२ इतिहास 22
22
यहूदाका राजा अहज्याह
(२ राजा ८:२५-२९; ९:२१-२८)
1केही अरबीहरूले एक्कासि आक्रमण गरेर यहोराम राजाका छोराहरूमध्ये कान्छा अहज्याहबाहेक सबैलाई मारेका थिए। यसकारण यरूशलेमका मानिसहरूले अहज्याहलाई तिनका बुबापछि राजा बनाए। 2-3बाईस वर्षको हुँदा अहज्याह राजा भए र एक वर्ष उनले यरूशलेममा राज्य गरे। अहज्याह पनि आहाब राजाका घरानाको चालमा चले किनभने उनकी आमा अतल्याहले उनलाई दिएका सल्लाहले उनलाई दुष्ट काम गर्न लायो। अतल्याह आहाब राजाकी छोरी र इस्राएलका राजा ओम्रीकी नातिनी थिइन्। 4उनले परमप्रभुको विरुद्धमा पाप गरे किनभने उनका बुबा मरेपछि आहाब राजाका घरानाका अरू मानिसहरू उनका सल्लाहकार भए। तिनीहरूले अहज्याहको पतन गराए। 5तिनीहरूको सल्लाह सुनेर उनी अरामका राजा हजाएलका विरुद्धमा लडाइँ गर्न इस्राएलका राजा योरामसँग मिल्न आए। दुई दलका सेनाहरूको भेट गिलादको रामोतमा भयो। लडाइँमा योराम घाइते भए। 6आफ्ना चोटबाट निको हुन उनी यिजरेल सहरमा फर्के। त्यहाँ उनलाई भेट्न अहज्याह गए।
7यही योरामसितको भेट-घाटलाई परमेश्वरले अहज्याहको पतन गराउन प्रयोग गर्नुभयो। अहज्याह योरामको सामुन्ने आए। येहू निम्शीका छोरा थिए, जसलाई परमप्रभुले आहाबको राज वंश नाश गर्न चुन्नुभएको थियो। 8येहूले परमेश्वरको राज वंशमाथि भएको दण्डाज्ञाअनुसार आफ्नो काम गर्दै थिए। उनको भेट अहज्याहसँग गएका यहूदाका अगुवाहरू र उनका भतिजाहरूको एक दलसित भयो र येहूले तिनीहरूलाई मारे। 9अहज्याहको खोजी गर्दा र उनलाई सामरियामा लुकिराखेका भेट्टाए। उनलाई मानिसहरूले येहूकहाँ लगेर मारे। तर उनका बाजे यहोशापातका इज्जतको कारणले तिनीहरूले उनको लाश गाडिदिए। यहोशापातले आफूले सकेसम्म परमप्रभुको सेवा गरेका थिए।
अहज्याहका परिवारबाट राज्य चलाउन सक्ने कोही पनि छोडिएको थिएन।
यहूदाकी रानी अतल्याह
(२ राजा ११:१-३)
10अहज्याह राजाकी आमा अतल्याहले आफ्नो छोराको हत्या भएको कुरा थाहा पाउनेबित्तिकै सीदोन यहूदाका राज-परिवारका सबैलाई मार्ने आज्ञा दिइन्। 11अहज्याहकी सौतिनी बहिनी यहोशेबाको यहोयादा नाम गरेका पूजाहारीसित विवाह भएको थियो। तिनले अहज्याहको एउटा छोरो योआशलाई सुटुक्क बचाइन् र मारिन लागेका अरू राजकुमारहरूका बीचबाट भगाएर लगिन्। अनि उनलाई एउटी धाईसित मन्दिरको एउटा सुत्ने कोठामा लुकाएर राखिन्। यसरी लुकाएर फुपूचाहिँले उनलाई अतल्याहका हातबाट मारिनदेखि बचाइन्। 12उनी छ वर्षसम्म त्यहाँ लुकेर बसे र अतल्याहले चाहिँ देशमा रानी भएर राज्य चलाइन्।
अहिले सेलेक्ट गरिएको:
२ इतिहास 22: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.