दानिएल 9
9
आफ्नो निम्ति दानिएलको प्रार्थना
1अहासूरसका छोरा मादी-वंशका दाराले बेबिलोनमा राज्य गर्थे। 2#यर्मिया 25:11; 29:10उनी राजा भएको पहिलो वर्षमा म पवित्र पुस्तकहरू पढ्दै थिएँ र परमप्रभुले यर्मिया अगमवक्तालाई भन्नुभएको यरूशलेम सत्तरी वर्षसम्म ध्वस्त हुने समयबारे सोच्दै थिएँ। 3अनि मैले प्रभु परमेश्वरलाई उपवाससाथ भाङ्ग्राको लुगा लगाई खरानीमा बसी प्रार्थना र अन्तरबिन्ती गरें। 4मेरा मानिसहरूको पापको निम्ति पश्चात्ताप गर्दै परमप्रभु मेरा परमेश्वरलाई मैले प्रार्थना गरें।
मैले बिन्ती गरें, “परमप्रभु परमेश्वर, तपाईं महान् हुनुहुन्छ र हामी तपाईंको आदर गर्दछौं। तपाईं आफ्नो करार पूरा गर्न विश्वासयोग्य हुनुहुन्छ र तपाईंलाई प्रेम गर्ने अनि तपाईंको आज्ञा मान्नेहरूलाई अटुट प्रेम गर्नुहुन्छ।
5“हामीले पाप गरेका छौं, हामी दुष्ट भएका छौं र कुकर्म गरेका छौं। तपाईंले हामीलाई दिनुभएको आज्ञा हामीले भङ्ग गरेका छौं र जुन असल काम गर्न तपाईंले हामीलाई देखाउनुभएको थियो, ती गर्न छोडेका छौं। 6हाम्रा राजाहरू, शासकहरू, पुर्खाहरू र देशका सारा प्रजासित तपाईंको नाउँमा बोल्ने तपाईंका सेवक अगमवक्ताहरूको कुरा हामीले मानेका छैनौं। 7तपाईं प्रभुले सधैँ ठीक काम गर्नुहुन्छ तर हामीले चाहिँ सधैँ आफैंमाथि अपमान ल्याएका छौं। तपाईंप्रति अविश्वासयोग्य भएका कारणले हामी यहूदा, यरूशलेम र इस्राएलका मानिसहरूलाई तपाईंले टाढा-नजिकका देशहरूमा छरपष्ट पार्नुभएको छ। 8हाम्रा राजाहरू, शासकहरू र पिता-पुर्खाहरूले तपाईं परमप्रभुको विरुद्धमा पाप गरेकाले हामी लाजमा परेका छौं। 9हामीले तपाईंको विरुद्धमा विद्रोह गरेको भए पनि तपाईं कृपालु र क्षमाशील हुनुहुन्छ। 10हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंको नियमअनुसार जिउन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूद्वारा दिनुभएको वचन हामीले मानेनौं। 11सारा इस्राएलले तपाईंका आज्ञाहरू तोडे र तपाईंको वचन नसुनी तपाईंदेखि तर्किगए। तपाईंको विरुद्धमा हामीले पाप गर्यौं। यसर्थ तपाईंको सेवक मोशाको व्यवस्थामा लेखिएका श्रापहरू हामीमाथि खन्याउनुभयो। 12हाम्रा शासकहरू र हामीलाई जे गर्छु भनी भन्नुभएको थियो, त्यो पूरा गर्नुभयो। तपाईंले यरूशलेमलाई संसारको अरू कुनै सहरमा नपरेको कठोर दण्ड दिनुभयो 13र मोशाको व्यवस्थामा वर्णन गरिएका सबै दण्डहरू हामीमाथि खन्याउनुभयो; तर अझै पनि हे परमप्रभु हाम्रा परमेश्वर, हामीले आफ्ना पाप त्यागेर वा तपाईंको सत्यकोपछि लागेर तपाईंलाई खुसी पार्ने काम गरेका छैनौं। 14हे परमप्रभु हाम्रा परमेश्वर, तपाईं हामीलाई दण्ड दिन तयार हुनुहुन्थ्यो र दण्ड दिनु पनि भयो किनभने तपाईंले जे ठीक छ, त्यही कुरा गर्नुहुन्छ र हामीले चाहिँ तपाईंको वचन पालन गरेनौं।
15“हे परमप्रभु हाम्रा परमेश्वर, आफ्ना प्रजालाई मिश्रबाट निकालिल्याउनुभएर तपाईंले आफ्नो शक्ति देखाउनुभयो र तपाईंको शक्तिको आजसम्म याद गरिन्छ। हामीले पाप गरेका छौं। हामीले खराबी गरेका छौं। 16बितेका दिनमा तपाईंले हाम्रो रक्षा गर्नुभयो र अबदेखि उसो यरूशलेमसित नरिसाउनुहोस्। त्यो तपाईंको सहर हो, तपाईंको पवित्र डाँडा हो। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूका दुष्ट कामले गर्दा हाम्रा छिमेकी देशहरूका सबै मानिसहरूले यरूशलेम र तपाईंको प्रजालाई हेला गर्छन्। 17हे परमेश्वर, मेरो प्रार्थना र अन्तरबिन्ती सुन्नुहोस्। ध्वस्त भएको मन्दिरलाई तपाईंको आफ्नो नाउँको खातिर फेरि बनाउनुहोस् र तपाईं नै परमेश्वर हुनुहुन्छ भनी सबैले थाहा पाउनेछन्। 18हे परमेश्वर, हामीतिर आफ्ना कान थाप्नुहोस् र हामीलाई हेर्नुहोस् र हामीमाथि परेका कष्ट र तपाईंको नाममा बनेको सहरको दु:ख-कष्ट बुझिदिनुहोस्। हामीले असल काम गरेको कारणले होइन; तर तपाईं कृपालु हुनुहुन्छ र हामी तपाईंलाई प्रार्थना गर्दछौं। 19परमप्रभु, हाम्रो बिन्ती सुन्नुहोस्! परमप्रभु, हामीलाई क्षमा गर्नुहोस् परमप्रभु हाम्रो बिन्ती सुनेर त्योअनुसार काम गर्नुहोस्। तपाईंकै नाउँको खातिर अब ढीलो नगर्नुहोस्! यो सहर र यहाँका मानिसहरू तपाईंकै हुन्।”
गब्रिएलले अगमवाणीको अर्थ खोलिदिन्छन्
20मेरा इस्राएल जाति र मेरा आफ्नै पापको लागि कायल हुँदै मैले परमप्रभु मेरा परमेश्वरलाई उहाँको पवित्र मन्दिर फेरि खडा गर्नुहोस् भनी बिन्ती गर्दै प्रार्थना गरिरहें। 21#लूका 1:19,26मैले प्रार्थना गरिरहेको समय मैले अघि दर्शनमा देखेका गब्रिएल वेगले उडेर म भएको ठाउँमा आए। त्यतिखेर साँझको बलिदानको समय भएको थियो। 22तिनले यसरी वर्णन गरे, “ए दानिएल, अगमवाणी बुझाउनलाई म यहाँ आएको हुँ। 23जब तिमीले परमेश्वरसित अर्जबिन्ती गर्न थाल्यौ, उहाँले तिमीलाई जवाफ दिनुभयो। उहाँले तिमीलाई प्रेम गर्नुहुन्छ। यसकारण म तिमीलाई परमेश्वरको उत्तर दिनलाई आएको छु। अब मैले त्यस दर्शनको अर्थ खोलिदिँदा ध्यानसित सुन।
24“पाप र खराबीबाट तिम्रा जाति र पवित्र सहरलाई छुटकारा दिन परमेश्वरले सात गुणा सत्तरी वर्षको एउटा समय तोक्नुभएको छ। त्यसपछि पाप क्षमा गरिनेछ र सदाकालको न्याय स्थापित गरिनेछ अनि यी दर्शन र अगमवाणी पूरा हुनेछन् र फेरि पवित्र मन्दिर अर्पण गरिनेछ। 25यस कुरालाई ध्यान देऊ र राम्ररी बुझ; यरूशलेमलाई फेरि निर्माण गर्ने आज्ञा दिनुभएको दिनदेखि परमेश्वरले अभिषेक गर्नुभएको अगुवा नआईन्जेल सात गुणा सत्तरी वर्ष समय बित्नेछ। यरूशलेमको बाटा-घाटा र पर्खालहरू फेरि बनाइनेछन् र त्यो सात गुणा बयसट्ठी वर्षसम्म त्यस अवस्थामा रहनेछ; तर त्यो समयचाहिँ कष्टको समय हुनेछ। 26त्यो समय बितेपछि परमेश्वरले अभिषेक गर्नुभएको अगुवा अन्यायसाथ मारिनेछन्। हमला गर्दैआउने एउटा शक्तिशाली शासकको सेनाले सहर र मन्दिर नाश गर्नेछ। वर्षाको भलझैँ अन्त्य आउनेछ र त्यसले परमेश्वरले तयार गर्नुभएको लडाइँ र विनाश ल्याउनेछ। 27#दानिएल 11:31; 12:11; मत्ती 24:15; मर्कूस 13:14त्यस राजाले सात वर्षसम्म धेरै मानिसहरूसित दह्रो सम्झौता राख्नेछ र त्यसको साढे तीन वर्ष बितेपछि त्यसले सबै बलिदान र भेटीहरू चढाउन बन्द गरिदिनेछ। मन्दिरको सबैभन्दा उच्च भागमा भयानक नाशकर्ताको मूर्ति राखिनेछ। त्यो मूर्ति त्यहाँ राख्ने मानिसले परमेश्वरबाट त्यसको निम्ति तयार पारिएको विनाश नभेटुञ्जेल त्यो मूर्ति त्यहीँ रहनेछ।”
अहिले सेलेक्ट गरिएको:
दानिएल 9: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.