ती दिनमा बालक शमूएलले एलीका अधीनमा रही परमप्रभुको सेवा गरेका बेलामा परमप्रभुको वचन र दर्शन दुवै कम पाइन्थे। एक रात एली आफ्नो कोठामा सुतिरहेका थिए, उनका आँखा राम्ररी नदेख्ने भएका थिए। जहाँ पवित्र करारको सन्दुक राखिएको थियो, त्यहाँ शमूएल सुतिरहेका थिए। मिरमिरे उज्यालोमा बत्ती बलिरहेकै थियो, परमप्रभुले शमूएललाई बोलाउनुभयो। तिनले उत्तर दिए, “हजुर, म यहाँ छु!” र दगुरेर एलीकहाँ गई भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।” तर एलीले उत्तर दिए, “मैले तँलाई बोलाइनँ, गएर सुत्।” शमूएल गएर ओछ्यानमा सुते। परमप्रभुले शमूएललाई फेरि बोलाउनुभयो। मलाई बोलाउने परमप्रभु हुन् भनी उनले थाहा पाएनन् किनभने अघि कहिल्यै परमप्रभु तिनीसित बोल्नुभएको थिएन। यसकारण तिनी उठेर एलीकहाँ गए र भने, “तपाईंले मलाई बोलाउनुभयो र म आएँ।” तर एलीले भने, “छोरो, मैले तँलाई बोलाइनँ, गएर सुत्।” परमप्रभुले शमूएललाई तेस्रोपल्ट बोलाउनुभयो। तिनी उठेर एलीकहाँ गए र भने, “तपाईंले मलाई बोलाउनुभयो र म आएँ।” तब एलीले थाहा पाए कि केटोलाई बोलाउनुहुने परमप्रभु हुनुहुँदो रहेछ। यसकारण उनले केटोलाई भने, “गएर सुत्। फेरि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्नू, ‘आज्ञा होस्, परमप्रभु, तपाईंको सेवकले सुनिरहेको छ।” यसकारण शमूएल फेरि ओछ्यानमा गए। परमप्रभु आएर त्यहाँ उभिनुभयो र उहाँले पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! ए शमूएल!” शमूएलले उत्तर दिए, “आज्ञा गर्नुहोस्, तपाईंको सेवकले सुनिरहेको छ।”
१ शमूएल 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 3:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू