YouVersion लोगो
खोज आइकन

दानिएल 9:4-19

दानिएल 9:4-19 सरल नेपाली

मेरा मानिसहरूको पापको निम्‍ति पश्‍चात्ताप गर्दै परमप्रभु मेरा परमेश्‍वरलाई मैले प्रार्थना गरें। मैले बिन्‍ती गरें, “परमप्रभु परमेश्‍वर, तपाईं महान् हुनुहुन्‍छ र हामी तपाईंको आदर गर्दछौं। तपाईं आफ्‍नो करार पूरा गर्न विश्‍वासयोग्‍य हुनुहुन्‍छ र तपाईंलाई प्रेम गर्ने अनि तपाईंको आज्ञा मान्‍नेहरूलाई अटुट प्रेम गर्नुहुन्‍छ। “हामीले पाप गरेका छौं, हामी दुष्‍ट भएका छौं र कुकर्म गरेका छौं। तपाईंले हामीलाई दिनुभएको आज्ञा हामीले भङ्ग गरेका छौं र जुन असल काम गर्न तपाईंले हामीलाई देखाउनुभएको थियो, ती गर्न छोडेका छौं। हाम्रा राजाहरू, शासकहरू, पुर्खाहरू र देशका सारा प्रजासित तपाईंको नाउँमा बोल्‍ने तपाईंका सेवक अगमवक्ताहरूको कुरा हामीले मानेका छैनौं। तपाईं प्रभुले सधैँ ठीक काम गर्नुहुन्‍छ तर हामीले चाहिँ सधैँ आफैंमाथि अपमान ल्‍याएका छौं। तपाईंप्रति अविश्‍वासयोग्‍य भएका कारणले हामी यहूदा, यरूशलेम र इस्राएलका मानिसहरूलाई तपाईंले टाढा-नजिकका देशहरूमा छरपष्‍ट पार्नुभएको छ। हाम्रा राजाहरू, शासकहरू र पिता-पुर्खाहरूले तपाईं परमप्रभुको विरुद्धमा पाप गरेकाले हामी लाजमा परेका छौं। हामीले तपाईंको विरुद्धमा विद्रोह गरेको भए पनि तपाईं कृपालु र क्षमाशील हुनुहुन्‍छ। हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको नियमअनुसार जिउन तपाईंले आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा दिनुभएको वचन हामीले मानेनौं। सारा इस्राएलले तपाईंका आज्ञाहरू तोडे र तपाईंको वचन नसुनी तपाईंदेखि तर्किगए। तपाईंको विरुद्धमा हामीले पाप गर्‍यौं। यसर्थ तपाईंको सेवक मोशाको व्‍यवस्‍थामा लेखिएका श्रापहरू हामीमाथि खन्‍याउनुभयो। हाम्रा शासकहरू र हामीलाई जे गर्छु भनी भन्‍नुभएको थियो, त्‍यो पूरा गर्नुभयो। तपाईंले यरूशलेमलाई संसारको अरू कुनै सहरमा नपरेको कठोर दण्‍ड दिनुभयो र मोशाको व्‍यवस्‍थामा वर्णन गरिएका सबै दण्‍डहरू हामीमाथि खन्‍याउनुभयो; तर अझै पनि हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीले आफ्‍ना पाप त्‍यागेर वा तपाईंको सत्‍यकोपछि लागेर तपाईंलाई खुसी पार्ने काम गरेका छैनौं। हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईं हामीलाई दण्‍ड दिन तयार हुनुहुन्‍थ्‍यो र दण्‍ड दिनु पनि भयो किनभने तपाईंले जे ठीक छ, त्‍यही कुरा गर्नुहुन्‍छ र हामीले चाहिँ तपाईंको वचन पालन गरेनौं। “हे परमप्रभु हाम्रा परमेश्‍वर, आफ्‍ना प्रजालाई मिश्रबाट निकालिल्‍याउनुभएर तपाईंले आफ्‍नो शक्ति देखाउनुभयो र तपाईंको शक्तिको आजसम्‍म याद गरिन्‍छ। हामीले पाप गरेका छौं। हामीले खराबी गरेका छौं। बितेका दिनमा तपाईंले हाम्रो रक्षा गर्नुभयो र अबदेखि उसो यरूशलेमसित नरिसाउनुहोस्। त्‍यो तपाईंको सहर हो, तपाईंको पवित्र डाँडा हो। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूका दुष्‍ट कामले गर्दा हाम्रा छिमेकी देशहरूका सबै मानिसहरूले यरूशलेम र तपाईंको प्रजालाई हेला गर्छन्। हे परमेश्‍वर, मेरो प्रार्थना र अन्‍तरबिन्‍ती सुन्‍नुहोस्। ध्‍वस्‍त भएको मन्‍दिरलाई तपाईंको आफ्‍नो नाउँको खातिर फेरि बनाउनुहोस् र तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ भनी सबैले थाहा पाउनेछन्। हे परमेश्‍वर, हामीतिर आफ्‍ना कान थाप्‍नुहोस् र हामीलाई हेर्नुहोस् र हामीमाथि परेका कष्‍ट र तपाईंको नाममा बनेको सहरको दु:ख-कष्‍ट बुझिदिनुहोस्। हामीले असल काम गरेको कारणले होइन; तर तपाईं कृपालु हुनुहुन्‍छ र हामी तपाईंलाई प्रार्थना गर्दछौं। परमप्रभु, हाम्रो बिन्‍ती सुन्‍नुहोस्! परमप्रभु, हामीलाई क्षमा गर्नुहोस् परमप्रभु हाम्रो बिन्‍ती सुनेर त्‍योअनुसार काम गर्नुहोस्। तपाईंकै नाउँको खातिर अब ढीलो नगर्नुहोस्! यो सहर र यहाँका मानिसहरू तपाईंकै हुन्।”

दानिएल 9 पढ्नुहोस्