YouVersion लोगो
खोज आइकन

दानिएल 9:4-19

दानिएल 9:4-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मैले पाप स्‍वीकार गर्दै परमप्रभु मेरा परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमप्रभु, महान्‌ र भययोग्‍य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने सबैसँग प्रेमको करार पूरा गर्नुहुन्‍छ, हामीले पाप गरेका छौं र गल्‍ती गरेका छौं। हामी दुष्‍ट भएका छौं र बागी बनेका छौं, हामी तपाईंका आज्ञा र धार्मिक नियमहरूबाट तर्केका छौं। हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरामा ध्‍यान दिएनौं, जसले तपाईंको नाउँमा हाम्रा राज्‍यहरू, हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए। “परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, तर तपाईंप्रति भएको विश्‍वासघातको कारणले सबै देशहरूमा छरपष्‍ट पारिएका नजिक र टाढ़ा बस्‍ने, हामी यहूदाका मानिसहरू र यरूशलेम र इस्राएलका जनताहरू लाजले ढाकिएका छौं। हे परमप्रभु, हामी र हाम्रा राजाहरू हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू लाजले ढाकिएका छौं, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं। हामी उहाँको विरुद्धमा बागी भएका छौं, यद्यपि परमप्रभु हाम्रा परमेश्‍वर कृपालु र क्षमाशील हुनुहुन्‍छ। हामीले परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालन गरेका छैनौं र उहाँका सेवक अगमवक्ताहरूद्वारा दिइएका नियमहरू पनि मानेका छैनौं। तपाईंको आज्ञापालन गर्न अस्‍वीकार गरी सम्‍पूर्ण इस्राएलले तपाईंको व्‍यवस्‍था भङ्ग गरेका छन्‌ र तपाईंदेखि टाढ़ा भएका छन्‌। “यसकारण परमेश्‍वरका सेवक मोशाको व्‍यवस्‍थामा उल्‍लिखित सराप र शपथ गरिएका फैसलाहरू हामीमाथि खन्‍याइएका छन्, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं। हामीमाथि ठूलो विपत्ति ल्‍याएर हाम्रा विरुद्धमा र हाम्रा शासकहरूका विरुद्धमा बोल्‍नुभएका वचनहरू तपाईंले पूरा गर्नुभएको छ। यरूशलेमसित आकाशमुनि कहिल्‍यै नगरिएको व्‍यवहार गरिएको छ। मोशाको व्‍यवस्‍थामा लेखिएजस्‍तै यी सबै विपत्ति हामीमाथि आएका छन्, तैपनि आफ्‍ना पापदेखि फर्की तपाईंको सत्‍यतालाई ध्‍यान दिएर हामीले परमप्रभु हाम्रा परमेश्‍वरको कृपा खोजेका छैनौं। हामीमाथि विपत्ति ल्‍याउन परमप्रभु अनकनाउनुभएन, किनभने परमप्रभु हाम्रा परमेश्‍वर उहाँले गर्नुहुने सबै कुरामा धर्मी हुनुहुन्‍छ। तापनि हामीले उहाँको आज्ञा मानेका छैनौं। “अब हे परमप्रभु हाम्रा परमेश्‍वर, जसले आफ्‍ना जनहरूलाई शक्तिशाली हातले मिश्रदेशबाट ल्‍याउनुभयो र आजको दिनसम्‍म आफ्‍नो नाम स्‍थिर राख्‍नुभएको छ, हामीले पाप गरेका छौं, हामीले गल्‍ती गरेका छौं। हे परमप्रभु, तपाईंका धार्मिक कार्यअनुरूप तपाईंको सहर, तपाईंको पवित्र डाँड़ा यरूशलेमबाट आफ्‍नो क्रोध र रीस हटाउनुहोस्‌। हाम्रा पाप र हाम्रा पिता-पुर्खाका अपराधले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा वरिपरिका मानिसहरूका सामु गिल्‍लाका पात्र बनेका छन्‌। “अब हे हाम्रा परमेश्‍वर, आफ्‍नो दासको प्रार्थना र अन्‍तर्बिन्‍ती सुन्‍नुहोस्‌। हे परमप्रभु, तपाईंको आफ्‍नै खातिर आफ्‍नो उजाड़ पारिएको पवित्रस्‍थानमाथि कृपा-दृष्‍टि राखिदिनुहोस्‌। हे परमेश्‍वर, आफ्‍नो कान थाप्‍नुहोस्‌ र आँखा खोल्‍नुहोस्‌ र तपाईंको नाउँ बोकेको सहरको उजाड़ अवस्‍था हेर्नुहोस्‌। हामी धर्मी छौं भनेर यो बिन्‍ती गरेका छैनौं, तर तपाईंको महान्‌ कृपाको कारणले। हे परमप्रभु, सुन्‍नुहोस्‌! हे परमप्रभु, क्षमा गर्नुहोस्‌! हे परमप्रभु, सुन्‍नुहोस्‌ र कारबाही गर्नुहोस्‌। हे मेरा परमेश्‍वर, आफ्‍नो खातिर ढिलो नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिसहरूले तपाईंको नाउँ बोकेका छन्‌।”

शेयर गर्नुहोस्
दानिएल 9 पढ्नुहोस्

दानिएल 9:4-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मैले याहवेह मेरा परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्ना पापहरू स्वीकार गरेँ: “हे प्रभु, महान् र भययोग्य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरू सबैसित आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ; हामीले पाप गरेका छौँ, र भूल गरेका छौँ। हामी दुष्‍ट भएका छौँ, र हामी विद्रोही भएका छौँ; हामी तपाईंका आज्ञाहरू र व्यवस्थाहरूबाट तर्किगएका छौँ। हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरा सुनेनौँ, जसले तपाईंको नाममा हाम्रा राजाहरू, हाम्रा शासकहरू, हाम्रा पितापुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए। “हे प्रभु, तपाईं धर्मी हुनुहुन्छ, तर आज हामी शर्मले ढाकिएका छौँ—यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू र सबै इस्राएलीहरू, नजिक र टाढा बस्‍ने दुवै, सबै देशहरूमा, जहाँ हाम्रा अविश्‍वासयोग्यताको कारण तपाईंले हामीलाई तितरबितर पारिदिनुभएको छ। हे याहवेह, हामी र हाम्रा राजाहरू, हाम्रा शासकहरू र हाम्रा पितापुर्खाहरू शर्मले ढाकिएका छौँ; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ। प्रभु, हाम्रा परमेश्‍वर कृपालु र क्षमा दिने हुनुहुन्छ; यद्यपि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौँ। हामीले याहवेह हाम्रा परमेश्‍वरको आज्ञापालन गरेका छैनौँ, अथवा उहाँले आफ्ना सेवक अगमवक्ताहरूद्वारा हामीलाई दिनुभएका व्यवस्थाहरू पालन गरेका छैनौँ। सारा इस्राएलका मानिसहरूले तपाईंको व्यवस्था उल्‍लङ्घन गरेका छन्, र तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गर्दै तर्किगएका छन्। “यसकारण परमेश्‍वरको सेवक मोशाको व्यवस्थामा लेखिएका श्रापहरू र शपथद्वारा फैसला गरिएका न्यायहरू हामीमाथि खन्याइएका छन्; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ। तपाईंले हाम्रा र हाम्रा शासकहरूका विरुद्धमा बोलिएका वचनहरू हामीमाथि ठूलो विपत्ति ल्याएर पूरा गर्नुभएको छ। आकाशमुनि सारा संसारभरि कहिल्यै पनि नआएको विपत्ति यरूशलेममाथि आयो। मोशाको व्यवस्थामा लेखिएको जस्तै हामीमाथि सबै विपत्तिहरू आएका छन्, तापनि हामीले आफ्ना पापहरू त्यागेर तपाईंको सत्यतामा ध्यान दिएर हामीले याहवेह आफ्ना परमेश्‍वरको निगाह खोजेका छैनौँ। यसकारण हामीमाथि विपत्ति ल्याउनलाई याहवेह हिच्किचाउनुभएन; किनकि याहवेह हाम्रा परमेश्‍वरले गर्नुहुने सबै कुरामा उहाँ धर्मी हुनुहुन्छ; तापनि हामीले उहाँका आज्ञाहरू पालन गरेका छैनौँ। “अब, हे प्रभु, हाम्रा परमेश्‍वर, जसले आफ्ना मानिसहरूलाई सामर्थी हातद्वारा इजिप्टबाट बाहिर ल्याउनुभयो; अनि जसले आफ्नै निम्ति मानिसहरूका बीचमा एउटा असल नाम राख्नुभयो, जुन नाम आजको दिनसम्म नै याद गरिन्छ। हामीले पाप गरेका छौँ; हामीले भूल गरेका छौँ। हे प्रभु, तपाईंका सबै धार्मिक कामहरू कायम राख्नुहोस्; अनि आफ्नो रिस र क्रोधलाई तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट हटाउनुहोस्। हाम्रा पापहरू र हाम्रा पितापुर्खाहरूका अधर्महरूले यरूशलेम र तपाईंका मानिसहरूलाई हाम्रा चारैतिर भएका मानिसहरूका निम्ति निन्दाको पात्र बनाइदिएका छन्। “अब, हे हाम्रा परमेश्‍वर, तपाईंको सेवकको प्रार्थना र अन्तर्बिन्ती सुन्‍नुहोस्। तपाईंको नामको खातिर, हे प्रभु, तपाईंको उजाड पवित्रस्थानलाई निगाहको दृष्‍टिले हेर्नुहोस्। हे हाम्रा परमेश्‍वर, कान थाप्नुहोस् र सुन्‍नुहोस्; तपाईंको आँखा खोल्नुहोस्, र तपाईंको नाम बोकेको सहरको उजाड अवस्था हेर्नुहोस्। हामी धर्मी भएका कारणले तपाईंलाई बिन्ती गरेका होइनौँ, तर तपाईंको महान् कृपाको कारणले गर्दा बिन्ती गर्छौँ। हे प्रभु, सुन्‍नुहोस्! हे प्रभु, क्षमा गर्नुहोस्! हे प्रभु, सुन्‍नुहोस् र काम गर्नुहोस्! तपाईंकै खातिर, हे मेरा परमेश्‍वर, विलम्ब नगर्नुहोस्; किनकि तपाईंको सहर यरूशलेम र तपाईंका मानिसहरूले तपाईंको नाम बोकेका छन्।”

शेयर गर्नुहोस्
दानिएल 9 पढ्नुहोस्

दानिएल 9:4-19 पवित्र बाइबल (NERV)

मैले परमप्रभु मेरो परमेश्वरलाई प्रार्थना गरें। मैले मेरा सबै पापहरूको विषयमा उहाँलाई मैले भनें, “हे परमप्रभु तपाईं महान अनि भय योग्य परमेश्वर हुनुहुन्छ। तपाईंसित प्रेम गर्ने मानिसहरूसित तपाईंले प्रेम अनि दया गर्नुहुन्छ। तपाईंले तपाईंको करार मानिसहरूसित राख्नु हुन्छ जसले तपाईंको आज्ञाहरू पालन गर्छन्। “तर परमप्रभु हामी पापी हौं। हामीले नराम्रो कर्म गर्यौं, कुकर्म गर्यौं, तपाईंको विरोध गर्यौ र तपाईंको निष्पक्ष न्याय अनि आदेशबाट टाढा गयौं। तपाईंका दास अगमवक्ताहरू, हाम्रा राजाहरू, शासकहरू, पिता पुर्खाहरू अनि देशका सबै मानिसहरूसँग तपाईंको नाउँमा बोलेका थिए! तर हामीले तिनीहरूको कुरा सुनेनौं। “हे परमप्रभु, तपाईं असल हुनुहुन्छ अनि सदचारिता तपाईंकै हो! तर आज लाज हाम्रो हो। लाज यहूदा र यरूशलेमका मानिसहरूबाट हो। लाज इस्राएलका सबै मानिसहरूको हो। मानिसहरू जो नजिकमा छ। अनि मानिसहरू त्यसको टाडामा छन्। परमप्रभु तपाईंले ती मानिसहरूलाई धेरै जातिहरूको बीचमा छरपष्ट पार्नु भयो। अनि ती देशमा भएका इस्राएलका मानिसहरू लज्जित हुनुपर्छ। तिनीहरूले तपाईंको विरूद्धमा नराम्रो काम गरेका हुनाले तिनीहरू लज्जित हुनुपर्छ, परमप्रभु! “हे परमप्रभु हामी सबै लज्जित हुनु पर्छ। हाम्रो सबै राजाहरू र अगुवाहरू लज्जित हुनु पर्छ। हाम्रो पिता-पुर्खाहरू लज्जित हुन पर्छ। किनभने हामीले तपाईंको विरूद्ध पाप गरेका छौ, परमप्रभु! “तर हे परमप्रभु तपाईं दयालु हुनुहुन्छ। तिनीहरूले गरेको नराम्रो कार्यहरूका निम्ति तपाईंले मानिसहरूलाई क्षमा दिनुहुन्छ। अनि हामी तपाईंको विरूद्ध बागी भएकाछौं। हामीले परमप्रभु हाम्रा परमेश्वरको आज्ञा पालन गरेका छैनौं। परमप्रभुले उहाँका दासहरू, अगमवक्ताहरू प्रयोग गरेर हामीहरूलाई नियमहरू दिनुभयो तर हामीले उहाँको नियमहरू पालन गरेनौं। तपाईंको वचन पालन नगरेर सारा इस्राएलीहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् अनि त्यसदेखि तर्केकाछन्। परमेश्वरको दास मोशाको व्यवस्थामा देखाईएका आज्ञा र तोकिएका सराप हामीमाथि पानी झैं खनिएकाछन्, किनकि हामीले उहाँको विरूद्धमा पाप गर्यौं। “हामीमाथि र यरूशलेममाथि संसारमा कहिल्यै नभएको विपत्ति ल्याएर हामी र हाम्रा शासकहरूको विषयमा भन्नु भएका सबै कुरा तपाईंले पूरा गर्नुभएको छ। हामीमाथि आएका सबै विपत्तिहरू मोशाको व्यवस्थाको पुस्तकमा पहिलानै लेखिएका थिए तर पनि हामीले आफ्ना परमेश्वरको सम्मानमा केही गरेका छैनौं। आफ्नो अधर्मको कामबाट हामीले पश्चाताप गरेनौं तपाईं आफ्नो वचनमा प्रतिवद्ध हुनुहुन्छ भन्ने कुरामा हामीले ध्यानै दिएनौ। यसकारण परमप्रभुले आफ्नो समयमा यो विपत्ति हामीमाथि ल्याउनु भयो। आफूले गर्नु भएका सबै कुरामा परमप्रभु हाम्रा परमेश्वर ठीक हुनुहुन्छ तर पनि हामीले उहाँको आज्ञा पालन गरेका छैनौं। “अब परमप्रभु हाम्रो परमेश्वर जसले आफ्नो लोकलाई शक्तिशाली हातद्वारा मिश्र देशबाट निकालेर ल्याउनु भयो र आजको दिनसम्मै कायम रहने नाउँ राख्नु भएकोछ हामीले पाप गरेका छौं। हे परमप्रभु! तपाईंको दया, उद्धारको राम्रो कामहरूद्वारा आफ्नो शहर पवित्र डाँडा यरूशलेमबाट आफ्नो क्रोध र रीस हटाउनु होस्। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूको दोषले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा सबै छिमेकीहरूका बीचमा हामी लज्जित भएकाछौं। “अब हाम्रो परमप्रभु हाम्रो प्रार्थना सुन्नुहोस्। म तपाईंको दास हुँ सहायताको निम्ति मेरो प्रार्थना तिनीहरूको पवित्र स्थानका निम्ति असल कुराहरू गर्नुहोस्। त्यो भवन नष्ट भएको थियो। तर मालिक, तपाईं आफ्नै राम्रोको निम्ति यी असल कुराहरू गर्नुहोस्। मेरो परमेश्वर आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नहोस्। हाम्रो आफ्नै धार्मिकता द्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईंका सामुन्ने हामी आफ्नो अन्तर-बिन्ती टक्राउँदछौं। हे परमप्रभु! सुन्नुहोस्, मेरा परमेश्वर हाम्रो पाप क्षमा गर्नुहोस्, मेरो परमेश्वर हाम्रो प्रार्थना सुनेर त्यस अनुसार गरिदिनु होस। किनभने यो तपाईं आफ्नो भलाईको निम्ति गर्नुहोस, ढिलो नगर्नुहोस, तपाईंको शहर र तपाईंको नानिस तपाईंकै नाउँले कहलाइएकोछन्।”

शेयर गर्नुहोस्
दानिएल 9 पढ्नुहोस्

दानिएल 9:4-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मेरा मानिसहरूको पापको निम्‍ति पश्‍चात्ताप गर्दै परमप्रभु मेरा परमेश्‍वरलाई मैले प्रार्थना गरें। मैले बिन्‍ती गरें, “परमप्रभु परमेश्‍वर, तपाईं महान् हुनुहुन्‍छ र हामी तपाईंको आदर गर्दछौं। तपाईं आफ्‍नो करार पूरा गर्न विश्‍वासयोग्‍य हुनुहुन्‍छ र तपाईंलाई प्रेम गर्ने अनि तपाईंको आज्ञा मान्‍नेहरूलाई अटुट प्रेम गर्नुहुन्‍छ। “हामीले पाप गरेका छौं, हामी दुष्‍ट भएका छौं र कुकर्म गरेका छौं। तपाईंले हामीलाई दिनुभएको आज्ञा हामीले भङ्ग गरेका छौं र जुन असल काम गर्न तपाईंले हामीलाई देखाउनुभएको थियो, ती गर्न छोडेका छौं। हाम्रा राजाहरू, शासकहरू, पुर्खाहरू र देशका सारा प्रजासित तपाईंको नाउँमा बोल्‍ने तपाईंका सेवक अगमवक्ताहरूको कुरा हामीले मानेका छैनौं। तपाईं प्रभुले सधैँ ठीक काम गर्नुहुन्‍छ तर हामीले चाहिँ सधैँ आफैंमाथि अपमान ल्‍याएका छौं। तपाईंप्रति अविश्‍वासयोग्‍य भएका कारणले हामी यहूदा, यरूशलेम र इस्राएलका मानिसहरूलाई तपाईंले टाढा-नजिकका देशहरूमा छरपष्‍ट पार्नुभएको छ। हाम्रा राजाहरू, शासकहरू र पिता-पुर्खाहरूले तपाईं परमप्रभुको विरुद्धमा पाप गरेकाले हामी लाजमा परेका छौं। हामीले तपाईंको विरुद्धमा विद्रोह गरेको भए पनि तपाईं कृपालु र क्षमाशील हुनुहुन्‍छ। हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको नियमअनुसार जिउन तपाईंले आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा दिनुभएको वचन हामीले मानेनौं। सारा इस्राएलले तपाईंका आज्ञाहरू तोडे र तपाईंको वचन नसुनी तपाईंदेखि तर्किगए। तपाईंको विरुद्धमा हामीले पाप गर्‍यौं। यसर्थ तपाईंको सेवक मोशाको व्‍यवस्‍थामा लेखिएका श्रापहरू हामीमाथि खन्‍याउनुभयो। हाम्रा शासकहरू र हामीलाई जे गर्छु भनी भन्‍नुभएको थियो, त्‍यो पूरा गर्नुभयो। तपाईंले यरूशलेमलाई संसारको अरू कुनै सहरमा नपरेको कठोर दण्‍ड दिनुभयो र मोशाको व्‍यवस्‍थामा वर्णन गरिएका सबै दण्‍डहरू हामीमाथि खन्‍याउनुभयो; तर अझै पनि हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीले आफ्‍ना पाप त्‍यागेर वा तपाईंको सत्‍यकोपछि लागेर तपाईंलाई खुसी पार्ने काम गरेका छैनौं। हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईं हामीलाई दण्‍ड दिन तयार हुनुहुन्‍थ्‍यो र दण्‍ड दिनु पनि भयो किनभने तपाईंले जे ठीक छ, त्‍यही कुरा गर्नुहुन्‍छ र हामीले चाहिँ तपाईंको वचन पालन गरेनौं। “हे परमप्रभु हाम्रा परमेश्‍वर, आफ्‍ना प्रजालाई मिश्रबाट निकालिल्‍याउनुभएर तपाईंले आफ्‍नो शक्ति देखाउनुभयो र तपाईंको शक्तिको आजसम्‍म याद गरिन्‍छ। हामीले पाप गरेका छौं। हामीले खराबी गरेका छौं। बितेका दिनमा तपाईंले हाम्रो रक्षा गर्नुभयो र अबदेखि उसो यरूशलेमसित नरिसाउनुहोस्। त्‍यो तपाईंको सहर हो, तपाईंको पवित्र डाँडा हो। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूका दुष्‍ट कामले गर्दा हाम्रा छिमेकी देशहरूका सबै मानिसहरूले यरूशलेम र तपाईंको प्रजालाई हेला गर्छन्। हे परमेश्‍वर, मेरो प्रार्थना र अन्‍तरबिन्‍ती सुन्‍नुहोस्। ध्‍वस्‍त भएको मन्‍दिरलाई तपाईंको आफ्‍नो नाउँको खातिर फेरि बनाउनुहोस् र तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ भनी सबैले थाहा पाउनेछन्। हे परमेश्‍वर, हामीतिर आफ्‍ना कान थाप्‍नुहोस् र हामीलाई हेर्नुहोस् र हामीमाथि परेका कष्‍ट र तपाईंको नाममा बनेको सहरको दु:ख-कष्‍ट बुझिदिनुहोस्। हामीले असल काम गरेको कारणले होइन; तर तपाईं कृपालु हुनुहुन्‍छ र हामी तपाईंलाई प्रार्थना गर्दछौं। परमप्रभु, हाम्रो बिन्‍ती सुन्‍नुहोस्! परमप्रभु, हामीलाई क्षमा गर्नुहोस् परमप्रभु हाम्रो बिन्‍ती सुनेर त्‍योअनुसार काम गर्नुहोस्। तपाईंकै नाउँको खातिर अब ढीलो नगर्नुहोस्! यो सहर र यहाँका मानिसहरू तपाईंकै हुन्।”

शेयर गर्नुहोस्
दानिएल 9 पढ्नुहोस्