YouVersion लोगो
खोज आइकन

१ शमूएल 3:1-10

१ शमूएल 3:1-10 NNRV

अब बालक शमूएल एलीको अधीनमा परमप्रभुको सेवा गर्दथे। त्‍यस बेला परमप्रभुको वचन विरलै सुनिन्‍थ्‍यो, अनि दर्शन पनि उस्‍तो दिइँदैनथ्‍यो। एक रात एली आफ्‍नो नियमित ठाउँमा पल्‍टिरहेका थिए। एलीका आँखा धमिला भइसकेका थिए, र तिनले राम्ररी देख्‍न सक्‍दैनथे। शमूएलचाहिँ परमेश्‍वरको सन्‍दूक भएको परमप्रभुको मन्‍दिरमा सुतिरहेको थियो। परमेश्‍वरको बत्ती निभेको थिएन। तब परमप्रभुले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहीँ छु।” अनि दगुरेर एलीकहाँ गएर तिनले भने, “तपाईंले मलाई बोलाउनुभयो। म यहाँ छु।” तर एलीले भने, “अँहँ, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्‌।” तब तिनी गएर सुते। परमप्रभुले फेरि शमूएललाई बोलाउनुभयो। अनि तिनी उठेर एलीकहाँ गए र तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभयो।” एलीले भने, “मेरो छोरो, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्‌।” अब शमूएलले अझसम्‍म परमप्रभुलाई चिनेका थिएनन्‌। परमप्रभुको वचन तिनलाई प्रकट गरिएको थिएन। परमप्रभुले तिनलाई तेस्रो पल्‍ट बोलाउनुभयो, र एलीकहाँ गएर तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभएको हो।” तब परमप्रभुले यस बालकलाई बोलाइरहनुभएको रहेछ भनी एलीले बुझे। उनले शमूएललाई भने, “ढल्‍किबस्, र यदि उहाँले फेरि बोलाउनुभयो भने यसो भन्‍नू, ‘परमप्रभु, भन्‍नुहोस्, तपाईंको दास सुन्‍दैछ’।” तब शमूएल गएर आफ्‍नो ठाउँमा ढल्‍किए। तब परमप्रभु त्‍यहाँ आएर उभिनुभयो, र अघिजस्‍तै बोलाउनुभयो, “शमूएल, शमूएल।” शमूएलले जवाफ दिए, “भन्‍नुहोस्, तपाईंको दास सुन्‍दैछ।”