YouVersion लोगो
खोज आइकन

रोमी 6:1-14

रोमी 6:1-14 NNRV

अब हामी के भनौं? के अनुग्रह प्रशस्‍त मात्रामा होस्‌ भनेर हामी पापमा लागिरहौं त? त्‍यसो नहोस्! हामी जो पापको लेखि मर्‍यौं, त कसरी हामी अझै त्‍यसैमा जिउनु? के तिमीहरू जान्‍दैनौ हामी सबै, जतिले ख्रीष्‍ट येशूमा बप्‍तिस्‍मा लियौं, उहाँकै मृत्‍युमा बप्‍तिस्‍मा लिएका थियौं? यसकारण बप्‍तिस्‍माद्वारा हामी मृत्‍युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्‍ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्‍यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं। यदि उहाँको मृत्‍युमा हामी उहाँसँग एउटै भएका छौं भने, उहाँको पुनरुत्‍थानमा पनि निश्‍चय नै हामी उहाँसँगै एक हुनेछौं। हामी जान्‍दछौं कि हाम्रो पुरानो मनुष्‍यत्‍व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं। किनभने जो मरेको छ त्‍यो पापबाट मुक्त भएको छ। तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्‍ने विश्‍वास गर्दछौं। हामी जान्‍दछौं कि ख्रीष्‍ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन। अब उसो उहाँमाथि मृत्‍युको राज्‍य हुँदैन। जुन मृत्‍युमा उहाँ मर्नुभयो त्‍यो पापको लेखि सधैँको लागि एकै पल्‍ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्‍छ, त्‍यो परमेश्‍वरको निम्‍ति जिउनुहुन्‍छ। यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको लागि जीवित भएका ठान्‍नुपर्छ। यसकारण शरीरका अभिलाषाअनुसार चल्‍नु नपरोस्‌ भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्‍य गर्न नदेओ। आफ्‍ना शरीरका अङ्गहरू दुष्‍टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्‍युबाट जीवनमा ल्‍याइएका मानिसहरूजस्‍तै आफैलाई परमेश्‍वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्‍तै परमेश्‍वरकहाँ समर्पण गर। किनकि पापले तिमीहरूमाथि राज्‍य गर्नेछैन, किनकि तिमीहरू व्‍यवस्‍थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।