YouVersion लोगो
खोज आइकन

दानिएल 9:4-19

दानिएल 9:4-19 NNRV

मैले पाप स्‍वीकार गर्दै परमप्रभु मेरा परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमप्रभु, महान्‌ र भययोग्‍य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने सबैसँग प्रेमको करार पूरा गर्नुहुन्‍छ, हामीले पाप गरेका छौं र गल्‍ती गरेका छौं। हामी दुष्‍ट भएका छौं र बागी बनेका छौं, हामी तपाईंका आज्ञा र धार्मिक नियमहरूबाट तर्केका छौं। हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरामा ध्‍यान दिएनौं, जसले तपाईंको नाउँमा हाम्रा राज्‍यहरू, हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए। “परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, तर तपाईंप्रति भएको विश्‍वासघातको कारणले सबै देशहरूमा छरपष्‍ट पारिएका नजिक र टाढ़ा बस्‍ने, हामी यहूदाका मानिसहरू र यरूशलेम र इस्राएलका जनताहरू लाजले ढाकिएका छौं। हे परमप्रभु, हामी र हाम्रा राजाहरू हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू लाजले ढाकिएका छौं, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं। हामी उहाँको विरुद्धमा बागी भएका छौं, यद्यपि परमप्रभु हाम्रा परमेश्‍वर कृपालु र क्षमाशील हुनुहुन्‍छ। हामीले परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालन गरेका छैनौं र उहाँका सेवक अगमवक्ताहरूद्वारा दिइएका नियमहरू पनि मानेका छैनौं। तपाईंको आज्ञापालन गर्न अस्‍वीकार गरी सम्‍पूर्ण इस्राएलले तपाईंको व्‍यवस्‍था भङ्ग गरेका छन्‌ र तपाईंदेखि टाढ़ा भएका छन्‌। “यसकारण परमेश्‍वरका सेवक मोशाको व्‍यवस्‍थामा उल्‍लिखित सराप र शपथ गरिएका फैसलाहरू हामीमाथि खन्‍याइएका छन्, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं। हामीमाथि ठूलो विपत्ति ल्‍याएर हाम्रा विरुद्धमा र हाम्रा शासकहरूका विरुद्धमा बोल्‍नुभएका वचनहरू तपाईंले पूरा गर्नुभएको छ। यरूशलेमसित आकाशमुनि कहिल्‍यै नगरिएको व्‍यवहार गरिएको छ। मोशाको व्‍यवस्‍थामा लेखिएजस्‍तै यी सबै विपत्ति हामीमाथि आएका छन्, तैपनि आफ्‍ना पापदेखि फर्की तपाईंको सत्‍यतालाई ध्‍यान दिएर हामीले परमप्रभु हाम्रा परमेश्‍वरको कृपा खोजेका छैनौं। हामीमाथि विपत्ति ल्‍याउन परमप्रभु अनकनाउनुभएन, किनभने परमप्रभु हाम्रा परमेश्‍वर उहाँले गर्नुहुने सबै कुरामा धर्मी हुनुहुन्‍छ। तापनि हामीले उहाँको आज्ञा मानेका छैनौं। “अब हे परमप्रभु हाम्रा परमेश्‍वर, जसले आफ्‍ना जनहरूलाई शक्तिशाली हातले मिश्रदेशबाट ल्‍याउनुभयो र आजको दिनसम्‍म आफ्‍नो नाम स्‍थिर राख्‍नुभएको छ, हामीले पाप गरेका छौं, हामीले गल्‍ती गरेका छौं। हे परमप्रभु, तपाईंका धार्मिक कार्यअनुरूप तपाईंको सहर, तपाईंको पवित्र डाँड़ा यरूशलेमबाट आफ्‍नो क्रोध र रीस हटाउनुहोस्‌। हाम्रा पाप र हाम्रा पिता-पुर्खाका अपराधले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा वरिपरिका मानिसहरूका सामु गिल्‍लाका पात्र बनेका छन्‌। “अब हे हाम्रा परमेश्‍वर, आफ्‍नो दासको प्रार्थना र अन्‍तर्बिन्‍ती सुन्‍नुहोस्‌। हे परमप्रभु, तपाईंको आफ्‍नै खातिर आफ्‍नो उजाड़ पारिएको पवित्रस्‍थानमाथि कृपा-दृष्‍टि राखिदिनुहोस्‌। हे परमेश्‍वर, आफ्‍नो कान थाप्‍नुहोस्‌ र आँखा खोल्‍नुहोस्‌ र तपाईंको नाउँ बोकेको सहरको उजाड़ अवस्‍था हेर्नुहोस्‌। हामी धर्मी छौं भनेर यो बिन्‍ती गरेका छैनौं, तर तपाईंको महान्‌ कृपाको कारणले। हे परमप्रभु, सुन्‍नुहोस्‌! हे परमप्रभु, क्षमा गर्नुहोस्‌! हे परमप्रभु, सुन्‍नुहोस्‌ र कारबाही गर्नुहोस्‌। हे मेरा परमेश्‍वर, आफ्‍नो खातिर ढिलो नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिसहरूले तपाईंको नाउँ बोकेका छन्‌।”