YouVersion लोगो
खोज आइकन

२ इतिहास 23

23
अतल्‍याहका विरुद्धमा भएको विद्रोह
(२ राजा ११:४-१६)
1यहोयादा पूजाहारीले छ वर्षसम्‍म पर्खेपछि अब केही गर्नुपर्ने समय भयो भनी निश्‍चय गरे। उनले सेनाका पाँच जना अधिकृतहरूसित मित्रता गरे; यी अधिकृतहरू यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्‍माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापात। 2तिनीहरू यहूदाका सबै सहरहरूमा गए र लेवीहरू र गोत्र-गोत्रका अगुवाहरूलाई यरूशलेममा लिएर आए।
3 # 2 शमूएल 7:12 तिनीहरू मन्‍दिरमा भेला भए र राजाका छोरा योआशसँग एउटा करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “मृत राजाको छोरो यहाँ छन्। परमप्रभुले दाऊद राजाका सन्‍तान राजा हुनेछन् भनी भन्‍नुभएको थियो र अब यिनी राजा हुनुपर्छ। 4हामी यसो गर्नेछौं। विश्रामको दिनमा जब पूजाहारी र लेवीहरू काममा आउँछन्, एक तिहाइले मन्‍दिरका ढोकाहरूमा पहरा दिनेछन्, 5अर्को एक तिहाइले राजदरबारमा पहरा दिनेछन् र बाँकीचाहिँ फोहराका मूल-ढोकामा हाजिर हुनेछन्। अरू सबै मानिसहरू मन्‍दिरको चोकमा जम्‍मा हुनेछन्। 6काममा खटाइएका पूजाहारीहरू र लेवीहरूबाहेक कोही पनि मन्‍दिरभित्र पस्‍न पाउनेछैनन्। पूजाहारीहरू र लेवीहरू पस्‍न पाउँछन् किनभने तिनीहरू पवित्र कामको लागि अर्पण गरिएका छन्; तर बाँकी मानिसहरू सबैले परमप्रभुको आज्ञापालन गरी बाहिर बस्‍नेछन्। 7लेवीहरूले हातमा तरवार लिएर राजालाई घेरी पहरा दिनेछन् र राजा जहाँ जान्‍छन्, त्‍यहाँ उनका साथमा रहनेछन्। मन्‍दिरमा प्रवेश गर्न खोज्‍ने जोसुकै होस्, त्‍यसलाई मार्नू।”
8लेवीहरू र यहूदाका मानिसहरूले यहोयादाका आदेश पालन गरे। विश्रामको दिनमा काम गरिसक्‍ने मानिसहरूलाई घर फर्किन दिएनन् र कप्‍तानहरूका हातमा काममा आउने र कामबाट जाने दुवै थरीका पहरादारहरू थिए। 9यहोयादाले अधिकृतहरूका हातमा दाऊद राजाका भाला र ढालहरू दिए, जुन हतियारहरू मन्‍दिरमा राखिएका थिए। 10उनले राजाको रक्षाको निम्‍ति पहरादारहरूलाई हातमा तरवार लिएर मन्‍दिरका चारैतिर उभिन लाए। 11त्‍यसपछि यहोयादाले योआशलाई ल्‍याए, उनको शिरमा मुकुट लाइदिए र राजाले पालन गर्नुपर्ने नियमावलीको एउटा नक्‍कल दिए। यसरी उनी राजा बनाइए। यहोयादा पूजाहारी र उनका छोराहरूले योआशलाई अभिषेक गरे र सबैले “राजा दीर्घायु होऊन्!” भन्‍दै जोडसित कराए।
12मानिसहरूले राजालाई जयजयकार गरेका अतल्‍याहले सुनिन् र तिनी हतारिंदै मन्‍दिरमा गइन्। मानिसहरू त्‍यहाँ भेला भएका थिए। 13तिनले त्‍यहाँ मन्‍दिरका मूल-ढोकामा नयाँ राजालाई देखिन्‌। राजाको निम्‍ति अलग गरेको स्‍तम्‍भनिर योआश उभिएका थिए र उनलाई सेनाका अधिकृतहरूले र तुरही बजाउनेहरूले चारैतिर घेरेका थिए। सबै मानिसहरूले आनन्‍दले चिच्‍च्‍याउँदै र तुरही बजाउँदै थिए र त्‍यसमा मन्‍दिरका सङ्गीतकारहरूले बाजाहरू बजाउँदै अगुवाइ गरिरहेका थिए। दु:ख मानेर तिनले आफ्‍नो वस्‍त्र च्‍यातिन् र कराएर भनिन्, “विश्‍वासघात भयो, राजद्रोह भयो!”
14मन्‍दिर इलाकाभित्र अतल्‍याहको हत्‍या भएको यहोयादा चाहँदैनथे र उनले सैनिक अधिकृतहरूलाई बोलाएर भने, “पहरेदारहरूका पङ्क्तिका बीचबाट तिनलाई बाहिर लैजाओ र जसले तिनलाई बचाउन खोज्‍छ, त्‍यसलाई मार।”
15तिनीहरूले अतल्‍याहलाई समाते र महलमा लगे। अनि तिनीहरूले घोडा ढोकानिर उनलाई मारे।
यहोयादाका सुधारहरू
(२ राजा ११:१७-२०)
16योआश राजा र मानिसहरूलाई आफूसित एक भई हामी परमप्रभुका प्रजा भई बाच्‍नेछौं भनी यहोयादा पूजाहारीले करार बाँध्‍न लाए। 17त्‍यसपछि तिनीहरू सबैले गएर बालको मन्‍दिर भत्‍काइदिए। तिनीहरूले वेदीहरू र तिनमा भएका मूर्तिहरू तोडे र बालको पूजाहारी मत्तानलाई वेदीको सामुन्‍ने मारे। 18यहोयादाले पूजाहारी र लेवीहरूलाई मन्‍दिरका कार्यभार सुम्‍पिदिए। दाऊद राजाले खटाएका कार्यहरू तिनीहरूले गर्नुपर्थ्‍यो र मोशाका नियमअनुसार परमप्रभुलाई चढाएका बलिहरू जलाउनुपर्थ्‍यो। गान-बजान र उत्‍सवको भार पनि तिनीहरूले नै लिएका थिए। 19यहोयादाले मन्‍दिरका मूल-ढोकाहरूमा पनि विधिअनुसार अशुद्ध भएकाहरूलाई भित्र पस्‍न नदिन पहरेदारहरू खटाए।
20सेनाका अधिकृतहरू, प्रमुख नागरिकहरू, भारदारहरू र अरू बाँकी सबै मानिसहरू यहोयादाका साथ जुलुसमा हिंडे र राजालाई मन्‍दिरबाट महलमा ल्याए। तिनीहरू मूल-ढोकाबाट पसे र राजसिंहासनमा बसे। 21सारा प्रजा आनन्‍दित थिए र अतल्‍याहको हत्‍याको कारणले सहर सुनसान थियो।

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 23: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्