जन्‍मनेछन् तर तिनीहरू तिमीदेखि खोसिनेछन् किनभने तिनीहरू लडाइँमा कैदी भई लगिनेछन्। किराले तिम्रा सबै रूख र अन्‍नबालीहरू खाएर नष्‍ट पार्नेछन्। “तिम्रा देशमा बास गर्ने परदेशीहरूले झन् धेरै शक्ति पाउनेछन् तर तिमीहरूले चाहिँ शक्ति बिस्‍तारै-बिस्‍तारै हराउनेछौ। तिनीहरूसित तिमीहरूलाई सापटी दिने रुपियाँ-पैसा हुनेछ तर तिनीहरूलाई सापटी दिने धन तिमीहरूसित हुनेछैन। अन्‍तमा तिनीहरू तिमीहरूका मालिक हुनेछन्। “यी सबै विपत्तिहरू तिमीहरूमाथि पर्नेछन्। तिमीहरू नाश नभईञ्‍जेलसम्‍म यी विपत्तिहरू रहिरहनेछन् किनभने तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका वचन मानेनौ र उहाँले दिनुभएका नियमहरू सबै पालन गरेनौ। ती सदाकालको निम्‍ति तिमी र तिम्रा सन्‍तानमाथि भएको परमेश्‍वरको दण्‍डको प्रमाण हुनेछन्। परमप्रभुले तिमीहरूलाई हरप्रकारले आशिष् दिनुभयो तर तिमीहरूले खुसी र आनन्‍दित मनले उहाँको सेवा गरेनौ।