YouVersion लोगो
खोज आइकन

२ शमूएल 5:9-24

२ शमूएल 5:9-24 सरल नेपाली

गढ कब्‍जा गरेपछि दाऊद त्‍यहीँ बस्‍न लागे र त्‍यसको नाउँ “दाऊदको सहर” राखे। डाँडाको पूर्वपट्टि जमिन आबाद भएको ठाउँबाट सुरु गरी गढका चारैतर्फ दाऊदले सहर बसाले। दाऊद झन्-झन् शक्तिशाली हुँदै गए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर तिनीसित हुनुहुन्‍थ्‍यो। टुरोसका राजा हीरामले एक व्‍यापारी दूत-मण्‍डल दाऊदकहाँ पठाए। तिनले सिकर्मी र डकर्मीलाई देवदारुका रूखका मुढाहरूसहित महल बनाउन दाऊदकहाँ पठाइदिए। त्‍यसरी परमप्रभुले आफूलाई इस्राएलमाथि राजा सुदृढ गर्नुभएछ र आफ्‍ना प्रजाको खातिर आफ्‍नो राज्‍यको उन्‍नति गराउँदै हुनुहुन्‍छ भनी दाऊदले थाहा पाए। हेब्रोनबाट यरूशलेम सरेपछि दाऊदले अझै धेरै स्‍वास्‍नी र रखौटीहरू ल्‍याए र तिनका अरू धेरै छोरा-छोरीहरू भए। यरूशलेममा तिनका यी सन्‍तान जन्‍मे; शम्‍मूअ, शोबाब, नातान, सोलोमन, यिभार, एलीशूअ, नेपेग, यापी, एलीशामा, एल्‍यादा र एलीपेलेत। दाऊद इस्राएलका राजा भएको कुरा पलिश्‍तीहरूले सुने र तिनलाई पक्रन भनी पलिश्‍ती सेना निस्‍किआए। यो कुरा सुनेर दाऊद एक सुरक्षित गढीमा शरण लिन गए। पलिश्‍तीहरू रपाईको बेसीमा आएर त्‍यसलाई कब्‍जा गरे। दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्‍तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले मलाई विजयी गराउनुहुनेछ?” परमप्रभुले जवाफ दिनुभयो, “हुन्‍छ, आक्रमण गर्‌, म तँलाई विजयी गराउनेछु!” तब तिनी बाल-पराजीममा गए र त्‍यहाँ पलिश्‍तीहरूलाई हराए। तिनले भने, “परमप्रभुले मेरा शत्रुहरूलाई बाढीले भत्‍काएझैँ भत्‍काइदिनुभयो।” यसैले त्‍यस ठाउँको नाम बाल-पराजीम भयो। पलिश्‍तीहरूले आफ्‍ना मूर्तिहरू त्‍यहीँ छोडेर भागे र दाऊद र तिनका मानिसहरूले ती लगे। तब पलिश्‍तीहरू रपाईको बेसीमा नै फर्केर गए र त्‍यो फेरि आफ्‍नो कब्‍जामा लिए। फेरि एकपल्‍ट दाऊदले परमप्रभुसँग सोधे र उहाँले जवाफ दिनुभयो, “यहाँबाट तिनीहरूमाथि आक्रमण नगर्‌; तर घुमेर गई अर्कोपट्टिबाट लहरे-पीपलका बोटको छेउनेर तीमाथि आक्रमण गर्ने तयारी गर्‌। जब सेनाहरू हिँडेको जस्‍तो आवाज ती रूखहरूका टुप्‍पामा सुन्‍छस्, तब आक्रमण गर्‌ किनभने म त्‍यहाँ तेरो अघि-अघि पलिश्‍ती सेनालाई परास्‍त गर्न हिँडिरहेको हुनेछु।”

२ शमूएल 5 पढ्नुहोस्